रोल्पा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्लाका रुषमा घोषित गरिएको छ । १० वटा स्थानीय तहमै खोप सुनिश्चितता गरिएकाले जिल्ला समन्वय समितिको आयोजनामा शनिबार रोल्पालाई घोषणा गरिएको हो ।

सबै तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि नियमित पहल थाल्ने घोषणा कार्यक्रममा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरण गरिएको घोषणा गरिन् ।

यसअघि जिल्लाका १० वटै तहमा विभिन्न कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिसकिएको जिल्ला खोप समन्वय समितिकी अध्यक्ष एवं जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यले बताइन् । उनले नै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सीता कवरलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरिन् ।

आर्थिक वर्ष २०८०र०८१ मै जिल्लाका सबै बालबालिकालाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार रोल्पाका सबै बालबालिकाले सबै प्रकारका खोप पाइसकेका छन् ।

जिल्लामा १५ महिनाभित्रका ४ हजार ८ सय ४७ बालबालिका छन् । उनीहरु सबैले खोप लगाइसकेका छन् । यस्तै १६ देखि ५९ महिनाका १४ हजार ३ सय ३ बालबालिका छन् । उनीहरुले पनि खोप पाएका छन् । यस्तै १२ हजार ८ सय २ महिलाहरूलाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको हो । यस अभियानका लागि जिल्लामा २ सय २० खोप केन्द्र तय गरिएको थियो र हरेक महिनामा २ सय २४ स्थानमा उक्त खोप सेवा निरन्तर चलिरहेको छ ।

सरकारको नीतिबमोजिम रोल्पालाई २०७५ माघ २५ गते पहिलोपटक पूर्ण खोप सुनिश्चित भएको जिल्लाका रुपमा घोषित गरिएको थियो । नेपालमा भने सरकारले २०६७ देखि खोप सेवा प्रभावकारी बनाउन र पूर्ण खोप घोषणा गर्ने अवधारणा ल्याएको थियो ।

सम्बन्धित शिर्षक :