स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप हिजो राती १०:३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार २० भाइल खोप आउने र त्यसमध्येको पहिलो खेप मंगलबार राती आइसकेको बताए । उनले अरु बाँकी खोप आगामी १० जनवरी भित्र आइसक्ने बताए ।
उनले आइसकेका खोपहरूलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरुमा पठाउने काम पनि संगसंगै अघि बढ्ने जानकारी दिए ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् ।
यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ ।डा. गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने ।
डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरिवेक्षक परिचालन गरिने बताए । यस्तै उनले अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।
विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ । यस्तै एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउने पाइएको छ ।
प्रतिकया दिनुहोस्