स्वस्थ सुखी जीवनयापन हरेकको चाहना हुदाहुदै पनि मानिसको उक्त चाहना पुरा हुन सकिरहेको हुदैन । परिवर्तित समयसँगै मानिसका आवश्यकता पनि बढिरहेका हुदा मानिसको व्यस्तता पनि बढिरहेको नै छ। मानिसको दायित्व र जिम्मेवारी पनि थपिदै गएका छन जसलेगर्दा मानिसको जीवनशैली नै परिवर्तित हुदै गैरहेको छ ।
तरपनि समय व्यवस्थापन गरि आफ्नो शारिरीक स्वास्थ्य र शान्तीका लागि नसोच्ने हो भने उमेर नपुग्दै रोगी जीवन बाच्नुपर्ने अवस्था आउने निश्चित छ।तसर्थ योगको बारेमा आवश्यक ज्ञान र यसको महत्व आम जनले बुझि दैनिक जीवनमा अवलम्बन गर्न सकेमा स्वस्थ र शान्तीपूर्ण जीवनका लागि उपयोगी हुनेछ।
योग के हो ?
योग संस्कृतको युज धातुबाट बनेको शब्द जसको अर्थ जोडनु, एकजुट हुनु वा समाहित हुनु भन्ने हुन्छ । महर्षि पतन्जलीले चित्तको वृतिलाई निरोध गर्नुलाई योग भनि परीभाषित गरेका छन।अस्थिर मनलाई स्थिर बनाउनुलाई योग हो। मनमा उत्पनहुने अनेक प्रकारका राम्रा नराम्रा वृतिलाई सन्तुलित बनाउने क्षमता विकास योगबाट नै हुनजान्छ ।
धेरैलाई लाग्नसक्छ जोडेर पनि योग हुने भए त हामीले धनसम्पती जोडेका छौ, नाता सम्वन्ध पनि जोडिएकै छ तर यहाँ जोडने भनेको शरीरलाई मनसँग मनलाई आत्मासँग जोडनु वा एकाकार गर्नु हो।फेरिपनि लाग्न सक्छ मनपनि आफुभित्रै त हुन्छ नि ।हो मन त आफू भित्रै त हुन्छ तर सबैसमय आफु सँगै बसाउन कहाँ सकिन्छ र ? यो कति छिटो दौडन्छ व्यक्ती अफिसमा हुन्छ तर मन क्षणभरमै घरमा वा अन्यत्र कतै पुगि सक्छ त ! मनलाई आत्मासँग जोडनु र आफैले आफैलाई चिन्नु अर्थात आत्मा साक्षातकार हुनु योग हो ।
धेरैलाई फेरिपनि लाग्न सक्छ यसरी पनि स्वस्थ हुन सकिन्छ र ? सकिन्छ त्यसको लागि योगका बिभिन्न चरणहरु जान्नुपर्दछ । महर्षि पतन्जलीले योगका ८ चरणहरु प्रतिपादन गरेकाछन, मानिसको शारिरीक तथा सामाजिक स्वास्थ्य,बौद्धिकजागरण,मानसीक शान्ती एवं आत्मीक आनन्दको लागि महर्षि पतन्जलीले आफ्नो कृति योगसुत्रमा निम्न ८ चरणको वर्णन गरेका छन। जुन निम्न अनुसार छन।
- यम
इन्द्रिय एवं मनलाई हिंसादि असुभ भावबाट हटाएर आत्मकेन्द्रित गर्नुलाई यम भनिन्छ। यसअन्तर्गत अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु), ब्रम्हचर्य(कामवासनाको संयमता), अपरिग्रह (धनसम्पतीको बढि संग्रह नगर्नु) पर्दछन।
- नियम
यस अन्तर्गत शौच, सन्तौष, तप, स्वाध्याय, ईश्वर प्रणिधान पर्दछन । शुद्ध जलले शरीर, सत्य आचरणले मन, विद्या र तपद्धारा आत्मा शुद्धि गर्नु । आफुले गर्नेकामबाट सन्तोष लिनु, सत्य शास्त्रहरुको श्रद्धापुर्वक अध्ययन गर्नु, पवित्रवस्तु ईश्वरलाई अर्पण गर्नु ।
- आसन
कुनैपनि आसनमा स्थिरता र सुखपुर्वक बस्ने लामो अभ्यास गर्नु ।
जप र ध्यान आदि उपासनाका लागि आसनको अभ्यास अति आवश्यक छ।अझ महत्व त बिभिन्न रोगहरु जस्तो मधुमेह. उच्च कोलेष्टोल. बिभिन्न वाथरोग. मोटोपन आदिमा त निर्दिष्ठ आसनहरुले औषधी कै रुपमा काम गर्दछन।
आजकल समाजमा केही यस्ता भ्रमहरु फैलिदैछन कि मानिस मात्र योगका लागि केही आसनको अभ्यास गरेर आफूलाई योगी भन्छन । योगासन त योगको एक अंगमात्र हो ।योगी हुनको लागि यम, नियम सहित अष्टाङ्ग योगको पुर्ण पालना गर्दै श्रद्धापुर्वक समाधि सम्म पुग्नु हो । हठयोगमा ८४ प्रकारका आसनहरु बताइएको छ जसको सम्वन्ध शारिरीक र मानसीक आरोग्य सँग छ ।आसन सँगै आयुर्वेदमा वर्णित स्वस्थकर जीवनशैली अपनाउनुपनि उत्तिकै महत्वपुर्ण छ ।
- प्राणायाम
आसन सिद्ध भएपछि श्वासप्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्नुलाई प्राणायाम भनिन्छ।प्राणायामको अर्थ प्राण भन्नाले अक्सीजन र आयाम भन्नाले नियन्त्रितरुपमा विस्तार गर्नु भन्ने हो। यो विशुद्ध श्वासको गति मिलाउनु हो यसबाट मुख्यत तनाव कम गर्न र मनलाई स्थिर बनाउन सकिन्छ। यसबाट शरीरका सबै भागमा उर्जा संचित हुन्छ ।
५)प्रत्याहार
इन्द्रियहरुको आफ्नो बिषयबाट निकट नहुदा मनको वृति हुनजान्छ । साधकले आफ्नो विवेकले मनमाथि नियन्त्रण गर्न सफल हुन्छ ।यसरी बिषय विमुख भई मन र इन्द्रियलाई अन्तर्मुखी गर्नुलाईनै प्रत्याहार भनिन्छ ।महर्षि पतन्जली भन्नुहुन्छ तत: परमा वश्यतेन्द्रियाणाम साधक आवाज, स्पर्श,बाह्यय दृष्टि, स्वाद र वासनाको आशक्तिबाट टाढा हुन्छ । प्रत्याहारको अभ्यासबाट साधकको मन भौतिक संसारबाट माथी उठि आध्यात्मिक संसारको बाटोमा पुग्न उन्मुख अर्थात दुईलाई जोडने पुलमा पुगेको अवस्था हो ।
६)धारणा
भौतिक जगतबाट आध्यात्मिक जगतको समिपमा पुगेको मनलाई कुनै शरीरको एक भागमा निग्रह वा केन्द्रित गर्नुलाई धाररणा भनिन्छ । यस प्रकार मनलाई स्थुल बिषय देखि हटाएर शुक्ष्म आत्मा परमात्मामा केन्दित गर्नुलाई धारणा भनिन्छ । धारणा ध्यानको नींव हो ।
७)ध्यान
मनलाई स्थुल बिषयबाट निवृत गराई आध्यात्मिक संसारमा पुगिसकेको साधकले उदगीद प्राणायामको उपासनामात्र गरि श्वासप्रश्वासलाई दिर्घ र शुक्ष्म गतिले लिदै श्वासको गहिरो स्पर्श गर्नको अनुभव गर्न थाल्दछ ।ध्यान विद्यार्थी जीवनको पनि निकै महत्वपुर्ण पाटो हो । जो विद्यार्थी पढेको कुरा सम्झन तथा दिनभरी गरेका कार्यहरुको समिक्षा गर्न पनि शान्त र एकचित्त भई ध्यानको अभ्यास गर्ने गर्दछन तिनैको बुद्धि तेजिलो बन्दै जान्छ ।
८)समाधि
सम्यगाधीयत एकाग्री क्रियते विक्षेपान् परिहृत्य मनो यत्र स समाधि: मनलाई विक्षेपहरुबाट हटाएर यथार्तताले धारण गरिन्छ त्योनै समाधि हो । भोज महाराज
समाधि योगको पुर्णताको त्यो अवस्था हो जहां व्यक्तिले स्वयंलाई भुल्न थाल्दछ । समाधिमा पुगेको साधक शुन्य स्वरुपमा पुग्दै आनन्दको अनुभव महसुस गर्न थाल्दछ ।किनकि उसको आत्मा ईश्वरको आनन्दमय,शान्तिमय र ज्योतिर्मय स्वरुपमा पुगिसकेको हुन्छ । समाधिद्धारा ज्ञानको उच्चतम क्षितिजमा पुग्नेहुँदा मोक्ष अवश्यंभावी छ ।
योगका उपरोक्त ८ चरणहरु हामीले दैनिक जीवनमा व्यवहारीक प्रयोगमा ल्याउन बिहानी जागरण पछि कम्तीमा ४५ मिनेट:- जसमा १५ मिनेट आसन. १५ मिनेट विधीपुर्वक प्राणायाम र बाकी १५ मिनेट गहिरो ध्यान गर्नाले शारिरीक रुपमा स्वस्थ र मानसीक रुपमा तनाव रहित जीवन जीउन सहयोग पुग्छ ।
अन्तराष्टिय जगत(संयुक्त राष्टसंघको घोषणा)
सन २०१४ को २७ सेप्टेम्वरमा संयुक्त राष्ट्रसंघको साधारण सभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरि सभाबाट २१ जुनलाई अन्तराष्टिय योग दिवसको रुपमा विश्वभर हरेक बर्ष मनाउने गरि पुर्विय दर्शनमा आधारीत योगलाई अन्तराष्टिय मान्यता प्राप्त भयो । विश्वमा २१ जुन २०१५ देखि हरेक वर्ष मनाइदैं आइएको छ । २१ जुन सबभन्दा लामो दिन पनि हो । २०१६ जनवरी १५ अर्थात माघ १ मा प्रथम राष्ट्टिय योग दिवस मनाई हरेक बर्ष माघ १ मा राष्ट्रिय योग दिवस मनाइदै आइएको छ ।अहिले नवौ राष्टिय योग दिवस २०८० माघ १ गते देशभर मनाईदै छ ।
नेपालमा योग र नसर्ने रोगको अवस्था
विभिन्न अध्ययन अनुसन्धानहरुबाट प्राप्त रिपोटअनुसार पछिल्ला वर्षहरुमा नेपालमा करीब २ तिहाई मृत्यु नसर्ने रोगहरुबाट भईरहेको छ । दैनिक न्युनतम ४५ मिनेटको योगअभ्यास तथा स्वस्थजीवनशैली अपनाउन सकेमा नसर्ने रोगको ७० प्रतिशत बोझ कम गर्न सकिन्छ । शहरीया जीवनशैली र तयारी खानाको प्रचलनले मानिसमा नसर्ने रोगको प्रकोप बढदै गईरहेको छ ।
WHO को दक्षिणपुर्वी एशिया शाखाले सबै उमेर समुहका स्वस्थ व्यक्तीले योग गर्नुपर्ने तथ्य औंलाएको छ । स्वस्थ बालबालिकाले हप्तामा ४५ मिनेट र वयस्कले ९० मिनेट न्युनतम योग गर्नुपर्ने बताएता पनि रोगको अवस्थामा पुगेको वा सम्भावना भएकोलाई न्युनतम दैनिक ४५ मिनेट योग गर्दै आहार , विहार , विचार र व्यवहारमा समेत उचित ध्यान पुर्याउनु पर्दछ ।
पतन्जली योग समिति नेपालले हालै गरेको सर्वेक्षणअनुसार १७ लाख नेपालीले नियमित योगाभ्यास गर्दछन । जसमध्ये २ लाखले योग प्रक्षिक्षण केन्दमा गएर गर्दछन भने १५ लाखले घरमै बसेर नियमित योग गर्दछन । यसरीनै हरेक परीवारले योगलाई आफ्नो जिवनशैलीसँग जोडेर नियमीत योगअभ्यास गर्न सकेमा आकाशिदै गरेको नसर्ने रोगको जोखिम ७० प्रतिशतले कम गर्न सकिन्छ ।जसबाट जीवनभर औषधीसेवन र अस्पताल धाउने समस्या हटाई अरबौं रुपैया वचत हुन्छ ।
योगको बिषयमा गरिएका केही नविनतम अध्ययनहरु
अमेरीकाको इलिनोइस विश्वविद्यालयमा हठयोगमा गरिएको अनुसन्धानबाट योग गर्ने मानिसहरुको स्वास्थ्य र स्मरणशक्तिमा बढोत्तरी भएको पत्ता लाग्यो । योगले मस्तिष्कको क्षेत्र प्रि फण्टल कर्टेक्स तथा सिगुलेट कर्टेर्क्स समेत ठुलो हुनजान्छ जसबाट मस्तिष्कको कार्यक्षमता बढनजान्छ । National centre for Complementry and Integrative Health को तथ्यपत्रअनुसार तल्लो ढाडको दीर्घकालीन दुखाईको समस्या भएकाहरुमा सावधानिपुर्वक योगका केही आसन अपनाउदा दुखाइ कम भई लाभ मिलेको पुष्ट्टी भयो । योगबाट मुटुको गती र रक्तचाप नियन्त्रण भयो । मानिसमा हुने तनाव तथा उदासीपन समेत कम हुदै गयो
ध्रुवराज भण्डारी
वरिष्ठ कविराज अधिकृत सातौ
मायादेवी गाउँपालिका रुपन्देही
प्रतिकया दिनुहोस्