बुटवल, १७ भदौ । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् ।
क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा प्रायः बिस्तारमा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।धेरै बर्षअघि टाउकोको पछाडी बाँया पट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि बिभिन्न अस्पतालहरु पुगेको उनले बताईन् ।
ट्यूमरका कारण गम्भिर बिरामी भै बोल्न समेत कठिनाई हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै संचारकर्मी समक्ष सहयोगको अपिल गरेकी छन् । सबै मिडिया र सामाजिक संजालमार्फत प्रचार प्रसार गरि सहयोग जुटाइदिन र जिवन बचाइदिन उनले आग्रह गरेकी छन् ।
दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउँदै आएकी ५२ बर्षिया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भैसकेको बताईन् ।
महिनामा २ पटकसम्म लगातार ३ बर्ष किमो चढाएको उल्लेख गर्दै उनका श्रीमान भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ती सकिएको र चिकित्सकहरुका अनुसार अझै ५ देखी ६ लाखसम्म लाग्ने बताए । किमो चढाउँदा प्रत्येक पटक ५० हजारसम्म खर्च हुने गरेको बताउदै उनले श्रीमतीको उपचारका क्रममा जीवनभर दुःख गरेर जोडेको २ कठ्ठा १७ जग्गासमेत गुमाउनु परेको बताए ।
हुनत बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगाएतका बिभिन्न निकाय र तहमा सहयोगको लागि धाउँदा केहि रकम उपलब्ध नभएको हैन तर आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाउन समेत कठिनाई भएको दर्जी बताउछन् ।
सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदाय समक्ष सहयोगको अपिल गर्दै राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता खोलेको उनले जानकारी गराए । उनका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।
प्रतिकया दिनुहोस्