स्वास्थ्यसमाचार/शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गर्न लागेको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता सुरु भएको छ ।
पित्तथैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम सञ्चालन उपचार गर्ने उद्देश्यले आजदेनि नाम दर्ता सुरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।
अस्पतालको ओपीडी सेवा अन्तरगत उपचारका लागि आई पित्तथैलीको अपरेशनका लागि आगामी असार १ गतेपछि पालो पाएका बिरामीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको मेसु ढकालले जानकारी दिए । यो कार्यक्रम अन्तरगत कम्तिमा ३ जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन प्रशारण गरी जानकारी गराइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए ।
यो अभिान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेष्ठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिए । अस्पताल बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्याङ्क मूल्याङ्कन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ ।
पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतार परिवारले योजनावद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको अस्पताल बिकास समितिका अध्यक्ष अजमान श्रेष्ठले बताए ।
अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दाबी गर्दै उनले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने दाबी गरे । अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रम बारे सबै सेवाग्राहीसम्म सूचना पुर्याउनका लागि राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षले भूमिका खेलेर सहयोग गर्न आग्रह गरे ।
प्रतिकया दिनुहोस्