रुपन्देहीमा दादुरा रुबेला खोप अभियान दुई चरणमा

३ लाख १४ हजार बालवालिकाले खोप लगाउने

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । यहि फागुन १३ गते बाट सुरु हुने अभियान अन्र्तगत पहिलो चरणमा रुपन्देहीका ९ वटा पालिकामा १३ फागुन देखि १७ गते सम्म सञ्चालन हुने छन् भने दोस्रो चरणमा फागुन २० देखि २४ गते सम्म ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो ।

स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन(जम्मा ९ पालिका) र दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाइ, मायादेवी(जम्मा ७ पालिका) मा खोप अभियान सञ्चालन हुने छ ।

बुटवलमा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रममा बोल्दै ओप अधिकृत शर्माले लक्षित रुपन्देहीमा जन्मिएको ९ महिना देखि १५ बर्ष सम्मका कुल ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकाहरुलाई खोप प्रदान गरिने जानकारी दिए ।

उनका अनुसार यसको लागि जिल्लामा ११ सय खोप केन्द्र निर्माण गरिने छ । जसमा कुल २ हजार २ जना जना खोप दिने स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वाथ्य स्वयंसेवक परिचालन हुने छन् । खोप अभियानमा एमआर भ्याक्सिन लगाइने छ । जसको लागि कुल ३४ हजार ८ सय ३६ भायल खोप र ३ लाख ९१ हजार ५ सय ४ सिरिजन्को प्रबन्ध गरिएको छ ।

स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीका अनुसार दादुरा रोग कोभिड–१९ भन्दा पनि तिब्र गतिले फैलन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।

दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।

यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँछन् । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

रुबेला रोगको असरहरू दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग हरू देखा पर्न सक्दछ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल प्रभास पन्थी, केदार शाह लगायतले वोल्दै अभियान सफल बनाउन सबैको सहयो जरुरी रहेको बताए।

सम्बन्धित शिर्षक :