एमआरआई र सिटीस्क्यान खरिदमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार

बयानका लागि २४ कर्मचारीलाई अख्तियारको पत्र

स्वास्थ्यसमाचार/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व रजिस्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरुलाई बयानका लागि पत्राचार गरेको छ ।

प्रतिष्ठानका सर्जरी विभागका एक जना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीको कार्यकालमा सिटी स्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखित रुपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । ती चिकित्सककाअनुसार प्रतिष्ठानका पूर्व रजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्व कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्व कामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकर लामिछाने, डिन डा सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ ।

उनीहरु सबैजसो मुल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपुर्ण पदमा रहेका थिए । त्यस्तै, अख्तियारले झंकरकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत विन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ ।

त्यस्तै सिटी स्क्यान र एमआरआईका ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए ।

डा. शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पुजा मण्डल, चार्टर एकाउन्टेड नितुन कुर्मीसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ । उनीहरुले अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा लिखित बयान दिएका छन् ।

अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एक जना पूर्व लेखा अधिकृतले तत्कालीन प्रतिष्ठानको नेतृत्वको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा गलत काम भएको बताउँदैं अस्ट्रेलिया रहेका चार्टर एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको बताए ।

 

सम्बन्धित शिर्षक :