रुकुम पूर्व: आगोको भरमा ‘बर्थिङ सेन्टर’

रुकुम पूर्व/ आगोको भरमा बर्थिङ सेन्टर सिस्ने स्वास्थ्य चौकी गाउँपालिकाको केन्द्र अर्थात जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट एक देखि दुई दिनको पैदल यात्रापछी पुगिन्छ । सदरमुकामकै पालिका भित्रको यो वडामा भौगोलिक कठिनाईको कारण सडक संजाल विस्तार हुन सकेको छैन् ।

सडक संजालदेखि, पूर्वाधार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा पछि परेको यस वडाका नागरिकहरुले संघियताको अनुभव राम्रोसँग गर्न पाएका छैनन् । यहि संघियताले गिज्याइरहेको एउटा उदाहरण हो, सिस्ने गाउँपालिका १ नम्बर वडामा रहेको सिस्ने स्वास्थ्यचौकी । सिस्ने हिमालको फेदैमा रहेको यस स्वास्थ्यचौकीमा चिसोको सिमा नै हुदैन् । अहिले जताततै गुणस्तरीय स्वास्थ्य सेवाको कुरा सुनिन्छ ।

यस स्वास्थ्यचौकीमा दाउराको उज्यालोमा सुत्केरी गराइन्छ । वर्थिङ्ग सेन्टरमा आउने हरेक गर्भवती महिलालाई दाउरा बालेर त्यसैको उज्यालो र त्यसैको न्यानोपनामा सुत्केरी गराइदै आइएको छ । सुत्केरी मात्र होइन विभिन्न समस्यामा परेर रातको समयमा आउने बिरामीको उपचार मोबाइल र दाउराको भरमा गर्ने गरेको स्वास्थ्यचौकीकी नर्सिङ्ग कर्मचारी राधिका केसीले बताउनुभयो ।

२०७७ साल मंसिर २३ गते उद्घाटन भएको यस वर्थिङ्ग सेन्टरमा २०७८ सालको तथ्याङ्क अनुसार मसान्तसम्ममा ३६ जनाको वर्थिङ्ग सेन्टरमा र २५ जना घरमै सुत्केरी भएका थिए । केसीका अनुसार २०७८ को श्रावण देखि २०७९ को असार मसान्तसम्म ५६ जना वर्थिङ्ग सेन्टरमा र १० जना घरमै सुत्केरी भएका र हाल २०७९ श्रावण देखि मंसिर तीन दर्जन गर्भवती महिलालाई बर्थिङ सेन्टरमा सुत्केरी गराइएको छ ।

“२ कोठे सानो कच्चि ढुङ्गा र माटोबाट बनेको भवनमा वर्थिङ्ग सेन्टर संञ्चालन गरिएको छ”, केसीले भन्नुभयो, “वर्थिङ्ग सेन्टरमा हुनु पर्ने न्युनतम आधारधुत आवश्यकता र पर्याप्त भौतिक संरचना नहुदा वर्थिङ्ग सेन्टर, वर्थिङ्ग सेन्टर जस्तो हुन सकेको छैन । दुई वटा कोठा रहेको वर्थिङ्ग सेन्टर भवनमा भित्र र वाहिर प्लास्टर समेत गरिएको छैन भने भुई पुरै धुलाम्य रहेको र माथी जस्ता मात्र रहेको हुदा चिसो ठाउँमा हिमपात भैरहने र जस्तावाट पानी चुहिने समस्या समेत रहेको छ ।

यहाँको अर्को मुख्य समस्या भनेको विद्युत हो । सिस्ने १ मा हालसम्म पनि विद्युत आपुर्ति हुन सकेको छैन । स्वास्थ्य चौकिमा सोलार जडान गरिएको र त्यहिबाट वर्थिङ्ग सेन्टरमा लाईन तानिएको भएता पनि दिनमा २÷३ घण्टा मात्र घाम लाग्ने गर्छ । ब्याट्रि ब्याकप कम भएको कारण राम्रोसंग चार्ज नहुने र रातको समयमा सधै अन्धकार हुने गर्दछ ।” रातको समयमा सुत्केरी गराउनु पर्दाको भरपर्दो माध्यम भनेकै दाउराको आगो भएको केसीको भनाई छ । सुत्केरी र वच्चालाई न्यानो राख्नको लागी वेडमुनि आगो वालिदिने गरेको उहाँले बताउनुभयो ।

साथै कोठा उज्यालो वनाउनको लागी समेत ठुला ठुला मुढाहरु वाल्ने गरेको उहाँ सुनाउनुहुन्छ । त्याहाँको भौगोलिक कठिनाई र यसबाट नागरिकले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यचौकीका कर्मचारी आफै गएर स्ट्रेचरमा बिरामीलाई बोकेर ल्याउने गरेको समेत पाइएको छ । यसकारण पनि त्यहाँका स्वास्थ्यकर्मीलाई भगवानको रुपमा लिने गरेको सिस्ने गाउँपालिका १ भट्टेचौरकी रामकली बुढाले बताउनुभयो ।

अर्की विष्णु बुढाले पनि त्यहाँका स्वास्थ्यचौकी इन्चार्ज काशिराम ओलीलगाएतले स्ट्रेचरमा बोकेर स्वास्थ्यचौकीमा पुर्याएको र आफुले त्यहि वर्थिङ सेन्टरमा छोरालाई जन्म दिएको कुरा सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “म सुत्केरी हुने बेलामा रातको समय वत्ति थिएन । कोठाको सवै उज्यालो अनि आमा वच्चालाई न्यानो राख्नको लागी आगोकै भर थियो ।” सुत्केरी कुरुवा र आफन्तलाई ओली र केसी आफैले आफ्नै खर्चमा खान र वास वस्ने व्यवस्था समेत मिलाई रहनु भएको छ ।

जसको कारण उहाँहरु दुई जनालाई स्थानियले भगवानकै रुपमा लिने गरेको पूर्व गाविस अध्यक्ष नन्द वहादुर बुढाले बताउनुभयो । अन्धकारमा यसरि आमा र वच्चाको ज्यानलाई जोखिममा राखेर सुत्केरी गराउदा सुरु सुरुमा आफुलाई निकै डर लागेता पनि आजभोलि अरु विकल्प नभएका कारण विस्तारै बानी पर्दै गएको राधिकाको भनाई छ ।

वर्थिङ्ग सेन्टरमा राधिका एक जना मात्र कर्मचारी हुनु हुन्छ । उहाँ बिरामी पर्दा र विदा लिदा स्वास्थ्यचौकी ईञ्चार्ज काशिराम आफैले सुत्केरी गराउने गरेको उहाँको भनाई छ । उदाहरणको लागि प्रतिनिधि पात्रको रुपमा लिएर यो स्वास्थ्यचौकीको बारेमा लेखिएपनि यस्तै समस्या भएको अन्य थुप्रै स्वास्थ्यचौकी रुकुम(पूर्व) मा छन् ।

जिल्लामा जती पनि वर्थिङ सेन्टर छन्, ती सबै वर्थिङ सेन्टर न्यूनतम आधारभूत मापदण्ड नपुगेका वर्थिङ सेन्टर रहेको रुकुम(पूर्व) अस्पतालका डाक्टर पूर्ण बहादुर पुनले बताउनुभयो । यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाई छ । जिल्लामा १ वटा १५ शैयाको जिल्ला अस्पताल रहेको छ भने १५ वटा स्वास्थ्य चौकि र १ वटा प्राथामिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवाका आधारधुत सेवाहरु संञ्चालन भैरहेका छन ।

सामान्य बिरामी पर्दा पनि दुर्गम ठाउँहरुबाट डोको तथा स्टेचरमा बिरामी बोकेर जिल्ला सदरमुकाम रुकुमकोट तथा अन्य सुविधा सम्पन्न जिल्लाहरु दाङ्ग, नेपालगञ्ज, वुटवल र काठमाण्डौ लगाएत अन्य जिल्लाहरुमा लानुपर्ने वाध्यता रुकुम(पूर्व) बासीहरुमा रहेको छ ।

सम्बन्धित शिर्षक :