युसिएमएस भैरहवाले पायो अन्तर्राष्ट्रियस्तरको एन.ए.वि.एच. मान्यता

स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) शिक्षण अस्पताल, भैरहवाले अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (National Accreditation Board for Hospitals & Healthcare Providers) प्राप्त गरेको छ।

अस्पतालका अनुसार एनएबीएच मान्यताले स्वास्थ्य सेवाको गुणस्तर, बिरामीको सुरक्षा तथा अस्पतालको पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको प्रमाणित गर्छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पि.एस.ले मान्यताले अस्पताललाई अवसरसँगै मापदण्ड निरन्तर कायम राख्ने चुनौतीसमेत थपेको बताउनुभयो। उहाँका अनुसार बिरामीको उपचारका क्रममा संक्रमण तथा जोखिम न्यूनीकरण गर्न उच्च सतर्कता अपनाइनेछ।

त्यस्तै, चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिलाई समयानुकूल दक्ष र तालिमप्राप्त बनाउने, औषधिको उचित प्रयोग सुनिश्चित गर्ने, बिरामीका अधिकारको संरक्षण तथा उपचार खर्चमा पारदर्शिता कायम गर्ने अस्पतालले जनाएको छ।

अस्पतालको आकस्मिक कक्ष, सघन उपचार कक्ष तथा शल्यक्रिया कक्षलगायतका पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम राख्दै आवश्यकताअनुसार थप स्तरोन्नति गरिने जनाइएको छ।

एनएबीएच मान्यतापछि भारत सरकारका पूर्वसैनिक, उनीहरूका आश्रित परिवार तथा केन्द्र सरकारअन्तर्गतका पूर्वकर्मचारीलाई लक्षित अस्पतालको इसीएचएस (ECHS) सेवा थप सहज, प्रभावकारी र व्यवस्थित हुने अस्पतालको भनाइ छ।

सम्बन्धित शिर्षक :