लुम्बिनीमा जापानी इन्सेफलाइटिसका ४० संक्रमित, ९ जनाको मृत्यु

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका ४० जना बिरामी फेला परेका छन । भने ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाका अनुसार यस बर्षको पहिलो केस असार १४ गते नवलपरासीमा भेटिएको र हाल सम्म प्रदेशका १० जिल्लामा संक्रमितको संख्या ४० पुगेको र ९ जनाको मृत्यु भएको बताउनु भयो ।

जिल्लागत अवस्था

अहिलेसम्म लुम्बिनी प्रदेशका १० जिल्लामा जापानी इन्सेफलाइटिस देखिएको छ। जसअनुसार अर्घाखाँची: ३ संक्रमित, १ मृत्यु नवलपरासी पश्चिम: ३ संक्रमित, ३ मृत्यु रुपन्देही: ७ संक्रमित, १ मृत्यु कपिलवस्तु: ८ संक्रमित, पाल्पा: २ संक्रमित, गुल्मी: २ संक्रमित, छैन बाँके: ३ संक्रमित, १ मृत्यु बर्दिया: २ संक्रमित, १ मृत्यु दाङ: ८ संक्रमित, १ मृत्य प्युठान: ३ संक्रमित, १ मृत्यु भएको थापाले बताउनु भयो । यस आधारमा सबैभन्दा धेरै संक्रमित कपिलवस्तु र दाङमा (८–८ जना) फेला परेको थापाले बताउनु भयो ।

जापानी इन्सेफलाइटिस के हो ?
जापानी इन्सेफलाइटिस (JE) लामखुट्टेबाट सर्ने रोग हो, जुन भाइरसका कारण हुन्छ। संक्रमित Culex प्रजातिका लामखुट्टेको टोकाइबाट यो रोग फैलिन्छ।यो प्रायः बर्खा र गर्मी मौसममा बढी फैलिने गर्दछ।

यसले मस्तिष्कमा असर गर्ने भएकाले बिरामीमा उच्च ज्वरो, टाउको दुखाइ, वान्ता, झट्का लाग्ने, होस गुम्ने, शरीरको गतिविधि नियन्त्रणमा समस्या जस्ता लक्षण देखिन्छन्।संक्रमण गम्भीर भएमा मृत्युसम्म हुन सक्छ।

नियन्त्रण र रोकथाम

स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख तथा जनस्वास्थ्य प्रशासक उमा थापा भन्नुहुन्छ यसलाई रोकथाम गर्न यि उपायहरू अबलम्बन गरौ
-लामखुट्टे नियन्त्रण (लार्भा नष्ट गर्ने, फगिङ गर्ने)
-सोही क्षेत्रमा मच्छर दानी प्रयोग गर्ने
-घर वरिपरि पानी जम्न नदिने
-जोखिम क्षेत्रका बालबालिकालाई जापानी इन्सेफलाइटिस विरुद्धको खोप लगाउने
-लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असर

जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउने गर्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षण सहितका संक्रमितहरु एसियामा झन्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छ । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ ।

त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका  अनुसार जापानी इन्सेफलाइटिस प्राय: धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।‘धानखेतमा पानी जम्मा हुने भएकाले लामखुट्टे प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाइदिन सक्छन्,’ डा. गौतम भन्नुहुन्छ ।

उहाकाअनुसार संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस ती जनावरभित्र तीव्र रूपमा बढ्छ । त्यही भाइरस अर्को लामखुट्टेमा सरेपछि फेरि मानिसलाई पनि संक्रमित गर्नसक्छ । तर मानिसभित्र भने भाइरस त्यति धेरै गुणा बढ्दैन, जसका कारण मानिसबाट अर्को मानिसमा संक्रमण सर्दैन ।

डा. गौतमले कृषि क्षेत्रसँग आबद्ध समुदायलाई विशेष सतर्क रहनुपर्ने वताउनु भयो । । उहाकाअनुसार पछिल्ला तथ्यांकले ७० प्रतिशत संक्रमित कृषिमा संलग्न वा धानखेती तथा पशुपालन गर्ने वर्गका व्यक्तिहरू हुने देखाएको छ ।

विशेषगरी यो भाइरसबाट १५ वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुने गर्छन् । अधिकांशमा संक्रमितमा लक्षण सामान्य वा देखिँदै देखिँदैन । तर २५० संक्रमितमध्ये एकजनामा भने लक्षणले कडा रूप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ ।संक्रमितमध्ये ३० प्रतिशतको मृत्यु हुन्छ । ५० प्रतिशतसम्ममा प्यारालाइसिस वा अन्य न्युरोलोजिकल समस्या हुन्छ ।

जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता पनि गराउन सक्छ ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइ/इस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ ।बाँकी २० देखि ३० प्रतिशतको हाराहारीमा बिरामी भने पूर्ण रूपमा निको हुने गर्छन् ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुन्छ ।यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ ।

तर, सबै संक्रमितमा लक्षण देखिँदैन । धेरैलाई सामान्य रूपमा संक्रमण भएर निको हुन्छ । डेंगु तुलनामा केस संख्या कम देखिने भए पनि मृत्यु दर भने उच्च रहने विज्ञ बताउँछन् ।

स्वास्थ्य निकायको तयारी

प्रदेशका स्वास्थ्य कार्यालयहरूले JEको संक्रमण बढ्नसक्ने भन्दै सतर्कता बढाएका छन्। जिल्लामा प्रभावित क्षेत्रमा रोग नियन्त्रण अभियान, लामखुट्टे नियन्त्रणका कार्यक्रम, र जोखिम समूहका लागि स्वास्थ्य चेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख उमा थापाले बताउनु भयो ।

उहाले स्थानिय तहहरु संग समन्वयन गरेर यो अभियानलाई अघि बढाइने बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :