लुम्बिनीमा डेंगु संक्रमण घट्दो: साउनमा २४९ जना ओपीडीमा दर्ता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पछिल्लो आर्थिक वर्षमा डेंगु संक्रमणका बिरामीको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३-८४ मा प्रदेशभर २४९ जना मात्र डेंगुका बिरामी ओपीडीमा दर्ता भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८२-८३ मा २ हजार ५ सय ६१ जना डेंगुका बिरामी दर्ता भएका थिए। त्यसको तुलनामा गत वर्ष संक्रमितको संख्यामा ठूलो गिरावट आएको हो। स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा पछिल्लो समय संक्रमण नियन्त्रणतर्फ उन्मुख देखिएको छ। यसअघि आर्थिक वर्ष २०८०-८१ मा ३ हजार ८ सय ३२ र २०८१-८२ मा ५ हजार १६ जना बिरामी दर्ता भएका थिए।

जिल्लागत स्थिति

प्रदेशका विभिन्न जिल्लामध्ये गत आर्थिक वर्षमा पाल्पा र दाङमा डेंगुका बिरामी सबैभन्दा बढी देखिएका छन्। निर्देशनालयको विवरणअनुसार पाल्पामा ६१ र दाङमा ५६ जना बिरामी दर्ता भएका छन्।

त्यस्तै, अन्य जिल्लाहरूको अवस्था हेर्दा रुपन्देहीमा ४८, अर्घाखाँचीमा २४, बाँकेमा १९, गुल्मीमा १४, नवलपरासी पश्चिममा १०, कपिलवस्तुमा ८ र बर्दियामा ७ जना बिरामी भेटिएका छन्। यसैगरी रोल्पा र प्युठानमा एक/एक जना बिरामी दर्ता हुँदा रुकुम पूर्वमा भने डेंगुका बिरामी शून्य रहेको निर्देशनालयले जनाएको छ।

जापानी इन्सेफलाइटिसका बिरामी पनि घटे

डेंगुसँगै लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका बिरामीको संख्यामा पनि भारी गिरावट आएको छ। आर्थिक वर्ष २०८२-८३ मा यस रोगका ७ जना बिरामी रहेकामा पछिल्लो आर्थिक वर्ष २०८३-८४ मा घटेर १ मा सीमित भएको छ। गत वर्ष अर्घाखाँची जिल्लामा मात्र एक जना बिरामी दर्ता भएको निर्देशनालयले उल्लेख गरेको छ।

प्रस्तुत तथ्यांक ओपीडीमा उपचारका लागि आएका बिरामीमा आधारित रहेको स्पष्ट पार्दै यसलाई प्रदेशभरका कुल पुष्टि भएका संक्रमणको पूर्ण संख्या भने मान्न नहुने बताएका छन्।

सम्बन्धित शिर्षक :