बुटवलको ६७औ स्थापना दिवस ,स्वास्थ्यमा : विकास देखि सेवासम्म

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र सेवा विस्तार गर्दै नागरिकको जीवनस्तर उकास्ने काममा तीव्र गति लिएको छ। नगर प्रमुख खेलराज पाण्डेयले ६७औँ स्थापना दिवसको अवसरमा प्रस्तुत गरेका विवरण अनुसार, स्वास्थ्य सेवा, खोप अभियान, पोषण कार्यक्रम र अस्पताल विकास तिब्र रुपमा संञ्चालन भएका छन ।  पाण्डेयले कार्यक्रम र उपलब्धीहरू यसरी प्रस्तुत गरेका छन्।”

जेष्ठ नागरिकको स्वास्थ्य सेवा

नगरपालिकाले “बा-आमासँग नगर प्रमुख स्वास्थ्य जाँच उपचार कार्यक्रम” अन्तर्गत १९ वटा वडामा ६,४६० जना ६० वर्षमाथिका जेष्ठ नागरिक लाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

नगर प्रमुख पाण्डेयका अनुसार, जेष्ठ नागरिकलाई वर्षमा तीन पटक स्वास्थ्य परीक्षण गर्ने कानुनअनुसार व्यवस्था मिलाइएको छ। यसले नियमित स्वास्थ्य निगरानी र समयमै उपचार सुनिश्चित गर्न सहयोग पुर्‍याएको छ।

सुत्केरी महिलालाई पोषण खर्च

“सुत्केरी पोषण कार्यक्रम” अन्तर्गत १९ वटा वडाका ५७६ जना सुत्केरी महिलालाई पोषण खर्च उपलब्ध गराइएको छ। नगरपालिकाले मातृ–शिशु स्वास्थ्य सुधारमा यो कदम महत्वपूर्ण भएको जनाएको छ। यस कार्यक्रमले प्रसूति जोखिम कम गर्ने, शिशु र आमा दुवैको स्वास्थ्य सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

महिला स्वास्थ्य परीक्षण र रोग रोकथाम

बुटवल उपमहानगरपालिकाले महिला स्वास्थ्यमा विशेष ध्यान दिँदै ९ वटा वडामा ३०-५० वर्षका १,२७५ महिलामा निशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको छ। साथै, क्षयरोग स्क्रिनिङ निशुल्क शिविरमा १,८०३ जनाको परीक्षण गर्दा १७ जना क्षयरोगी फेला परेका छन्।

नगरपालिकाले किशोरी स्वास्थ्यमा पनि खोप कार्यक्रमलाई प्राथमिकता दिएको छ। एच.पी.भी. खोप कार्यक्रम अन्तर्गत १०–१४ वर्षका १२,२०० किशोरीलाई खोप सेवा उपलब्ध गराइएको छ। बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान अन्तर्गत ९ महिना–१५ वर्षका ६०,००० बालबालिकालाई खोप सेवा प्रदान गरिएको छ।

रक्तअल्पता परीक्षण र रक्त संचार सेवा

सरकारी तथा निजी विद्यालयमा ३,००० भन्दा बढी किशोरीमा रक्तअल्पता परीक्षण गरिएको छ। यसका साथै, नेपाल रेडक्रस सोसाइटीसँग सहकार्यमा १,४९५ बिरामीलाई निशुल्क रक्त संचार कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिएको छ।

जोखिममा रहेका नागरिकको पोषण र आर्थिक सहयोग

बुटवल उपमहानगरपालिकाले १९ वटा वडाका ९० जना कुपोषित क्षयरोगीलाई पोषण सामग्री वितरण गरेको छ। जटिल रोगका ४६७ जना विपन्न नागरिकलाई १७,००० रुपैयाँको दरले अनुदान प्रदान गरिएको छ।

नगर प्रमुख पाण्डेयले भने, “स्वास्थ्य क्षेत्रमा सीमित स्रोत र बजेट भए पनि नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा पुर्‍याउन निरन्तर प्रयास गरिरहेका छौं। दीर्घ रोगीको समस्या पूर्ण रूपमा समाधान गर्न नसकिने भए पनि सम्बोधन र सेवा उपलब्ध गराउन सकिन्छ।”

स्वास्थ्य संरचना र अस्पताल विकास

बुटवल उपमहानगरपालिकाले १८ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्दै न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गरेको छ। साथै, महिला र बालबालिका का लागि १०० बेडको आम्दा अस्पताल सञ्चालनमा आएको छ। नगरपालिकाले यस अस्पताललाई आगामी दिनमा ३०० बेडको विशिष्ट सेवा अस्पताल र प्यारामेडिकल अध्ययन केन्द्रमा विस्तार गर्ने योजना अघि बढाइरहेको छ।

लायन्स आँखा अस्पताललाई स्तरवृद्धि गर्दै अध्ययनका लागि अवसर प्रदान गर्ने काम भइरहेको छ। देवीनगरमा १०० बेडको नयाँ अस्पताल निर्माणको प्रयास जारी छ। बुटवल-१७ र बुटवल–१३ मा स्थापित अस्पतालको सञ्चालनका लागि सर्वेपछि दरबन्दी व्यवस्था मिलाएर सेवा सुरु गरिने तयारी भइरहेको छ।

प्रदेशका मातहत रहेका लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी आयुर्वेदिक अस्पतालको सञ्चालनमा सहजीकरण गर्दै सेवा अझ विश्वासिलो बनाउन नगरपालिकाले सहयोग पुर्‍याइरहेको छ। लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

यसले क्षेत्रकै प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाका रूपमा स्थापित हुने अपेक्षा छ। देवीनगरको आयुर्वेदिक अस्पताललाई आयुर्वेदिक अध्ययन केन्द्रको रूपमा विकास गर्ने काम जारी छ।

स्वास्थ्य क्षेत्रमा समग्र दृष्टिकोण

नगर प्रमुख पाण्डेयले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र उपलब्धीबारे स्पष्ट पारेका छन्। उनका अनुसार, दैनिक रूपमा ४–५ जना दीर्घ रोगी (क्यान्सर, किड्नी फेल, अन्य जटिल रोगी) सेवा माग गर्न आउने गर्छन्। स्वास्थ्य सेवा सीमित भए पनि संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट र नगरपालिकाले उपलब्ध गराउने अनुदान मार्फत नागरिकको समस्यामा सहयोग पुर्‍याइरहेको छ।

उनले भने, “स्वास्थ्य क्षेत्रमा हामीले धेरै गर्न नसक्ने भए पनि, स–साना पहल र नियमित सेवा मार्फत नागरिकको जीवनस्तर सुधार्ने काम जारी रहनेछ। यसबाट बुटवलवासी न्यूनतम स्वास्थ्य सेवामा पहुँच पाउनेछन्।” कार्यक्रममा उप–प्रमुख, प्रमुख कार्यकारी, वडा अध्यक्षहरू, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागीता रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :