स्वास्थ्य सुधारमा लुम्बिनी : परिवार स्वास्थ्य प्रोफाइल र शुन्य वेरुजु

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य प्रणालीलाई व्यवस्थित, तथ्यांक–आधारित र पारदर्शी बनाउन दुई महत्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा उनीहरुले आ आफ्नो प्रदेशले गरेको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा लुम्बिनी प्रदेशले स्वास्थ्य सुधारका लागी गरेका महत्वपुर्ण २ काम प्रस्तुत गरिएको हो ।

पहिलो काम प्रदेश सरकारले ‘फ्यामिली हेल्थ प्रोफाइल’ तयार पार्ने अभियान सुरु गर्दै अब प्रत्येक परिवारको स्वास्थ्य अवस्था, उपचार इतिहास तथा रोग जोखिमको अभिलेख प्रदेशस्तरमै डिजिटल रूपमा राखिने व्यवस्था मिलाइएको छ।

यो अभियानमार्फत समुदायमा रहेका सम्भावित स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उपचार तथा रोकथाम गर्न सहज हुने, र प्रदेशस्तरमा ‘डेटा–ड्राइभन हेल्थ प्लानिङ’ सम्भव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै अर्काे स्वास्थ्य संस्थामा हुने खर्चको दुरुपयोग रोक्न ‘शून्य वेरुजु प्रवद्र्धन कार्यक्रम’ पनि लागू गरिएको छ। औषधि, सामाग्री र बजेटको अनियमित खर्च नियन्त्रण गरी शतप्रतिशत उपयोग गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालनमा आएको हो।

शून्य वेरुजु र फ्यामिली हेल्थ प्रोफाइलले प्रदेशको स्वास्थ्य नीति बलियो बनाउन मद्दत गर्नेछ।”प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि यी कार्यक्रमलाई व्यापक रूपमा विस्तार गर्दै प्रदेशभर ‘डेटा–ड्राइभन हेल्थ सिस्टम’ को आधार तयार गर्ने जनाएको छ।

प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा पारदर्शी वित्तीय व्यवस्थापन, नियमित अभिलेख र उत्तरदायित्वको प्रणाली विकास गर्न स्थानीय तह र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने तयारी सुरु गरिसकेको छ।

स्वास्थ्यमन्त्री खेम सारुले भने “अब कुनै परिवार स्वास्थ्य सेवाबाट बाहिर रहने छैन। प्रत्येक घरको स्वास्थ्य विवरण राज्यले बुझ्ने हो भने उपचारभन्दा अघि नै रोकथाम सम्भव हुन्छ। फ्यामिली हेल्थ प्रोफाइलले लुम्बिनी प्रदेशलाई स्वास्थ्य अभिलेखको मोडल प्रदेश बनाउनेछ।” “खर्चमा अनियमितता अब सह्य हुँदैन।

शून्य वेरुजु अभियान हाम्रो सुशासनको आधार हो – पैसा होइन, जनस्वास्थ्य मेरै प्राथामिकता हो।” लुम्बिनी प्रदेशको दीर्घकालीन स्वास्थ्य सुधार र सुशासनतर्फको ‘माइलस्टोन’ कदमका रूपमा लिएको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :