गुल्मी अस्पतालमा जनशक्ति अभाबले डेढ वर्षदेखि आइसियू अलपत्र

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा जनशक्ति नहुँदा डेढ वर्षदेखि दुईवटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू अलपत्र परेको छ । कोभिड– १९ को वेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भएको छ । तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आइसियू अलपत्र भएको हो । डेढ वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरणसमेत अलपत्र छ ।

यता रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गरेको छ । डायलाइसिस मेसिन खरिद गरेर गुल्मी अस्पतालबाट सेवा दिने नगर कार्यपालिकाको निर्णयले केही उत्साहित बनाएको छ । तर, उपकरण आफैँ सञ्चालन हुँदैन । जनशक्ति नहुँदा उक्त निर्णय कार्यान्वयन हुनेमा सेवाग्राही विश्वस्त हुन भने सकेका छैनन् । अहिले भएका जनशक्तिले अस्पताल आउने नियमित बिरामी हेरेरै सक्दैनन् ।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्रदेशदेखि केन्द्रसम्म लिखित तथा मौखिक जानकारी गराए पनि कार्यालय प्रमुख नपठाएको बताए । उनले गुल्मी अस्पतालमा ५७ जनाको स्थायी दरबन्दी भए पनि अहिले १७ जना छन् । अन्य फाजिलका जनशक्ति छन् । अस्पतालमा विशेषज्ञ डाक्टरको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर छैनन् । स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा र बालरोग विशेषज्ञ डाक्टर विपिन खनाल दुवैजना फाजिलमा कार्यरत छन् ।

त्यस्तै, छात्रवृत्ति करारका दुईजना विशेषज्ञ छन् । अस्पतालका चार स्थायी मेडिकल अधिकृत अध्ययन बिदामा छन् । अहिले मेडिकल अधिकृत पदमा छात्रवृत्ति करारका चारजनाले काम गरिरहेको अस्पतालको प्रशासन शाखा प्रमुख असीम चौधरीले जानकारी दिए ।

स्टाफ नर्सको आठ स्थायी दरबन्दी भए पनि दुईजना मात्र छन् । स्थायी एक नर्सिङ अधिकृत हुन् । अत्यधिक सेवाग्राही आउने, पुरानो साँघुरो संरचना र कम जनशक्तिबीच गुणस्तरीय सेवा दिन निकै मुस्किल छ ।

पछिल्लो समय बिमाले नागरिकको स्वास्थ्य उपचारमा निकै सहयोग छ । तर, भिड बढी हुँदा सेवा पाउन नागरिकलाई सास्ती भएको छ । दैनिक औसत साढे दुईदेखि तीन सय उपचारका लागि अस्पताल आउने गरेका छन् । बिमा कार्यक्रमले पनि बिरामीको चापमा व्यापक वृद्धि भएको अध्यक्ष पान्डेले बताए ।

 

सम्बन्धित शिर्षक :