लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’ गठन

स्वास्थ्यसमाचार/ यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रादेशिक अस्पताल ले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ। निर्वाचन अवधिमा हुन सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ।

सार्वजनिक बिदाको समयसमेत पर्ने भएकाले फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दल सक्रिय रहने गरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए। आकस्मिक विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट एक–एक जना फोकल पर्सन रहने व्यवस्था गरिएको छ।

अस्पतालको नियमित सेवा बाहेक निर्वाचन अवधिमा आइपर्ने आकस्मिक स्वास्थ्य समस्यालाई प्राथमिकतामा राखी उपचार सेवामा खटिने व्यवस्था मिलाइएको प्रशासकीय प्रमुख गौतमले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले निर्वाचन सफल बनाउन स्वास्थ्य क्षेत्रबाट गर्न सकिने योगदानका रूपमा यो पहल गरिएको उल्लेख गरे। उनले जनताको स्वास्थ्य सेवाप्रति अस्पताल संवेदनशील रहेको र कुनै पनि अवस्थामा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :