क्यान्सरका बिरामीलाई निःशुल्क यातायात सेवा दिने बाँके–बर्दियाका व्यवसायीहरु

स्वास्थ्यसमाचार-बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आह्वानमा आज भएको यातायात व्यवसायी र अस्पताल प्रशासनबीच भएको बैठकमा यातायात व्यवसायीहरुले क्यान्सरका बिरामीका लागि निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकले नेपालगन्जबाट खजुरा हुँदै गुलरिया, राजापुरसहित सुदूरपश्चिम चल्ने सवारी साधनहरु अनिवार्य खजुरा क्यान्सर गेट हुँदै संचालन गर्ने निर्णय गरेको छ । क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीहरुको सहजताका लागि खजुरा रुट भएर चल्ने मझौला र साना सवारी साधनहरु क्यान्सर गेटसम्म पुगेर संचालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव टंक बस्यालले जानकारी दिए ।

सो रुटमा चल्ने सवारी साधनहरुले अनिवार्य क्यान्सर गेट हुँदै चल्ने संकेतको स्टिकर सवारी साधनमा लगाउने निर्णय भएको उनले बताए । सम्बन्धित समितिहरुले आ आफ्नो समितिबाट निर्णय गराएर क्यान्सर प्रमाणीत भएका बिरामीलाई निःशुल्क सेवा दिने व्यवस्था मिलाउने गरि प्रतिबद्धता ब्यक्त गरिएको सचिव बस्यालले बताए ।

बैठकमा बोल्दै क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले अस्पताल आउने बिरामीहरुलाई गन्तब्यसम्म पुर्याउने कार्यमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताए । उनले अस्पताल आउने रुट थाहा नपाएर अलमलमा परेका बिरामीहरुलाई यातायात व्यवसायीको माध्यमबाट अस्पतालसम्म आइपुग्ने व्यवस्था मिलाइदिएकोमा यातायात व्यवसायीहरुलाई धन्यवाद दिए ।

अस्पतालबाट पनि यातायात मजदुर र व्यवसायीहरुलाई अपनत्व महसुस हुने गरिछिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. भट्टराईले व्यवसायीहरुसंग सहकार्य गरेर उपयुक्त निर्णय गर्ने जनाए ।

यातायात व्यवसायीहरुले खजुरामा सुबिधासम्पन्न अस्पताल हुँदा हुँदै पनि प्रचार प्रशारको अभावमा अस्पताल ओझेलमा परेको गुनासो गरेका थिए । उनीहरुले जनताले निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको अस्पतालमा व्यवसायीहरुको समेत योगदान रहेको स्मरण गरे ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका सह कोषाध्यक्ष शोभाखर पौडेलले महासंघबाटै निर्णय गरेर देशैभर यातायातमा क्यान्सर रोगका बिरामीलाई सेवा दिन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा क्यान्सर अस्पताल धार्मिक अनुष्ठानबाट संकल्पगर्दै महायज्ञबाट शिलान्याश गरि अस्पताल निर्माण गरेर संघीय सरकारलाई हस्तान्तरण गरिएको नेपालको पहिलो अस्पताल हो । क्यान्सरका बिरामीहरुलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले भारतिय अस्पतालमा उपचार गर्न जाने बिरामीहरुका लागि सुबिधा प्रदान गरेपनि नेपालका क्यान्सर अस्पतालमा उपचार गर्ने बिरामीहरुका लागि आन्तरिक उडानमा कुनै सुबिधाको व्यवस्था गरेको छैन ।

नेपालगन्जमा प्रधान कार्यालय रहेको भेरी बस व्यवसायी प्रालिले भने यसअघि नै आफ्ना देशैभर चल्ने सवारी साधनमा क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिने निर्णय गरिसकेको छ । भेरीका सवारी साधनमा यात्रा गर्ने क्यान्सरका बिरामीहरुको यातायात भाडा समितिबाट व्यवसायीलाई भुक्तानी गर्ने निर्णय भएको समितिका सचिव चन्द्रबहादुर थापाले बताए ।

बैठकमा कृष्णसार यातायातका महासचिव अजयसिंह घरुकले कृष्णसार यातायातका सवारीहरु क्यान्सर गेट हुँदै संचालन गर्ने र क्यान्सरका बिरामीहरुलाई निःशुल्क सेवा दिनेगरि समितिबाट निर्णय गरिने जनाए । राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एवम सनराइज यातायात प्रालिका सचिव अर्जुन श्रेष्ठले क्यान्सर गेटबाट नै सेवा दिनेगरि यातायात संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्रीले शुभकामना यातायातमा यात्रा गर्ने क्यान्सरका बिरामीहरुलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने जनाए । खजुरा गाउँपालिका, वडा नम्बर ३ का वडा अध्यक्ष पुर्णबहादुर भण्डारीले यातायात संचालनमा स्थानीय सरकारले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्यान्सर गेट अगाडी सवारी साधन रोक्न र घुमाउन मिल्ने गरि वडाबाट व्यवस्था मिलाउने बताए ।

अस्पतालका मातृसंस्था प्रखर परोपकार मिशन नेपालका संस्थापक अध्यक्ष किस्मत कक्षपतिले अस्पतालको इतिहास सुनाउँदै निर्णयका लागि यातायात व्यवसायीहरुलाई धन्यवाद प्रकट गरेका थिए । बैठकमा मिशन नेपालका अध्यक्ष महेन्द्र मल्लले यातायात व्यवसायीहरुलाई लक्षित गर्दै अस्पतालले स्वास्थ्य शिबिर संचालन गर्नुपर्ने सुझाव दिए ।

बैठकमा वरिष्ठ चिकित्सक बाल क्यान्सर बिशेषज्ञ डा. सुभास मेहता, इलाका प्रहरी कार्यालका इन्चार्ज प्रहरी निरीक्षक नविन चापागाई, अस्थाई ट्राफिक पोष्ट खजुराका इन्चार्ज रबिन्द्र बम, बागेश्वरी यातायात प्रालिका सदस्य प्रेम प्रसाद जैसी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक :