स्वास्थ्यसमाचार/ विश्व स्तनपान सप्ताह–२०८३ को अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले साताव्यापी रूपमा स्तनपान प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
“दिगो जीवनको स्वस्थ सुरुवात : प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने विश्वव्यापी नारालाई आत्मसात् गर्दै अस्पतालले साउन १८ देखि २२ गतेसम्म प्रसूति सेवा लिइरहेका आमा, नवजात शिशुका अभिभावक तथा स्वास्थ्यकर्मीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।
सप्ताहभर अस्पतालको स्त्री तथा प्रसूति वार्ड, एसएनसीयू/एनआईसीयू, क्याबिन, बालरोग वार्ड, स्त्रीरोग बाह्य सेवा (गाइनो ओपीडी), प्रसूति पश्चात् सेवा (पीएनसी) तथा जनरल पोस्ट–अपरेटिभ वार्डमा स्तनपानसम्बन्धी वार्ड शिक्षामूलक कार्यक्रम सञ्चालन गरिएको अस्पतालकी मेट्रोन नेहा थापाले बताउनुभयो।
कार्यक्रममा स्तनपान परामर्शदाता, मातृ तथा शिशु स्वास्थ्य (एमसीएच) टोली तथा नर्सिङ कर्मचारीहरूले आमाहरूलाई सही तरिकाले स्तनपान गराउने विधि, बिगौती दूधको महत्व, शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउनुपर्ने आवश्यकता तथा पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने विषयमा परामर्श दिइएको थापाले बताउनुभयो।
विश्व स्तनपान दिवसका अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णु गौतमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अस्पतालका बालरोग विभाग प्रमुख तथा कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. किरण मणि पौडेल, कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र राना, नर्सिङ प्रमुख नेहा थापा, विभिन्न विभागका चिकित्सक, नर्सिङ कर्मचारी, इन्टर्न, स्वयंसेवक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बालरोग विशेषज्ञ डा. नेत्र रानाले स्तनपान नवजात शिशुको जीवन रक्षा, पोषण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो।
उहाँले जन्मेको पहिलो एक घण्टाभित्र बिगौती दूध खुवाउनुपर्ने, ६ महिनासम्म आमाको दूध मात्रै पर्याप्त हुने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले सही स्तनपान अभ्यासले कुपोषण, संक्रमण तथा बालमृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। डा. रानाले अझै पनि स्तनपानसम्बन्धी विभिन्न भ्रम रहेको भन्दै त्यसलाई चिर्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णु गौतमले स्तनपानको लाभ शिशुमा मात्रै सीमित नभई आमाको स्वास्थ्यका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नियमित स्तनपान गराउँदा आमामा स्तन तथा डिम्बाशयको क्यान्सरको जोखिम कम हुने, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र आमा–शिशुबीचको भावनात्मक सम्बन्ध अझ मजबुत बन्ने बताउनुभयो।
सफल स्तनपानका लागि परिवार, समुदाय र समाजले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। डा. गौतमले मानसिक स्वास्थ्य तथा बाल स्वास्थ्य क्षेत्रमा सरकारले लगानी गरे पनि त्यसले मात्र समग्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव नहुने बताउनुभयो।
उहाँले स्वास्थ्य संस्थाबाहिर अझै पनि जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ५० प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै अस्पतालमा भने यो अभ्यास ९९ प्रतिशत पुगेको जानकारी दिनुभयो।
उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा स्तनपानमैत्री वातावरण निर्माणका लागि छुट्टै स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो। अस्पतालमा कार्यरत ३ सयभन्दा बढी नर्सिङ कर्मचारीका शिशुहरूलाई समेत सहज रूपमा स्तनपान गराउन सक्ने व्यवस्था मिलाउने उद्देश्यले उक्त कक्ष सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ।
कार्यक्रममा स्तनपानसम्बन्धी सन्देश बोकेको तीज गीत प्रस्तुत गरिएको थियो भने परिवारको सहयोग र सही स्तनपान अभ्यासको महत्व झल्काउने जनचेतनामूलक भूमिका प्रस्तुति (रोल प्ले) समेत प्रदर्शन गरिएको थियो। सांस्कृतिक प्रस्तुति र नाटकमार्फत स्तनपानसम्बन्धी गलत धारणा हटाई वैज्ञानिक अभ्यासलाई प्रोत्साहन गर्ने प्रयास गरिएको अस्पतालले जनाएको छ।
यस अवसरमा स्तनपानसम्बन्धी सूचना, शिक्षा तथा सञ्चार (आईईसी) सामग्रीसमेत वितरण गरिएको थियो। सामग्रीमार्फत जन्मेको एक घण्टाभित्र बिगौती दूध खुवाउने, पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने, त्यसपछि पोषिलो पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिने, स्तनपानले आमामा स्तन क्यान्सर, मधुमेह तथा मोटोपनको जोखिम घटाउने लगायतका सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमको सञ्चालन नर्सिङ अधिकृत सीता खनालले गर्नुभएको थियो।



प्रतिकया दिनुहोस्