डा. शकुन्तला गुप्ताको प्रयास वाट फेरिएको भिम अस्पतालको पहिचान

भैरहवामा पनि सरकारी अस्पताल छ र ? भन्ने जो कोही पनि अनविज्ञ थिए । बर्षौ पहिला स्थापना भएको भिम अस्पताल ईतिहास बोकेपनि मानिसको सेवामा पनि सहज रुपमा पुग्न सकेको थिएन । पुराना भौतिक पुर्वाधार, कर्मचारी अवाभ सेवा प्रवाहमा ढिला सुस्ती यी भिम अस्पतालका पुराना रोग जस्तै थिए ।

तर अहिले अस्पतालका यी सबै रोग निको मात्रै भएका छैनन, निर्भलीकरण नै भएका छन् , अर्थात उन्मुलननै भएका छन् ।भिम अस्पतालको नेतृत्वमा पुगेकी एक महिला चिकित्सकको कारण अहिले रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पताले आफ्नो पहिचान नै बदलेको छ ।

आइपर्ने जुनसुकै जिम्मेवारी सम्हाल्न पछि नपर्ने महिला डाक्टरमा पर्छिन् डा. शकुन्तला गुप्ता । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिन्टेन्डन (मेसु) डा. गुप्ता स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

झण्डै १० वर्ष बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा गरेकी डा. गुप्ताले साढे २ वर्षदेखि भीम अस्पतालमा मेसुको जिम्मेवारी सम्हाल्दै नियमित बिरामी पनि हेर्दै आएकी छन् । स्त्रीरोग विशेषज्ञमा अब्बल गुप्ता बिरामीबीच पनि उत्तिकै लोकप्रिय छन् ।

मेसुको नेतृत्व प्रायः पुरूषको भागमा पर्थ्यो तर उनको क्षमतालाई देखेर लुम्बिनी प्रदेश सरकारले उनलाई मेसुको जिम्मेवारी दिएको थियो । उनी लुम्बिनी प्रदेशको एक मात्र महिला मेडिकल सुपरिन्टेन्डन (मेसु) हुन्, जुन जिम्मेवारीलाई उनले कुशलतापूर्वक निर्वाह गरिरहेकी छन् ।

तत्कालिन सामाजीक बिकास मन्त्री शुदर्शन बराल ‘मन्त्रीज्यूले तपाईंको सरुवा भैरहवा भयो, मेसु बनाएर पठायौं भनेर फोन गर्दा हैन म जादिनँ भन्ने मनस्थिति पनि बनाएकी थिएँ,’ डा. गुप्ता त्यो बेलाको अवस्था सम्झिन्छिन्, ‘यति राम्रोसँग बुटवलमा काम गरिराखेकी छु । फेरि अर्को मनले सोचें, फिमेलले पाएको च्यालेन्जलाई फेस गर्नुपर्छ, डराएर हुँदैन ।

श्रीमान्ले पनि भैरहवा त हो टाढा होइन, जाऊ भन्नुभएपछि जाने निर्णय लिएकी हुँ ।’ त्यहाँ गएपछि अस्पताल अस्तव्यस्त जस्तै देखिन्थ्यो । ‘मैले अस्पतालको नेतृत्वमा सेवा शुरू गर्दा धेरै चुनौतीहरू पनि सामना गरें,’ डा. गुप्ता भन्छिन्, ‘कोरोनाकालमा बिरामीको सेवामा २४ घण्टै खट्ने देखि विभिन्न सेवाको अनुमति लिने र आवश्यक जनशक्ति तयार गर्ने सबै काम चुनौतीपूर्ण थिएँ,’ उनले भनिन् ।

मधेश प्रदेशको रौतहटको गौरमा जन्मिएकी गुप्ताको बाल्यकालीन अवधिमा महिलाले पढ्नुपर्दैन भन्ने समय थियो । त्यसमा पनि तराई/मधेशकी छोरी चिकित्सा विषय पढ्ने कुरा नौलो हुन्थ्यो । ‘मेरो बुवा रामानन्द गुप्ता खाद्य डाक्टर हुनुहुन्थ्यो,’ डा. गुप्ताले भनिन्, ‘सन्तानले पढ्नुपर्छ भनेर वातावरण मिलाइदिनुभयो । डाक्टरी पढ्न मलाई जन्मघर अनुकूल भयो, जसले गर्दा म अहिले यहाँसम्म आइपुगें ।’

डा. गुप्ता रौतहटमै हुर्किएकी हुन् । सामान्य परिवारमा जन्मिएकी शकुन्तला पढाइमा अब्बल थिइन् । त्यहीँको सामुदायिक स्कूलबाट विक्रम संवत् २०४८ सालमा तत्कालीन एसएलसी गरेपछि उनले आईएसी भारतबाट पूरा गरिन् । एमबीबीएस रसियाबाट पूरा गरेकी उनले एमडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गरिन् । त्यहीँ २ वर्ष सेवा गरेपछि उनी सरकारी सेवामा प्रवेश गरेर २०६८ सालमा बुटवल आएकी थिइन् ।

अस्पतालको व्यवस्थापनदेखि बिरामीको चेकजाँच गर्नु अहिले डा. गुप्ताको दिनचर्या हो । मेडिकलको क्षेत्रमा नयाँ कुरा सिक्न र नयाँ तरिकाबाट सेवा प्रदान गर्नमा उनको रुचि बढी छ । नेतृत्वमा आएपछि उनको ध्यान बिरामीको सेवाभन्दा पनि अस्पतालका सेवा सुधारमा बढी हुन्छ । उनी नेतृत्वमा आएसँगै भीम अस्पतालको सेवामा आमूल परिवर्तन आएको छ ।

‘मैले सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर अस्पतालको नेतृत्व लिएको साढे २ वर्ष भयो,’ मेसु गुप्ता भन्छिन्, ‘चुनौतीपूर्ण समयमा जिम्मेवारी पूरा गर्ने अठोट लिएर अघि बढेसँगै अस्पतालमा धेरै सुधार गरेजस्तो लागेको छ ।’ विक्रम संवत् १९९० सालमा भीम शमशेर राणाले ३ वटा शय्यासहित सञ्चालनमा ल्याएको अस्पतालको अवस्था दयनीय थियो । दक्ष चिकित्सकको अभाव, आवश्यक पूर्वाधार र उपचारका लागि उपकरण केही पनि थिएनन् ।

अस्पताललाई २०३५ सालमा १५ शय्या, विक्रम संवत् २०४१ सालमा २५, आर्थिक वर्ष २०७६/७७ मा ५० शय्यामा विस्तार गरिएको थियो । अस्पतालको आन्तरिक स्रोतबाट समेत व्यवस्थापन गरी अहिले अस्पतालमा १२० वटा शय्या कायम गरिएको डा. गुप्ता बताउँछिन् ।

जसमध्ये ७ वटा शय्या आईसीयू, २५ वटा एचडीयू, २५ वटा आकस्मिक कक्ष, प्रसूतितर्फ २७, पीआईसीयू ५, एनआईसीयूमा २, भेन्टिलेटर सहितका ५ वटा अक्सिजन पोस्टअप शय्या उपलब्ध छन् । सबै बेडमा अक्सिजन सेवा उपलब्ध छ । अस्पतालमा सिटीस्क्यानदेखि फार्मेसीका लागि समेत बिरामी निजी क्लिनिकदेखि अन्य ठाउँमा बिरामी भौंतारिनु नपर्ने उनले बनाएकी छिन ।

‘जिल्ला अस्पतालमा सिटी स्क्यान सेवा हाम्रो देशकै पहिलो हो,’ शकुन्तला भन्छिन्, ‘बहिरंग विभाग (ओपीडी) समेत राम्रो नभएको अस्पतालमा अहिले धेरै सेवा र आईसीयू समेत व्यवस्थित रूपमा चलाएका छौं ।’ अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताइन् । डा. गुप्ताले भनिन्, ‘विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै लैजाने तयारीमा छौं ।

विभिन्न समस्या र अभावले गुज्रिँदै आएको अस्पतालले अब मुहार फेरेको छ ।’ उनले काम अघि बढाउँदा अस्पताल विकास समितिको पनि पूर्ण साथ पाइन् । कोरोना महामारीको बेला उनले अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिन् ।

अब अस्पतालले अक्सिजन किन्नुपर्ने अवस्था आउने छैन, ओपीडीलाई व्यवस्थित बनाइन् । मोनोकेयर सहितको आकस्मिक कक्षको शुरूआत गराइन् । आँखाको ओपीडी, एएनटी, फिजियोथेरापी सेवा, व्यवस्थित ल्याब, आमा सुरक्षा कार्यक्रम लागू गरी २४ घण्टै सेवा, व्यवस्थित फार्मेसीको काम पनि उनैको पहलमा भए ।

‘धेरै कामहरू भएका छन्,’ गुप्ता भन्छिन्, ‘अस्पतालमा अर्थो र सर्जन विशेषज्ञ सेवा सञ्चालन गर्ने पहल गरिरहेकी छु ।’ अहिले स्वास्थ्य मन्त्रालयले अस्पताललाई ‘क’ वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राखेको छ ।

सोहीअनुसार ‘क’ वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्यांकनमामा दोस्रो नम्बरमा परेको छ । ‘भिजन लिएर काम गर्नेलाई सबैले हेल्प गर्ने रहेछन्,’ डा. गुप्ता भन्छिन्, ‘सबैको साथ र सहयोगबाट म ‘एभरीवान’ काममा खटेर अस्पतालमा सुधार आएको छ ।

अब अस्पताललाई सबै सेवामा नमूना बनाउने गरी काम गरिराखेकी छु ।’ उनका श्रीमान् पनि चिकित्सक नै हुन् । श्रीमान् राजेश गुप्ता बुटवलस्थित मेडिटेक अस्पतालमा कार्यरत छन् । महिलामा कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न आफैंभित्र आँट हुनुपर्ने डा. गुप्ता बताउँछिन् ।

‘आफूलाई कुनै पनि कुरामा पुरुषभन्दा कम ठान्नु हुँदैन,’ उनले भनिन् । अस्पतालमा बिरामीले सहज सेवा पाएपछि उनी बढी खुशी हुन्छिन् । प्रदेश सरकारलाई उनले जनशक्ति थपका लागि आग्रह गर्दै आएकी छन् । सही बाटो लिएर अघि बढे सफलता अवश्य पाइन्छ भन्ने भोगाइ मेरो काम गराइको अनुभवले दिएको डा गुप्ताको भनाइ छ ।

 

सम्बन्धित शिर्षक :