स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानको सम्मान गर्दै उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न पेन्सन योजना लागू गर्ने भएको छ। गाउँपालिकामा कार्यरत ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी गराउन लागिएको हो।
गाउँपालिकाले प्रत्येक स्वयंसेविकाका लागि मासिक एक हजार पाँच सय रुपैयाँका दरले पेन्सन योजनामा योगदान गर्ने व्यवस्था गरेको छ। यसअनुसार एक जना स्वयंसेविकाका लागि वार्षिक १८ हजार रुपैयाँ जम्मा हुनेछ।
८३ जना स्वयंसेविकाका लागि गाउँपालिकाले वार्षिक १४ लाख ९४ हजार रुपैयाँ योगदान गर्नुपर्ने हुन्छ। यही रकमलाई आधार मानेर गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ को गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताउनुभयो।
उहाँका अनुसार गाउँपालिकामा कार्यरत सबै ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई योजनामा सहभागी गराउने तयारी गरिएको छ। स्वयंसेविकाको योगदानलाई सम्मान गर्दै उनीहरूको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउने उद्देश्यले पेन्सन योजना अघि बढाइएको उहाँले बताउनुभयो।
६० वर्षपछि आजीवन पेन्सन पाउने
नागरिक लगानी कोषको नागरिक पेन्सन योजनाअन्तर्गत सहभागीले ६० वर्ष उमेर पूरा गरेपछि र कम्तीमा १५ वर्ष योगदान गरेपछि पेन्सन प्राप्त गर्न योग्य हुने व्यवस्था छ।
कोषको व्यवस्था अनुसार योगदानकर्ताले जम्मा गरेको रकम, त्यसमा प्राप्त ब्याज तथा लगानीबाट प्राप्त प्रतिफल जोडेर पेन्सन रकम निर्धारण गरिन्छ। उक्त रकमलाई निर्धारित विधिअनुसार गणना गरी मासिक रूपमा आजीवन पेन्सन उपलब्ध गराइन्छ।
६० वर्ष उमेर पूरा हुँदा १५ वर्ष योगदान अवधि नपुगेका सहभागीले बाँकी योगदान रकम तोकिएको प्रक्रियाअनुसार जम्मा गरेर पेन्सन लिन सक्ने व्यवस्था पनि रहेको नागरिक लगानी कोषले जनाएको छ।
यस योजनाले लामो समय समुदायमा स्वास्थ्य सेवा र जनचेतनाका काममा खटिएका स्वयंसेविकालाई उमेर बढ्दै जाँदा आर्थिक सहारा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
मंसिर १८ गते औपचारिक शुभारम्भ
गाउँपालिकाको आयोजना तथा नागरिक लगानी कोष, बुटवल शाखाको प्राविधिक सहयोगमा बुधबार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि पेन्सन योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नागरिक लगानी कोष बुटवलका प्रमुख एवं उपनिर्देशक कुमार श्रेष्ठ र अधिकृत शंकर अधिकारीले योजनाको उद्देश्य, सहभागी हुने प्रक्रिया, योगदान रकम तथा पेन्सन प्राप्त गर्ने व्यवस्थाका विषयमा जानकारी गराउनुभएको थियो।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आगामी मंसिर १८ गते विशेष कार्यक्रम आयोजना गरी पेन्सन योजनाको औपचारिक शुभारम्भ गर्ने गाउँपालिकाको तयारी रहेको छ।
कार्यक्रम गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा देवी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र पाण्डेय, नागरिक लगानी कोष बुटवलका प्रमुख एवं उपनिर्देशक कुमार श्रेष्ठ तथा अधिकृत शंकर अधिकारीलगायतको उपस्थिति रहेको थियो।
समुदायको स्वास्थ्यमा योगदान गर्ने स्वयंसेविकाको भविष्य सुरक्षित गर्ने प्रयास
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गाउँघरमा मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन, स्वास्थ्य सचेतना र रोग रोकथामका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका समुदायसम्म स्वास्थ्यसम्बन्धी जानकारी र सेवा पुर्याउन स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहँदै आएको छ। उनीहरूले लामो समयसम्म निःस्वार्थ रूपमा समुदायको स्वास्थ्य सुधारमा योगदान गर्दै आएका छन्।
तर उमेर बढ्दै जाँदा उनीहरूको आर्थिक सुरक्षा र भविष्यको व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ। यस्तो अवस्थामा गाउँपालिकाले पेन्सन योजनामा सहभागी गराउने निर्णय गर्नु स्वयंसेविकाको योगदानको सम्मान र सामाजिक सुरक्षाको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
गाउँपालिकाले सबै स्वयंसेविकालाई योजनामा समेट्ने लक्ष्य राखेको छ। यसबाट समुदायको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याएका स्वयंसेविकालाई भविष्यमा नियमित आर्थिक सहारा प्राप्त हुने अपेक्षा गरिएको छ।



प्रतिकया दिनुहोस्