यसरी रहन गयो नाम कोभिड-१९ को नयाँ सबभेरियन्ट केपी.१ र केपी.२

स्वास्थ्यसमाचार/त्यसो त कोभिड – १९ महामारी विश्वजगतबाटै सेलाइसकेको अवस्था छ । कोभिडविरुद्ध विकास गरिएका खोपहरूले केही वर्षसम्म विश्वलाई नै आफ्नो मुठ्ठीमा पारेको भाइरसलाई तहसनहस बनाइदिएको छ । खासमा भन्नु पर्दा कोभिड – १९ अब सामान्य जस्तै देखिएको छ ।

तर, यी भाइरसमा पनि बदलिने भेरियन्ट तथा सबभेरियन्टले बेला बखतमा चर्चामा भने रही नै रहेको हुन्छ । पछिल्लो पटक ओमिक्रोनको सबभेरियन्टको रुपमा देखा परेको केपी.१ र केपी.२ ले पुन: एक पटक कोभिड चर्चामा आएको छ । खासमा केपी .१ तथा केपी.२ भेरियन्ट धेरै पछि देखिएको अलि कडा भेरियन्ट हो । त्यसैले यसको नाम चर्चामा आएको हो । तर नेपालमा भने यसरी चर्चा हुनुको कारण कडा भेरियन्ट बाहेक एक प्रमुख राजनीतिक दलको नेताको नामसंग समेत मिल्ने भएर हो ।

यो नाम कसरी आयो ?

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कोभिड महामारी यता त्यसका भेरियन्ट तथा सव भेरियन्टमा आएका परिवर्तन र परिवर्तित भेरियन्टका नाम राख्नका लागि विश्व स्वास्थ्य संगठनले एउटा प्राविधिक समूह नै बनाएको छ । जसको नाम टेक्निकल एडभाइजरी ग्रुप अन सार्स कोभ २ भाइरस इभोलुसन कमिटि रहेको छ । यसले कोभिड भाइरसका विभिन्न भेरियन्ट तथा सब भेरियन्टमा आएका परिवर्तनका आधारमा नयाँ नयाँ नाम दिदै जाने गर्दछ ।

पहिले पहिले यस्ता नामहरु वैज्ञानिकहरुको नाममा राखिन्थे । अहिले चाहि यिनीहरुले अल्फा विटा मागा भनेर ल्याटिन वर्डबाट सुरु गरे ।
पछिल्लो पटक यो टिमले भाइरसको नयाँ भेरियन्टको नाम ओमिक्रोन राखिदियो । त्यसपछि ओमिक्रोनकै नयाँ पुस्ताहरु देखिँदै गएको हो । त्यसका पनि पछिल्ला पुस्ताहरुको नामाकरण गर्दै जाँदा अंग्रेजी अल्फावेट ए बाट सुरु भयो । त्यसपछि बी सी हुँदै अघि बढ्यो । जस्तै बीए.१. बीए.२, बीए.३ हुँदै हुँदै हुँदै सीए.१, सीए.२ हुँदै अघि बढ्यो ।

भाइरसको विकासको आधारमा नामहरु परिवर्तन हुँदै गयो । अर्को शब्दमा भन्नु पर्दा भाइरसको जेनेटिक मोडिफिकेसन हुन्छ । त्यसो हुँदा बीए .१ बाट बी ए .२ बन्न सक्छ ।

जहाँ निर भाइरसमा सामान्य परिवर्तन भयो त्यहि नीरबाट डट.डट. थपिँदै जान्छ ।तर स्वरुप नै परिवर्तन भयो भने त्यो अल्फावेट नै परिवर्तन हुन्छ । त्यसबेला नाम ओमीक्रोन बी बाट सीमा फड्को मार्छ ।

यस्तै डी एफ आई जे हुँदै अघि बढ्दै जान्छ । केही समय अघि मात्रै ओमिक्रोनको नयाँ सवभेरियन्ट जेएन .१ आयो भनेर सुनेका पनि हौँ । पछि जेएन.१.११.१ गरी थपिँदै गयो । त्यसलाई नै डब्लुएचओ कमिटिले केपी. १ भनेर नाम दिएको हो । यो जेएन.१.११.१ को छोटकरी नाम हो ।

पछि केपी.१, केपी .२ मा पुग्दा यो भेरियन्टले आफूलाई चिनिने गरी प्रस्तुत गरयो । जब भाइरसको भेरियन्ट असरदार जस्तो देखिन्छ त्यसपछि चर्चामा आउँछ । नेपालमा जेएन.१ सुनिँदा पनि चर्चा भएको थियो र अहिले केपी .१ र केपी .२ देखा पर्दा पनि चर्चा भएको हो ।

संयोग कस्तो भने केपी नाम राखिनु अघिको जेएन पनि नेपालका पूर्व प्रधानमन्त्री एवं बरिष्ठ बापपन्थी नेताको छोटकरी नाम जस्तै सुनिएको थियो । अहिले फेरी केपी आउँदा झनै चर्चा चलेको हो ।

विज्ञहरुका अनुसार यो भाइरस अलि छिटो छिटो सर्ने खालको अर्थात अलि बढी संक्रामक छ भनिन्छ ।अहिलेसम्म यो भेरियन्स अफ कन्सर्नमा छ । तर भेरियन्स अफ इन्ट्रेष्टमा छैन । यो भनेको छिटो सर्न सक्ने क्षमता त छ तर जोखिममा पारि हाल्ने अवस्था छैन ।हामीले लगाएको खोपले यो सव भेरियन्टलाई सजिलै तह लगाउँछ ।

सम्बन्धित शिर्षक :