स्वास्थ्यसमाचार/ गुल्मीको सत्यवती गाउँपालिका– ५ हँसराका कमल बुढाथोकी १७ वर्षदेखि भारतमा रोजगारमा थिए । तर, छोरा रामु बुढाथोकीमा मानसिक समस्या देखिएपछि उनी गाउँ फर्के । बुटवलको आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पुर्याएर उपचार गरे । भारतमा राम्रै जागिर गर्ने भएकाले उनले सकेसम्म छोराको उपचार गराए । तर, रामुलाई बीसको उन्नाइस भएन । छोराकै उपचारका लागि भनेर उनले जागिर पनि छाडे । अहिले उनी गाउँमै बस्छन् ।
११ वर्षीय रामु कमल बुढाथोकीका जेठा छोरा हुन् । जन्मेदेखि नै उनी स्वस्थ थिएनन् । उमेर बढ्दै जाँदा रामुले अरू बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । अहिले उनलाई हात–खुट्टा बाँधेर राख्ने गरिएको छ । उनी जतिवेला पनि पछ्यौराको झोलुंगोमा हात–खुट्टा र कम्मर बाँधिएको अवस्थामा हुन्छन् । टाउकोमा चोट नभएको ठाउँ छैन । शरीरभरि नीलडाम छन् ।
परिवारको आँखा छल्न पाए भने टाउको भुइँमा ठोकेर रगताम्मे बनाउँछन् । चिथोर्ने र कोपरेर शरीरभरि घाउका टाटैटाटा छन् । सात–आठ वर्षदेखि उनले समस्या झेलिरहेका छन् । घरनजिक विद्यालय भए पनि उनले अहिलेसम्म टेकेका छैनन् । उनी हिँडडुल पनि गर्छन् । तर, पूरै होसमा छैनन् । अरूलाई खासै केही गर्दैनन् । तर, आफैँले आफैँलाई निकै चोट दिइरहेका छन् ।
रामु अचेल बाँधेरै बस्न मन पराउँछन् । आफैँले परिवारका सदस्यहरूलाई बाँध्न भन्छन् । बुबा कमलका अनुसार रामु वेलाबखत निकैबेर अत्तालिने गर्छन् । असन्तुलित भएका वेला सम्हाल्न नसक्दा मन गाँठो पारेर छोरालाई पिट्नुपर्ने बाध्यता रहेको बुढाथोकीले बताए । ‘कहिलेकाहीँ धेरै बेर उफ्रने, कराउने र टाउको ठोक्ने गर्छ । त्यसवेला मैलेबाहेक कसैले सम्हाल्न सक्दैनन् । लौरो देखाउने र कहिलेकाहीँ पिट्नु पनि पर्छ,’ उनले भने, ‘बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’ जमिनमा टाउको बढी ठोक्ने भएकाले झोलुंगो बनाएर माथि राखिएको बुढाथोकीले बताए । रामुको हेरचाहका लागि घरमा एकजना अनिवार्य बस्नुपर्ने बाध्यता बुढाथोकी परिवारलाई छ ।
कमल र उनकी श्रीमती देउकुमारी बुढाथोकी स्थानीय टेकराम ढकालको हँसरास्थित खोलाखेतको कच्ची घरमा बस्दै आएका छन् । चार वर्षदेखि कमलदम्पती ढकालको खेतबारीको काम गर्छन् । उनीहरूको हँसरा पम्फुका लेकमा बाँदर लाग्ने बारी छ । अप्ठ्यारो र काम गरेर खाने अरू माध्यम नभएकाले पेट पाल्नकै लागि बेँसी झरेको बुढाथोकीले बताए । ‘अर्कैको ओत र खनजोतबाट ज्यान पाल्ने मान्छेसँग छोरालाई ठूलो खर्च गर्ने अवस्था भएन । ११ वर्षीय बिरामी र पाँच वर्षको सानो छोरा छाडेर बुढाबुढी नै मेलापात जान पनि सकिँदैन,’ बुढाथोकीले भने ।
रामु बिरामी भएको एक दशक बित्यो । यसबीचमा दुई स्थानीय तह र एकपटक प्रदेश तथा संघको निर्वाचन भयो । कमलको घरमा दलका नेताहरू भोट माग्न जाँदा पिँढीमा विक्षिप्त बनेर पल्टिएको छोरा नदेख्ने सायद कोही भएन । तर, नेताहरूले उपचारको आश्वासन मात्रै दिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त आफूले कसैलाई केही नभनेको कमलले बताए ।
‘मेरो पीडा मनैमा छ । त्योभन्दा ठूलो पीडा छोरा आफैँले भोगिरह्यो,’ उनले भने, ‘कर्म नै त्यस्तै भएपछि अरूको के आस ।’ सत्यवती गाउँपालिकाका प्रमुख टीकाराम पाण्डेयले रामुको उपचारमा सहयोग पुगोस् भनेर पालिकाले स्वास्थ्य बिमा गरिदिने, काठमाडौंसम्मको गाडी भाडा दिने र उपचार खर्च पनि बिलको आधारमा बुझाउने गरेर योजना बनाइएको बताए ।नयाँपत्रिकाबाट
प्रतिकया दिनुहोस्