विगतको तीतो अनुभव, सम्बन्ध, करिअरमा घटित नकारात्मक अनुभवहरूको सँगालोलाई बोकेर जीवनयापन गर्दै आउनुलाई मनोविज्ञानले ‘भावनात्मक बोझ’ भन्छ । जो दिमागमा बोझ जसरी बस्छ । र, त्यसको प्रभाव दैनिक जीवनमा परिरहेको हुनसक्छ ।
यो कसैको हाउभाउबाट पनि देखिन सक्छ, जो असहनीय दिमागमा भार उठाइरहेका हुनसक्छन् । यस्तो भारले जीवनमा अघि बढ्नबाट रोक्न पनि सक्छ ।
हरकोही केही हदसम्म यस्ता भावनालाई लिएर जीवन बिताइरहेका हुन्छन् । यद्यपि, जुन भावनासँग लडेर जित्न सकिंदैन, त्यो भावना आफैं हटेर जाँदैन । यी भावनालाई ‘इमोसन ट्रयाप’ अर्थात् भावनामा जकडिएको (नकारात्मक) भन्ने गरिन्छ ।
यसले के कस्ता कुरामा प्रभाव पार्छ ?
– आफ्नोबारे सोच्ने तरिकामा
– तनाव हुँदा प्रतिक्रिया जनाउनेमा
– मानसिक तथा शारीरिक स्वास्थ्यमा
– अर्को व्यक्तिसँगको सम्बन्धमा
नकारात्मक भावनामा फस्नुको अर्थ के हो ?
योगा, अकुपंचर र मनोपरामर्शको उपचार गराउने क्रममा कति व्यक्ति रोएको र देखिन्छ । यसरी रुनुको पछाडि यस्ता उपचारमा मनोभावना गुम्सिएर बसेको मस्तिष्कको त्यो बिन्दुसम्म छोएको हुनसक्छ । यी उपचारले सो बिन्दु सक्रिय हुँदा भावना प्रस्फुटन भई रुवाइबाट अभिव्यक्त भएको हुन्छ ।
केही मानिस आफूलाई आघात परेको घटनालाई जम्मा गरेर राख्ने र त्यसबाट उम्कन नसक्ने परिस्थितिलाई पनि भावनामा जकडिएको भन्न सकिन्छ ।
जुन कडा तनावको लक्षणको रूपमा शरीरले प्रकट हुन सक्छ । किनकि मस्तिष्कको अवचेतन स्तरले यस्तो घटनालाई स्मरणयोग्य बनाएर राख्छ । शरीरको केही भाग सक्रिय हुने बित्तिकै ती यादहरु सक्रिय र ताजा हुन थाल्छन् ।
मानिसमा भावना लगातार उत्पन्न भइरहन्छन् । जुन चेतन वा अवचेतन अवस्थामा पनि हुनसक्छ । जसमा असन्तुष्ट भएका तीता घटना र अनुभवहरु पुन: सक्रिय हुन्छन् । त्यस्ता भावना नबाँड्दा झन् दृढ भएर बसेको हुन्छ ।
कसरी यस्तो भावनामा दिमाग जकडिन्छ ?
कुनै परिस्थिति र घटना घट्दा त्यो पलमा डराउँदा शरीरले एक प्रतिक्रिया प्रभाव पार्छ । ती भावनाले शरीरमा लड्ने, भाग्ने वा त्यसमै अड्किएर बस्ने प्रतिक्रिया जनाउँछ ।
ती भावना अनुभव गर्दा हरेक मानिसले तीनवटा कुराको अनुभव हुन्छ ।
– भावनात्मक कुराले शरीरमा कम्पन विकास गराउँछ ।
– कुनै भावना वा कुनै विचारले शरीर सिरिङ्ग हुने वा मनभित्रैसम्म छुने । यो अवस्थामा मस्तिष्कले पनि सँगै काम गर्छ । जसकारण केहीबेर झट्का लागेको जस्तो भई शरीरको तन्तुहरुमा कम्पन उत्पन्न हुन्छ ।
– भावनालाई छोड्दै अघि बढ्छ ।
आफ्नो वरपर भएका जानकारी दिमागले लगातार लिइरहेको हुन्छ । जुन पूर्वचेतन स्नायु प्रणालीले प्रतिक्रियाको रुपमा प्रवाह गर्छ । यसले नै शरीरमा संकेत पठाउँछ । जसकारण सम्बन्धित भावना सक्रिय हुन्छ । सरल शब्दमा भन्दा स्नायु प्रणालीले जे बताउँछ, त्यही भावनाको रूपमा प्रकट हुन्छ ।
भावनालाई मनमै राख्ने, त्यसमै अल्झिरहने हो भने शरीरले नकारात्मक भावनाको विकास गर्छ । जसले सानोदेखि ठूलो निर्णय लिन सक्ने क्षमतामा ह्रास आउँछ ।
त्यस्तै, कुनै कुराको चाहिने भन्दा बढी प्रतिक्रिया दिनु वा नदिनु, तनाव र एन्जाइटीको स्तर बढ्नु, डिप्रेसन, मांसपेशी दुख्नु, मन अशान्त हुने र टाउको दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ ।
आघात र भावनाबीचको सम्बन्ध
सबैले कुनै न कुनै बिन्दुमा चोट वा आघात अनुभव गर्छन् । ती आघात बिछोड वा छोडपत्र, आत्मीय व्यक्तिको मृत्यु वा हत्या, दीर्घरोग, विभेद, शोषण र अत्याचार, प्राकृतिक प्रकोप, हिंसा लगायत पर्छन् । यसले संवेगात्मक रुपमा स्मरणशक्तिको कार्य प्रक्रियामा दखल दिन्छ । यस्ता भावना सही रुपमा दिमागले आफनो हातमा लिन सक्दैन ।
जब यो दिमागमा बस्छ तब आश्चर्य हुने खालको प्रतिक्रिया दिमागले दिन्छ । जसकारण शरीरमा झन्झन गरेको अनुभव हुन्छ । दिमागलाई भारीपन लाग्छ । मस्तिष्कले दर्दनाक सम्झनाहरूलाई चित्र वा शरीरको संवेदनासँग जोडदिन्छ । र, यो दिमागमा फ्ल्यासब्याकको रूपमा बस्छ । यसलाई वियोग भनिन्छ ।
यी स्मरण शक्तिमा नमिठो सम्झना बस्छ ।
यसबाट छुट्कारा पाउन आघात के कुराले पुगेको हो ? कस्तो थियो ? उल्लेख गर्नुपर्ने हुन्छ । किनकि आघातबारे अनुभव भएको कुरा स्पष्ट तरिकाले व्यक्त नगरेमा मस्तिष्क शान्त पार्न र स्थिति सामान्य बनाउन असम्भव जस्तै हुन्छ ।
यी भावनाहरूलाई कसरी मुक्त गर्ने ?
यस्ता भावनाबाट मुक्त हुन रुनुपर्छ, चिच्याउनुपर्छ, हाँस्नुपर्छ, तकियामा हान्नुपर्छ भन्ने होइन । त्यसका लागि आफूमा हाबी भइरहेको भावनाबारे बुझ्ने, आघातलाई स्वीकार गर्ने र अघि बढ्ने प्रयास गर्ने, त्यसलाई कसरी छायामा पार्न सकिन्छ, त्यसतर्फ ध्यान दिन सकिन्छ ।
भावनालाई बुझ्ने प्रयास
आफ्नो दिमागमा आइरहेको भावनाको संसारलाई जति बढी बुझियो त्यति स्वस्थ तरिकाले भावनालाई पचाउन सकिन्छ । दबाइएको कतिपय भावनाले दिमागमा हान्छ । तर त्यो कस्तो भावना हो, जसले दिमाग र शरीरलाई हरेक पक्षबाट कमजोर अनुभव गराइरहेको बुझ्न नसक्ने हुनसक्छ । ती भावनाले कसरी हाबी भइरहेको छ ? र, कसरी नियन्त्रण गर्न सकिन्छ भनेर मनोचिकित्सकको परामर्श लिएमा काफी हदसम्म जीवन सरल बन्छ ।
त्यस्तै ’माइन्डफुलनेस’को अभ्यासले आफूलाई नियन्त्रणमा राख्न र बुझ्न सहयोग गर्छ ।
विगतको आघातको सामना
कतिपय बाल्यकालका तीता अनुभव कसैलाई नभनी हामी वर्षौंसम्म बोक्छौं । कहिलेकाहीं जुन झलझली याद आउन सक्छ । जस्तै, मानसिक, भावनात्मक, शारीरिक दुर्व्यवहार, उपेक्षा, अभिभावकबाट अलग, धम्की आदि ।
यी समाधान नगरिएका बाल्यकालको आघात धेरै तरिकाले देखा पर्न सक्छ । फलस्वरुप त्यस्ता बालबालिकामा पछिसम्म अरूलाई दोष लगाउने, सानो कुरामा निराशा, अवसाद र सामाजिक गतिविधिबाट पछि हट्ने बानी बस्छ ।
सानो बेलामा पाउनुपर्ने कुरा अब पाइँदैन भन्ने हिसाबले चल्न सिक्नुपर्छ । ती आघात अनुभवलाई जहाँको त्यहीं छोड्ने र अघि आउने जीवनबारे सोच्ने अभ्यास गर्नुपर्छ ।
त्यसका लागि नजिकको व्यक्तिसँग लुकेका अनुभव साट्न सकिन्छ । सकिंदैन भने मनोपरामर्श लिन सकिन्छ । यस्तै अरू केही अभ्यास छन्, जसले आघातसँगै आउने नकारात्मक भावनालाई व्यवस्थापन गर्न सक्छ ।
– कुनै कुराले मन खान थाल्यो भने बिस्तारै बिस्तारै लामो सास नाकबाट तान्ने र मुखबाट फाल्ने गर्ने अभ्यास गर्न सकिन्छ ।
– दिमागलाई आराम दिन मोबाइल वा टिभी हेर्ने जस्ता उत्तेजक गतिविधिबाट रातको समयमा ब्रेक लिनुपर्छ ।
– आफनो मुडबारे डायरीमा लेख्ने अभ्यास गर्ने । मुड एक्कासि किन परिवर्तन भयो लेख्न सकिन्छ । यसले भावना पोख्न, स्वनियन्त्रण र आत्ममूल्यांकन गर्न सहज पार्छ ।
– कुनै घट्नाको स्मरणले एन्जाइटी भइरहन्छ भने खाली समय सदुपयोग गर्न घुम्न जाने, बिहानको समय १५ मिनेट घुमफिर गर्ने वा व्यायाम गर्ने अभ्यास गर्नु उपयुक्त हुन्छ । शारीरिक गतिविधि सक्रिय राख्दा न्युरोट्रान्समिटरहरु सक्रिय हुन थाल्छ । जसले दिमागलाई आराम दिन्छ । त्यस्तै, घुम्न निस्कने जस्ता अभ्यास गर्न सकिन्छ ।
– घरमा कसैमा त्यस्तो समस्या भए के कस्तो विचार आइरहेको छ भनेर सोधपुछ गर्ने । त्यस्तै, उनीहरूमा आत्महत्या गर्ने सोचबारे पनि सुरक्षित महसुस गराउँदै सोध्न सकिन्छ । यदि त्यस्तो योजना रहेको पाइएमा चिकित्सकलाई देखाउनुपर्छ ।
प्रतिकया दिनुहोस्