बुटवल हस्पिटलमा रक्तदान, ५१ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ।

अस्पतालमा उपचाररत बिरामी तथा अन्य स्वास्थ्य संस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ। अस्पतालको वार्षिक कार्यतालिकाअनुसार आयोजित कार्यक्रममा चिकित्सक, नर्स, कर्मचारी तथा बिरामीका आफन्तहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रुपन्देही रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई आत्मसात गर्दै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रमको शुभारम्भ गर्दै बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले रक्तदान गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बिरामीको आवश्यकता र मागअनुसार गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ अस्पताल निरन्तर अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो।

कार्यक्रममा अस्पतालका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरेश्वर शर्मा पौडेल, गोकर्ण पौडेल, अस्पतालका महाप्रबन्धक देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सहायक मेट्रोन रश्मिता थपलिया तथा सुमन तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।

बुटवल हस्पिटल प्रा.लि. पछिल्लो समय बुटवल क्षेत्रका बिरामीहरूको रोजाइको स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ। दक्ष चिकित्सक, आधुनिक स्वास्थ्य सेवा–सुविधा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत अस्पतालले समुदायमा आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै आएको छ।

 

सम्बन्धित शिर्षक :