स्वास्थ्यसमाचार/ सिमित जनशक्ति र पूर्वाधारका वावजुत पनि भैरहवास्थित भीम अस्पतालले बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल संचालनको व्यवस्थापन उत्कृष्ट रहेको पाइएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक वर्ष गर्ने न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको मूल्यांकनमा सन् २०२४ मा भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रभावकारी रहेको पाइएको हो ।
मूल्याकन टोलीले ९ सय ३९ वटा सुचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२४ मा ९४ प्रतिशत अंक प्राप्त गरेर भीम अस्पतालले आफ्नो सेवा तथा व्यवस्थापनलाई उत्कृष्टमा उभ्याउन सफल भएको हो ।
बिगत केही बर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा बर्षेनि प्राप्तांक अंक बढाएको छ ।
‘सिमित जनशक्ति र बिरामीको चाप निरन्तर बढ्दै गए पनि भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रशंसनीय छ’, दुई दिने स्थलगत अनुगमनसहितको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको सोमवार सार्वजनिक गर्दै अनुगमन समितिका संयोजक डा.जगन्नाथ तिवारीले भने, ‘२५ वेडको स्वीकृत दरबन्दी जनशक्तिले १ सय बेडमा संचालित अस्पतालमा धेरै विषयमा विशेषज्ञ सेवा प्रदान गर्नु प्रशंसनीय कुरा हो ।’
भीम अस्पतालाई बिरामीको चापको आधारमा १ सय बेडको स्वीकृत दरबन्दी अनुरुपको जनशक्तिको आवश्यकता रहेको उनले वताए । डा.तिवारी लुम्बिनी प्रदेश निर्देशनालयबाट अनुगमनका लागि खटिएको टोलीका संयोजक हुन् ।
अनुगमन टोलीमा ५ सदस्य खटिएका थिए ।डा.तिवारीका अनुसार, यस खालको अनुगमन तथा मूल्यांकनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन पक्षलाई जिम्मेवार बनाउँछ । अस्पतालको कमिकमजोरीलाई सुधार गर्दै आगामी योजना प्रभावकारी बनाउनका लागि यस खालको अनुगमन मूल्यांकन गर्ने गरिन्छ ।
समितिले गरेको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआईसीयू, नेत्रसेवा, छालारोग र नाका, कान, घाँटी सेवा न्युनतम सेवा मापदण्डले गरेको परिकल्पना भन्दा पनि माथि रहेर बिशेषज्ञ सेवा उपलब्ध गराएको छ ।
‘ओपीडी विभागतर्फ अधिकांश सेवा बिशेषज्ञसहित उपलब्ध रहेको पाइयो’, डा.तिवारीले भने, ‘इमर्जेन्सी सेवातर्फ पनि २४सै घण्टा एकजना एमडिजीपी चिकित्सकसहित मेडिकल अधिकृतको सेवा उपलब्ध हुने गरेको पाइयो । जिल्ला अस्प्तालमा यो निकै सकारात्मक पक्ष हो ।’
लैंगिक हिंसामा परेका पीडितका लागि अस्पतालमा प्रदान गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र, बिरामीका लागि कुरुवा घर, अप्रेसन थिएटर, ल्याव, ब्लडबैंक, पिउने पानीको परीक्षण, फोहोर व्यवस्थापन, स्वास्थ्य जाँचका लागि कुन बिरामीलाई कुन चिकित्सकसँग पठाउने ? भन्ने वारे स्क्रिनिङ कक्ष, फिजियो थेरापी, प्रकोप व्यवस्थापन सवै व्यवस्थित रहेको अनुगमन तथा मूल्यांकन समितिले पाएको छ ।
जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पताल सेकेण्डरी ए लेवलको अस्पताल हो । गत बर्ष यो अस्पतालले यस खालको मूल्यांकनमा ९० प्रतिशत अंक प्राप्त गरेको थियो ।अघिल्लो बर्ष ८८ प्रतिशत अंक प्राप्त गरेको थियो ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले उपचारका लागि अस्पतालमा आउने बिरामी सबैलाई सकेसम्म बिशेषज्ञ सेवा उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै सिमित साधनस्रोतको वावजुत पनि अस्पतालको सेवा प्रभावकारी रहेको दावी गरिन् ।
‘यस पटक अस्पतालमा अर्थोपेडिक सेवा पनि आरम्भ गरेका छौं’, डा.गुप्ताले भनिन्, ‘यो मूल्यांकनबाट अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै भावी योजना तथा कार्यक्रम बनाइने छ ।’
प्रतिकया दिनुहोस्