स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको नशा तथा मानसिक रोग विभागको २४ औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ ।
विभागका प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा आवासीय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुत गरेकी थिइन् । त्यस्तै डा.अनमोल बन्धु कार्कीले युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना, संक्षिप्त इतिहास तथा भावी योजनाबारे प्रकाश पारेका थिए ।
युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना २५ जनवरी २००१ मा भएको थियो । गत आर्थिक वर्षमा यो विभागले ओपिडी सेवामार्फत करिब ३३ हजार ६ सय ४५ जना बिरामीहरुको उपचार गरेको थियो । जसमध्ये ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला थिए ।
सोही अवधिमा करिब १ हजार ९७ बिरामीको अस्पतालमा भर्ना भइ उपचार गरिएको थियो । जसमध्ये अधिकांश बिरामीहरु २१ देखि ३० वर्ष उमेर समूहका थिए । विभागले यस वर्षदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यू. परीक्षण सेवाका बारेमा प्रकाश पारिएको थियो ।
विभागले आगामी दिनमा बालबालिका तथा व्यस्कहरुको मानसिक स्वास्थ्य, छारेरोग, लागूऔषध कुलत तथा पुनस्र्थापना लगायत सम्बन्धमा अझ विशिष्ट परामर्श तथा उपचारका लागि विशिष्ट क्लिनिक सञ्चालनमा ल्याउने जनाएको छ ।
कार्यक्रममा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले यस विभागको प्रगति सन्तोषजनक रहेको बताए । उनले आगामी दिनमा यसको विकास र विस्तारमा अस्पतालले अझ बढी लगानी गर्ने बताए ।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा.साधन मुखी, डा.सन्जिव शाह, डा.श्रेया पौडेल लगायतको उपस्थिति रहेको थियो । डा.कञ्चन गिरी तथा डा.मोहम्मद नसिम अकरम मिकरानीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्