स्वास्थ्य बीमाका कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकियो

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो ।

मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ,’ भनिएको छ ।यो पत्र बाहिरिएसंगै स्वास्थ्यकर्मी तथा ट्रेड युनियनका प्रतिनिधिहरुले मन्त्रालयको पक्षपातपूर्ण नीति भएको टिप्पणी गरेका छन् ।

तर मन्त्रालयले भने निर्णयको बचाउ गर्दै अन्तरिम कालका लागि निर्णय गरिएको बताएको छ ।स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले वीमा बोर्डमा आफ्नै कर्मचारी नभएको र धेरै जसो काजमा गएका कर्मचारीले धानेको अवस्थामा तत्काल सबै फिर्ता गर्दा काममा असर गर्ने भएकोले अल्पकालका लागि निर्णय गरेको बताईन् ।

‘बोर्डका लागि अहिले केही अस्थायी दरबन्दीमा कर्मचारीहरु राख्ने प्रक्रिया भइरहेको छ । त्यस प्रक्रियाबाट कर्मचारी थपिने वित्तिकै काज फिर्ता पूर्ववत रुपमा कार्यान्वयनमा आउँछ’ उनले भनिन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमले काज फिर्ता सम्वन्धी पहिलेको निर्णय स्वास्थ्य मन्त्री र मन्त्रालयको पूर्वाग्राही तथा विना तयारी थियो भन्ने पुष्टि भएको बताउँछन् । उनले अहिले स्वास्थ्य बीमा बोर्डका लागि गरेको निर्णयले सोही कुराको पुष्टी गरेको दावी गरे । ‘सस्तो लोकप्रियताको नाममा तयारी विना नै यी काम भएका थिए ।

अहिले बीमा कामलाई असर पर्छ भनेर निर्णयबाट पछि हट्ने मन्त्रालयले स्थानीय तह तथा पालिकाहरुबाट धमाधम स्वास्थ्यकर्मी फिर्ता हुँदा त्यहाँको सेवा रोकियो कि रोकिएन भन्ने ध्यान दिएको छ रु कतिपय कर्मचारीहरु महिनौ सम्म अलपत्र परेका छन्, उनीहरुको विषयमा बोलेको छ रु त्यसैले यो निर्णय चर्चााका लागि विना तयारी गरिएको थियो भन्ने कुरा फेरी एक पटक पुष्टि भएको छ,’ उनले भने ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले मन्त्रालयको निर्णय पक्षपातपूर्ण रहेको भन्दै आपत्ति जनाए । ‘हामीले दोहोरो नीति मान्दैनौँ । मन्त्रालयको यो दोहोरो नीति हो । कहिले कडा रुपमा काज फिर्ता कार्यान्वयन भएको भन्ने कहिले काजफिर्ता स्थगित गर्ने । कोही काज फिर्ता भएर अलपत्र परेका छन् कोही आनन्दले बस्न पाउने । यो एकदमै गलत भयो,’उनले भने ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबै कर्मचारी फिर्ता गर्दा काम नै अवरुद्ध हुने भएपछि मन्त्रालयसंग सहयोग मागेको बताए । उनले बोर्डका ८७ जना स्वास्थ्यकर्मीहरु काजमा रहेको र कतिपय काज फिर्ताबाट पूर्ववत ठाउँमा गएको तर केही कर्मचारीहरु रहनै पर्ने भएपछि मन्त्रालयसंग आग्रह गरेको र सो आग्रहको पक्षमा स्वास्थ्यले निर्णय गरेको आफूले सुनेको बताए । पत्र पाइसकेको छैन् तर निर्णय भएको छ रे,’ उनले भने ।

सम्बन्धित शिर्षक :