२०८१/०८२ को बजेट सार्वजनिक हुँदै, स्वास्थ्यले ६० अर्ब हाराहारीमा बजेट पाउने

स्वास्थ्यसमाचार/सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० सार्वजनिक गर्दैछ। त्यसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ।

अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बार्षिक बजेट प्रस्तुत गर्ने तयारीमा छन् ।चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो।केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम अघि सारिएको छ।

गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।

स्वास्थ्यको बजेट कस्तो आउला ?

यसअघि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५२ अर्व ५२ करोड ८ लाखको सीमा भित्र रहेर कार्यक्रमहरु बनाउन सिलिङ तोकेको थियो ।

त्यसो त चालु आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४९ अर्व ८० करोड ५४ लाखको बजेट पाएको छ ।तर बजेट बनाउने क्रममा तोकिएको सिलिङमा केही हेरफेर हुने अनुमान गरिएको छ ।

स्वास्थ्यका अधिकारीहरुले बजेट सिलिङ खासै नबढेको कारण नयाँ कार्यक्रम नहालिएको बताएका छन् । ‘धेरै जसो बजेट कर्मचारीको तलव भत्तामै सकिन्छ । त्यसबाहेक नियमित कार्यक्रमहरु खोप, परिवार नियोजन सम्वन्धी, कडा रोगका उपचारहरुमा अनुदान सहयोग लगायतका कार्यक्रमले निरन्तरता पाउला,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘बनिरहेका आधारभूत अस्पताल, बनाईने भनेका सरुवा रोग अस्पताल तथा ट्रमा सेन्टर निर्माणका विषयहरु पनि निरन्ततामा पर्ने अनुमान गरिएको छ ।’

अस्पतालमा जनशक्ति थप्ने, मेसिन खरीद गर्ने, स्वास्थ्य वीमा कार्यक्रमलाई सबलीकरण गर्ने लगायतका कार्यक्रम पनि स्वास्थ्यले बजेटमा समेटन भन्दै पठाएको छ । यस्तै औषधि उत्पादकलाई खुशी गराउन स्वदेशी औषधि उद्योगलाई प्रर्वद्धन गर्ने कुरा पनि बजेटमा उल्लेख हुन सक्ने अनुमान गरिएको छ ।

‘नयाँ कार्यक्रम खासै छैन, पुरानाकै निरन्तरता हो । तर केही थपिएर आउन सक्छन्,’ मन्त्रालयका अर्का एक अधिकारीले भने ।

सम्बन्धित शिर्षक :