निमोनियाले गल्दै आठमहिने बालक, आर्थिक अभावले छोराको रेफर लिन मुस्किल

स्वास्थ्यसमाचार/गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाका छोरालाई निमोनिया भएको छ । बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन् ।

सुमित्रा बेडमा छोरा तड्पिएको देखेर रुन्छिन् । तर, पीडा अभिव्यक्त गर्न सक्दिनन् । किनकि उनी बोल्दिनन्, सुन्दिनन् छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन् ।

छोरा साहरा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर विद्या पन्थीले जानकारी दिइन् । बच्चाको अवस्था सुधार नभएकाले आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन् ।

थप उपचार गर्न बाहिर जान डाक्टरहरूले सुझाव दिए पनि आर्थिक अभावको कारण पीडित परिवारले बेड छोड्न सकिरहेका छैनन् । दुई वर्षअघि सुमित्राको बिहे मालिका– ५ छाप भएको हो । घरमा छोरा जन्मिएपछि राम्रो स्याहार नभएकाले छोरी माइतमै बस्दै आएको बुबा भेषबहादुर विकले बताए ।

विकका अनुसार ज्वाइँ पनि बोल्दैनन्, सुन्दैनन् । माइतमा आर्थिक रूपमा जोहो गर्ने कुनै उपाय छैन । बाहिर लैजान केही ऋणधन जुटाउन घर गएका बुबा पनि केही उपाय नभएपछि खाली हात अस्पताल फर्किए । छिमेकी खिमानन्द भट्टराईले बच्चाको अवस्था दयानीय भएकाले गाउँबाट अस्पतालसम्म पुर्‍याएर सहयोग गरे । अहिले पनि पीडित परिवार राम्रो ठाउँमा छोराको उपचार गर्न चाहन्छन् ।

वृद्ध बुबा र अपांग छोरीसँग निमोनियाले च्यापेको बच्चाको सहजीकरण गर्न चुनौती छ । सोमबार बिहानबाट पत्रकार र अधिकारकर्मीहरूले बच्चाको थप उपचारका लागि बाहिर पठाउन सहजीकरण गरिरहेका छन् ।

गुल्मी अस्पताल तम्घासका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले अहिलेसम्म बच्चाको उपचार र आमाको खानपान अस्पतालले गरिरहेको र बाहिर पठाउनसमेत एम्बुलेन्सको निःशुल्क व्यवस्था गरिने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार र पीडित परिवारको सहजीकरणका लागि प्रशासन र सिर्सेनी समाजसँग समन्वय भइरहेको छ । अस्पतालमा आमाको उपचारका लागि आएका रेसुंगा नगरपालिका– १० का कृष्णकुमार बस्नेतले आमा र बच्चाको पीडाले आफू पनि विक्षिप्त भएकाले पत्रकारहरूलाई खबर गरेको बताए ।

‘आमा सुन्दिनन्, बोल्दिनन् आँखामा आँसु छन् । बच्चा पीडा रोएर कोठा थर्काउँछन्,’ उनले भने, ‘अबोध बच्चाको उपचारमा पत्रकारले खेलेको भूमिका उत्कृष्ट लाग्यो ।’नयाँपत्रिकाबाट

सम्बन्धित शिर्षक :