मनोपरामर्श भनेको के हो ? :खिमबहादुर पौडेल

मनोपरामर्श भन्दा अगाडी हामीले मनोबिज्ञान (साइकोलोजी) बुझ्नु पर्ने हुन्छ । साइकोलोजी शब्द ग्रीक शब्दबाट लिइएको हो जसको अर्थ आत्माको अध्ययन भनेर बुझ्ने गरिन्थ्यो भने आधुनिक विज्ञानले मनको बिज्ञान भनेर व्याख्या गरेको छ ।

परामर्श हाम्रो समाजको उत्पत्ति संगै शुरु भएको पाइन्छ । परामर्श हाम्रो घर र समाजमा हजुरबुवा, हजुरआमा, आमाबुवा र समुदायका नेतृत्वबाट मानव अनुभव प्राप्त गर्ने प्राकृतिक जस्तैको रुपमा हुदै आएको छ ।

मानव सभ्यताको बिकासक्रममा औधोगिक क्रान्ती पछी धेरै मानिसहरु शहरमा बसाइ सराइ गरी आउनेक्रम बढ्यो र तिनीहरुले परम्परागत रुपमा आफ्नो घर र समाजबाट प्राप्त भैराखेको परामर्शदाताबाट अलग हुन पुगे र मानसिक समस्या वा चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने ज्ञानको अभावमा धेरै मानिस मानसिक अस्पतालको शरणमा पुगेका थिए ।

आधुनिक मनोरोगको आगमन संगै, मेडिकल व्यवसायी र समाजका ठुलो समुहले मनोरोग र परामर्शलाई सँग संगै लैजानु पर्छ भन्ने बिचारलाई अंगालेका थिए र मानसिक सरसफाई नामको उक्त गतिबिधिमा मनोचिकित्सक, सामाजिक कार्यकर्ता, मनोबिद र पुर्व अस्पतालका बिरामीहरुको नेतृत्वमा मानसिक समस्यालाई बढार्ने काम शुरु भएको थियो ।

परामर्श, व्यवसायीक रुपमा सन १९०० देखि जल्दोबल्दो रुपमा अगाडी आएको पाइन्छ । जब मनोबिद र मेडिकल व्यवसायीहरुले लो मुड र डिप्रेसन बारेमा बुझ्ने कोशिस गरे र कसरी यसलाई उपचार गर्न सकिन्छ भनेर पत्ता लगाउने कोशिस गरे त्यसपछी मात्र परामर्श र मनोउपचार प्रणालीमा कोशेढुंगा साबित भएको थियो ।

परामर्श
परामर्श भनेको एउटा प्रकृया हो । जहा कुनै पनि व्यक्तिको व्यक्तिगत, सामाजिक र मनोबैज्ञानिक समस्या वा कठिनाइहरुलाई समाधान गर्न व्यवसायिक रुपमा गरिने सहायता वा सुझावलाई परामर्श भनिन्छ ।

परामर्शको लागी निम्न कुराहरु हुनु पर्ने हुन्छ
– कसैले सहायता खोजिरहेको
– कसैले सहायता दिने चाहना भएको
 सहायता दिने व्यक्ति सक्षम वा तालिम प्राप्त गरेको र
 सहायता दिन र लिनको लागी वातावरण अनुकुल भएको वा स्वीकार्य भएको

मनोबिज्ञान
मानिसको मन र यसको कार्यहरुलाई बैज्ञानिक ढंगले अध्ययन गर्ने कार्य, जसमा कुनै बिषयले मानिसको व्यवहारमा पारेको असर बारे अध्ययन गरिन्छ । यसलाई व्यक्ति अथवा समुहको मानसिक चरित्र वा धारणाको रुपमा पनि हेरिन्छ ।
मनोपरामर्श
मनोपरामर्श यस्तो क्षेत्र हो, जसको उद्देश्य कुनै व्यक्तिको जीवनको कुनैपनि अवस्थामा आउने मानसिक चुनौतीहरुलाई कम गरी, सुधारिएको गुणस्तरीय जीवनयापन गर्न सहायता गर्नु नै मनोपरामर्श हो ।
मनोपरामर्शको क्षेत्रहरु
– बाल बिकास
– किशोरावस्था बिकास
 वयस्क बिकास
 पारस्परिक सम्बन्ध
 स्वास्थ्य
 उधोग
 शिक्षा
 जिवनबृति
 लत
 मानसिक स्वास्थ्य

मानसिक स्वास्थ्य समस्याको अवस्था
सन् १९७८ को अन्तराष्ट्रिय सम्मेलनबाट मानसिक स्वास्थ्यलाइ पनि प्राथमिक स्वास्थ्यको रुपमा सेवा दिनुपर्छ भन्ने धारणा सुरु भएको थियो र नेपालमा पनि मानसिक स्वास्थ्यलाइ प्राथमिक स्वास्थ्यको रुपमा लिएको भए तापनि व्यवहारमा समेटन नसकेको अवस्था रहेको छ ।

विश्वभर सम्पूर्ण रोगहरुको करिब १४ प्रतिशत मानसिक, स्नायु तथा लागु पदार्थ सेवनबाट हुने स्वास्थ्य समस्याहरुले ओगटेका छन् । यसको अधिकाश भार न्यून तथा मध्यम आय भएका देशहरुमा देखिन्छ । विश्व स्वास्थ्य संगठनको भर्खरको तथ्यांकले देखाए अनुसार डिप्रेसन तथा एन्जाइटी डिसअर्डर विश्वमै सबैभन्दा धेरै मात्रामा देखिने मानसिक स्वास्थ्य समस्या हुन ।

नेपालमा राष्ट्रिय स्तरमा अध्ययन नभए तापनि जोखिममा रहेका समुदायमा गरिएका अध्ययनहरुले डिप्रेसन, एन्जाइटी, पिटिएसडी तथा मादक पदार्थको दुबर््यसनी सम्बन्धी समस्याहरु प्रचुर मात्रामा रहेको देखाएको छ ।

यसैगरी मध्यम तथा न्यून आय भएका देशहरुमा मानसिक स्वास्थ्य समस्या भएका ५ जना व्यक्तिहरु मध्ये ४ जनाले प्रभावकारी उपचार भएका छैनन् भन्ने तथ्यांक सार्बजनिक भएको छ । यसैलाई सम्बोधन गर्नको लागि सन् २००८ मा बिश्वस्वास्थ्य संगठनले मेन्टल हेल्थ ग्याप एक्सन प्रोग्राम को अवधारणा ल्यायो । जसको प्रमुख उद्देश्य भनेको प्राथमिक स्वास्थ्य सेवा स्तरका अविशिष्ट स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरि समुदायस्तरमा रहेको स्वास्थ्य संस्थाहरुबाटै मानसिक स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको छ ।

नेपालमा भूकम्प र कोभिड–१९ संगै आर्थिकमन्दी बढेको र विभिन्न क्षेत्रका मानिसहरुले आर्थिक समस्या ब्यहर्नु परेको कारणले मानसिक समस्याका बिरामीहरु पहिला भन्दा बढेको देखाएको छ । नेपालमा मानसिक स्वास्थ्यको बहिरंग सेवा सन् १९६२ मा बीर अस्पतालबाट शुरु भएको थियो भने सन् १९६५ मा आएर सोहि अस्पतालमा ५ शैयाको मानसिक स्वास्थ्यको इकाईबाट अन्तरंग सेवाको शुरुवात भएको थियो । त्यसैगरी सन १९८५ मा आएर विशिष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि ललितपुरको लगनखेलमा एउटा छुट्टै अस्पताल स्थापना गरिएको थियो ।

मानसिक रोगका कारणहरु
१) जैविकः– यस अन्तरगत वंशानुगत, मष्तिस्कमा हुने समस्याहरु, मष्तिस्कमा हुने रासायनिक तत्वको घटबढ भएमा, विभिन्न किसिमका शारीरिक स्वास्थ्य समस्याहरु ।
२) मनोबैज्ञानिकः– व्यक्तिको मानसिक अवस्था, सोचाइ, बुझाइ, हुर्काइको परिवेश विभिन्न प्रकारको हुन् सक्छ र सोहि अनुसार व्यक्तिले व्यवहार गर्ने गर्दछ । निम्न मनोबैज्ञानिक पक्षहरुले ब्यक्तिको मानसिक अवस्थालाई प्रभाव पार्न सक्दछ ।
– बाल्यकालमा मानसिक आघात (भावनात्मक, शारीरिक र यौन दुबर््यवहार) भोगेमा,
– बाल्यकालमा आफ्नो जीवनका महत्वपूर्ण व्यक्ति गुमाएमा,
 बाल्यकालमा माया–ममता तथा उचित सरक्षण नपाएमा,
 व्यक्तित्व बिकासका क्रममा अप्रभावकारी तथा दोषपूर्ण सिकाई भएमा,
 व्यक्तिको स्वभाव र चरित्र जस्तै चिन्ता गर्ने,सिजोइड,पारानोइड आदि बिशेषता भएमा,
 बेसाहारा महशुस भएमा,
 नकारात्मक सामना गर्ने सिकाइ वा व्यवहार भएमा ।

३) सामाजिकः– व्यक्तिका बाहय परिबेशहरुले पनि मानसिक समस्या निम्त्याउन सक्दछ । सामाजिक परिवेश व्यक्तिको सोच अनुकुल नभएको अवस्थामा मानसिक समस्याहरु आउन सक्दछन । सामाजिक कारणलाइ पनि निम्न अनुसार दुइ भागमा बाँडन सकिन्छ ।
क) पारिवारिक वातावरणः– घरायसी झैँ–झगडा, एकआपसमा बिश्वासको कमी, पारिवारिक सहयोगको भावनामा कमी आदि ।
ख) तनाबग्रस्त जीवन परिवेशः– असफलता, गरिबी, बेरोजगार, प्रियजनको मृत्यु, बाँझोपन, हिँसा, आघातजन्य घटना, व्यवसायिक समस्या, प्राकृतिक तथा मानब सिर्जित दुर्घटनाहरु,द्रुत सामाजिक परिवर्तनसँग सामन्जस्यताको कमी, आर्थिक समस्या(धेरै ऋण), अन्याय, यातना, एक्लोपन, बिग्रदो बैवाहिक स्थिति, युद्ध वा युद्धको डर तथा असुरक्षा, कमजोर सामाजिक सहयोगी संजाल, जातीय भेदभाव, विभेद, चिन्ता आदि ।
मनोपरामर्शको आवश्यकता र महत्व
हाल नेपालमा मानसिक स्वास्थ्य समस्याको समाधान भनेको मनोचिकित्सक कहाँ चेकजाच गराई औषधीको प्रयोग गर्नु मात्र हो भन्ने बुझाई रहेको पाइन्छ । मानसिक समस्याको समाधानको लागी उपचारात्मक स्वास्थ्य सेवालाई मात्र प्राथमिकतामा राखेको पाइन्छ तर मानसिक समस्याको समाधानमा प्रतिकारात्मक र प्रर्वधनात्मक सेवाको भूमिका अहम रहेको हुन्छ ।

मनोपरामर्शलाई मनको औषधी पनि भन्ने गरिन्छ । मनोपरामर्श कुनै पनि मानसिक समस्या भएकोमा लागु गर्न सकिन्छ । मनोपरामशले चिन्ताजन्य समस्या, सामान्य किसिमको डिप्रेसन लगायत विभिन्न किसिमको मानसिक समस्यामा, मानिसको अनुभूतिमा परिवर्तन गरेर मानसिक स्वास्थ्यमा हुने चुनौतिहरु कम गरी सुधारिएको गुणस्तरीय जीवनयापन गर्न सहज गराउने गर्दछ ।

मनोपरामर्श भनेको कुरा गर्नु मात्र होइन, यसमा व्यवसायिक मानिसले टेकनिक लगाएर गरिने समस्याको समाधान हो । परामर्श तुरुन्त परिणाम आउने होइन, यसले समय लिन्छ किनकि अनुभूति वा मष्तिस्कमा भएको गलत बुझाइलाई परिवर्तन गर्नको लागी समय लाग्ने हुन्छ र बिस्तारै परिवर्तन हुदै जाने हो । जसले गर्दा मानिसको व्यवहारमा परिवर्तन ल्याउन मद्दत गर्दछ र आनन्दको साथै खुसिमय जीवनयापन गर्न सहज बनाउने गर्दछ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार हाल नेपालमा प्रतिदिन १९ जनाले आत्महत्या गरेका पाइएको छ, जसमा व्यक्तिले आशा बिहिन, सहायता बिहिन र मुल्यहिन महसुस गर्छ र चारैतिर अध्यारो देखेर आत्महत्या गरेको पाइएको हुदा समाधानको लागी मनोपरामर्श सहित चिकित्सकीय मनोउपचार उपयुक्त हुने देखिएको छ ।

विश्वका सबैजसो देशहरुमा धेरै मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिएका छन । विभिन्न देशहरुमा गरिएका अनुसन्धान अनुसार साधारण स्वास्थ्य केन्द्रमा आउने ३० प्रतिशत जति मानिसहरुमा मानसिक समस्याहरु देखिएका छन । मानसिक स्वास्थ्य समस्याका कारण उत्पादनशीलता ह्रास आउनुका साथै आर्थिक, सामाजिक, पारिवारिक, जिबिकोपार्जन लगायत विभिन्न पक्षमा असर गर्ने गर्दछ ।

विश्वको धेरैजसो मुलुकहरुमा केही न केही मानसिक स्वास्थ्यको औषधी तथा उपचार प्रणालीहरु उपलब्ध भए तापनि लान्छना, भेदभाव तथा जनचेतनाका अभावमा मानिसहरु बैज्ञानिक उपचार प्रणालीबाट बन्चित भएको हुदा, नेपाल सरकारले पनि मानसिक स्वास्थ्य तथा परामर्शलाइ प्राथमिकतामा राखी कार्यक्रम बनाउनु पर्ने र अन्य बिकसित मुलुकमा अपनाइएको पद्धति जस्तै समाजमा विभिन्न कारणले लुकेर रहेको मानसिक समस्या भएको मानिसहरु छिटो भन्दा छिटो पत्ता लगाई जति सक्दो चाडो उपचारको दायरामा ल्याउन मनोचिकित्सक, परामर्शदाता, सामाजिक कार्यकर्ता र पुर्व मानसिक अस्पतालका बिरामीहरु परिचालन गर्नु मनासिव हुने र राष्ट्रको समृद्ध नेपाल, खुसी (सुुखी) नेपालीको नारा पुरा हुन टेवा पुर्याउने देखिन्छ ।

लेखक खिमबहादुर पौडेल अधिकृत छैठौ तह स्वास्थ्य शाखा बुटबलउपमहानगर पालिकामा कार्यरत हुनुहुन्छ ।

 

 

सम्बन्धित शिर्षक :