स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवामा यस क्षेत्रमा पहिलो पटक प्रोक्टोलोजी क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका–१२ बस्ने २१ वर्षीय प्रविण हरिजनको उक्त प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
हाल विरामीको अवस्था सन्तोषजनक रहेको र अस्पतालबाट डिस्चार्ज समेत भइसकेको छ । यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समीकुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले गरेको हो ।
अब अस्पतालमा विरामीहरुलाई पाइल्स, पाइलोनाइडल साइनस, एनल फिसर र फिस्टुला जस्ता रोगहरुको उपचार समेत लेजर प्रविधिबाट गर्न सकिने डा. मिश्रले जानकारी दिए । डा. मिश्रका अनुसार लेजर शल्यक्रिया परम्परागत (ओपन) शल्यक्रियाको तुलनामा विरामीलाई धैरे फाइदाजनक हुन्छ ।
अस्पतालका अनुसार उक्त प्रविधिबाट गरिने शल्यक्रियामा रगत कम खेर जाने, संक्रमण दर न्युन रहने, विरामीलाई अस्पतालको बसाईं अवधि एकदमै छोटो हुने र सफलता दर उच्च रहने विशेषता रहन्छ । साथै विरामी चाँडो नै आफ्नो सामान्य जीवनशैलीमा फर्किन सक्ने र उपचारपछि हुने पीडा पनि न्युन हुने चिकित्सकले जनाएका छन् ।
यो सेवा सुरु भएपश्चात् रुपन्देही मात्र नभई आसपासका जिल्लाहरुका विरामीहरुले समेत आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार सेवा प्राप्त गर्न थप सहज हुने अस्पतालले अपेक्षा लिएको छ ।

प्रतिकया दिनुहोस्