सैनामैना नगर अस्पतालमा २०८ महिलाको पाठेघर क्यान्सर परीक्षण, १५ जना पोजिटिभ

स्वास्थ्यसमाचार/  महिलाहरूको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै रुपन्देहीको सैनामैना नगरपालिका ले सञ्चालन गरेको ‘प्रजनन स्वास्थ्य रुग्णता स्क्रिनिङ तथा व्यवस्थापन कार्यक्रम’ सैनामैना नगर अस्पतालमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिसँगै समयमै उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रमको उद्घाटन नगर प्रमुख फणिन्द्र प्रसाद शर्मा ले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु वर्तमान समयको आवश्यकता भएको बताउनुभयो। “प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सके महिलाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्छ,” उहाँले भन्नुभयो। साथै नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य तथा मानवीय विकासलाई पनि समान प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासेनीले “सैनामैना नगरपालिकाले नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यअनुसार प्रजनन स्वास्थ्यसम्बन्धी यो कार्यक्रम सञ्चालन गरेको हो । महिलाहरूले लाज वा संकोचका कारण लुकाएर राख्ने स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार गर्न सके जटिलता कम गर्न सकिन्छ ।

आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिनेछ,”  मरासेनी ले भन्नु भयो। , पालिका स्वास्थ्य शाखा हेमराज पन्थी  नगर अस्पताल प्रमुख जंग बहादुर सुनार, स्वास्थ्यकर्मीलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरको पहिलो दिनमै २०८ जना महिलाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। परीक्षणका क्रममा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँचका लागि गरिएको भिआइए (VIA) परीक्षणमा १५ जनामा पोजिटिभ नतिजा देखिएको स्वास्थ्य शाखाले जनाएको छ। पोजिटिभ देखिएका महिलाहरूलाई थप परामर्श, उपचार तथा आवश्यक  विशेषज्ञ सेवाका   बुटवल र भैरहवास्थित विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ,” नगर अस्पताल प्रमुख जंग बहादुर सुनार भन्नु भयो ।

नगर अस्पताल प्रमुख जंग बहादुर सुनारको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। कार्यक्रममा महिलाहरूमा देखिने विभिन्न प्रजनन स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक व्यवस्थापन सेवा उपलब्ध गराइएको जनाइएको छ।

स्वास्थ्य शाखाका अनुसार यो कार्यक्रम नगरपालिकाका विभिन्न वडामा निरन्तर सञ्चालन गरिनेछ। ग्रामीण क्षेत्रका महिलाहरूले लुकाएर राख्ने स्वास्थ्य समस्यालाई समुदायस्तरमै पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ कार्यक्रम अघि बढाइएको जनाइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘स्वस्थ महिला, समृद्ध नगर’ अवधारणालाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। यस्ता स्क्रिनिङ कार्यक्रमले पाठेघरको मुखको क्यान्सर लगायतका जटिल रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गरी अकाल मृत्यु न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने  नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी ले बताउनुभयो। उहाँले नगरपालिकाले समय–समयमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :