स्वास्थ्यसमाचार / कपिलवस्तु नगरपालिकामा मङ्गलबारदेखि ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक’ सेवाको शुभारम्भ गरिएको छ। स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त क्लिनिकका लागि ‘चुजी फाउन्डेसन’ले नगरपालिकालाई एक स्वास्थ्य भ्यान उपलब्ध गराएको थियो।
मङ्गलबार आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले उक्त सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। मोबाइल क्लिनिकमा एमबीबीएस चिकित्सक, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको दक्ष स्वास्थ्य टोली खटिएको छ।
सेवा र लक्षित वर्ग:
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार, यस मोबाइल क्लिनिकले ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरी सेवा प्रदान गर्नेछ। क्लिनिकमार्फत रक्तचाप (ब्लड प्रेसर), मधुमेह (ब्लड सुगर) र पिसाबसम्बन्धी परीक्षण गाउँमै उपलब्ध हुनेछ। १२ वटा वडा रहेको यस नगरपालिकामा उक्त टोलीले प्रत्येक वडामा दुई दिनका दरले स्वास्थ्य सेवा प्रदान गर्नेछ।
शुभारम्भको पहिलो दिन मङ्गलबार वडा नम्बर १२ को बिठुवा गाउँमा क्लिनिक सञ्चालन गरिएको छ। आफ्नो गाउँ–ठाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय नागरिकहरू हर्षित भएका छन्। स्वास्थ्य शाखा प्रमुख गुप्ताले यस सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारमा ठूलो सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकया दिनुहोस्