स्वास्थ्यसमाचार/ सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न बुटवल हस्पिटल प्रालिले विपद् व्यवस्थापन समिति गठन गर्दै पूर्वतयारी थालेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको नेतृत्वमा गठित समितिमा विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीलाई समेटिएको छ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विपद्का बेला सेवा निरन्तरता, आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, शय्या तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार र विभागबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो।
डा. खनालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी महत्वपूर्ण हुने बताउँदै सबै विभाग र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनका अनुसार सम्भावित विपद्का बेला बिरामी उद्धार, प्राथमिक उपचार, ट्रायाज, आकस्मिक शल्यक्रिया तथा उपचार, जनशक्ति परिचालन र स्रोत–साधन व्यवस्थापनलाई व्यवस्थित गरिनेछ।
अध्यक्ष पौडेलले जुनसुकै आपत्कालीन अवस्थाको सामना गर्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिए।
समितिले विपद् व्यवस्थापन कार्ययोजना तयार गर्ने, अभ्यास (मक ड्रिल) सञ्चालन गर्ने र आपत्कालीन तयारी अवस्थाको नियमित समीक्षा गर्ने जनाएको छ।
कार्यक्रममा जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सञ्चालक चन्द्रकान्त शर्मा लगायतले धारणा राखेका थिए। एक सय शय्या क्षमताको बुटवल हस्पिटल यस क्षेत्रका सुविधासम्पन्न निजी अस्पतालमध्ये एक हो।


प्रतिकया दिनुहोस्