भेरी अस्पतालमा डायलाइसिस सेवा पाउनै मुस्किल, १५ महिनादेखि पालो पर्खदैं बिरामीहरू

कृष्ण अधिकारी
नेपालगन्ज/ नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरुले १५ महिनादेखि पालो पर्खदा पनि डायलाइसिस सेवा पाउन सकेका छैनन् । अहिले नेपालगन्जको भेरी अस्पतालमा बाँके, बर्दिया, सुर्खेत, दाङदेखि जुम्लासम्मका ८५ जना मिर्गौलाका बिरामीहरुले डायलाइसिस सेवाका लागि पालो पर्खिरहेका छन् ।

वि।सं। २०७८ भदौंपछि नयाँ बिरामीहरुले भेरी अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा ४ वटा मात्रै डायलिसिस मेसिन छन । नियमित सेवा लिने बिरामीहरुका लागि तीन वटा र आकस्मिक सेवा लिने बिरामीहरुका लागि एउटा मेसिनबाट सेवा दिने गरिएको छ । पछिल्लामा दिनहरुमा युवाहरुमा पनि मिर्गौला सम्बन्धी रोग देखिने क्रम बढ्दैं गएको छ ।

बिरामीको संख्या कम हुँदा चार महिनासम्म पर्खदा नियमित डायलाइसिसका लागि पालो आउँथ्यो । तर, अहिले भने १५ महिना पर्खदासमेत बिरामीले पालो नपाएको भेरी अस्पताल नेपालगन्जका डायलाइसिस युनिटका प्रमुख डा। पारस श्रेष्ठले बताए । डायलाइसिस सेवा बिरामीको अवस्थाअनुसार हरेक हप्तामा २ पटकसम्म दिनुपर्छ । मिर्गौला ट्रान्सप्लान्ट नगराउँदासम्म बिरामीले बाँचुन्जेल डायलाइसिस गर्नुपर्छ । एउटै बिरामीहरुलाई लामो समयसम्म डायलाइसिस सेवा दिनुपर्ने भएकाले नयाँ बिरामीलाई डायलाइसिस सेवा पाउन निक्कै हम्मे पर्ने गरेको छ ।

पछिल्ला दिनहरुमा भेरी अस्पतालमा ३६ जना बिरामीहरुले नियमित रुपमा डायलाइसिस सेवा लिदैं आएका छन् । डायलाइसिस सेवाका लागि लामो समय सम्म पालो पर्खदा—पर्खदैं बिरामीको मृत्यु हुने गरेको छ । सेवा लिइरहेका बिरामी मिर्गौला प्रत्यारोपणमा गएमा, अर्को अस्पतालमा रिफर भएर गएमा र बिरामीको मृत्यु भएमा मात्रै डायलाइसिस मेसिन खाली हुन्छ ।

सामान्यतयाः भेरी अस्पतालमा डायलाइसिस सेवा लिइ रहेका बिरामीको मृत्यु भएपछि मात्रै नयाँ बिरामीले पालो पाउने अवस्था रहेको अस्पताल स्रोत बताउँछ । डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बढ्दैं गएपछि भेरी अस्पतालमा थप ६ वटा डायलाइसिस मेसिन थप्न लागिएको छ । थप ६ वटा मेसिन जडानका भएपछि डायलाइसिस सेवाका लागि बिरामीले पालो कुर्नुपर्ने समय केही हदसम्म भएपनि कम हुनेछ ।

बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पतालमा डायलाइसिस सेवा छ । डायलाइसिसका लागि अस्पतालमा भर्ना भएका बिरामीले बिमामार्फत अन्य डायलाइसिसबाहेक उपचार सेवा र औषधीहरु निःशुल्क पाउँछन् । तर, मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा बिमा सुविधा बन्द हुँदा डायलाइसिस गराउने बिरामीले अन्य उपचार गराउँदा शुल्क तिर्नु पर्ने बाध्यता भएको कैलालीको टीकापुरका मिर्गौला रोगका बिरामीका श्रीमान बुधराम थारुले बताए ।

डाइबटिज र ब्लड प्रेसरका बिरामीहरुको समयमै राम्रोसँग उपचार नहुँदा मिर्गौला सम्बन्धी समस्या बढ्दै गएर डायलाइसिस गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । पछिल्ला वर्षहरुमा जीवनशैलीलगायतका यावत कारणले गराउनुपर्ने डायलाइसिस बिरामीको संख्या बढ्दै गएको छ ।

सम्बन्धित शिर्षक :