स्वास्थ्यसमाचार/जिल्लाको गैडहवा गाउँपालिका वडा नं ८ हसनापुरकी सुजिता मुसहरले १२ वर्षको उमेरमा महिनावारी (रजश्वला) भएपछि पहिलो पटक पुरानो सुती कपडाको टालो प्रयोग गरिन् ।
हसनापुर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी अहिले १४ वर्षकी भइन् । रजश्वला भएको पहिलो अनुभव सुनाउँदै उनी भन्छिन् —‘पहिलो पटक कपडामा रगत लाग्दा आत्तिए, त्यसपछि आमालाई सुनाए तर, आमाले सबै छोरीलाई हुने प्राकृतिक प्रक्रिया भनेर सुति कपडाको टालो राख्न सिकाउनुभयो ।’
करिब १ वर्षसम्म उनले पुरानो कपडा नै प्रयोग गरिन् । तर पछिल्लो समय मुसहर समुदायका किशोरीले सेनेटरी प्याडको बारेमा बुझेपछि नियमित प्याड प्रयोग गर्दैै आएका छन । सुजिताले भनिन्, ‘विद्यालयमा निःशुल्क प्याड उपलब्ध छ तर, प्रयोग गरेको छैन, अफिसमा प्याड माग्न जान लाज लाग्छ, त्यसैले घरबाट प्याड लिएर स्कुल जान्छु ।’
जिल्लाको कन्चन गाउँपालिकाको गजेडी माध्यमिक विद्यालयकी आस्मा मुसहर पनि विद्यालयमा सेनेटरी प्याड पाइन्छ भन्ने थाहा भएपनि झोलामै प्याड बोकेर स्कुल पुग्छिन् । कक्षा ९ मा अध्ययनरत आस्माले महिनावारी (रजश्वला) को समयमा निःशुल्क प्याड उपलब्ध हुँदा पनि अफिसमा गएर प्याड माग्न सक्दिनन् ।
उनी भन्छिन—‘कार्यालयमा जाँदा मेडम र सरसँगै हुनुहुन्छ, प्याड दिनुहोस् न मेडम भनेर माग्न लाज लाग्छ ।’ उनले विद्यालयमा सबै सरको अगाडि प्याड माग्नुको सट्टा आफै घरबाट ल्याउन सहज लाग्ने गरेको सुनाइन् । ‘विद्यालयले छुट्टै कोठामा प्याड राख्ने वा मेडेमसँग मात्र एक्लै माग्ने व्यवस्था मिलाइदिए बल्ल सहज रुपमा प्याड लिन सक्थ्यौ’ उनले भनिन ।
सुजिता र आस्माको जस्तै समस्या अस्मिता मुसहरको पनि छ । अस्मिताका अनुसार उनी एक दिन कक्षामा भएको बेला महिनावारी (रजश्वला) भयो । त्यो दिन उनलाई निकै गाह्रो महसुस भयो । विद्यालयले निःशुल्क प्याड दिन्छ भन्ने उनलाई पनि थाहा थियो, यद्यपि, प्याड माग्न जान उनी पनि लजाइन् । उनले भनिन्— ‘साथीहरुले मागेर ल्याइदिएपछि प्याड प्रयोग गरे, तर गुणस्तरीय नभएकाले समस्या देखियो ।’
हसनापुर मावि कक्षा ९ की छात्रा पार्वती मुसहरले विद्यालयले उपलब्ध गराउने प्याड प्रयोग गर्दै आएकी छन् । उनले स्कूल समयमै महिनावारी (रजश्वला ) हुदाँ विद्यालयले दिने प्याड राख्छिन् । महिनावारीमा उनलाई बढी रगत बग्छ । त्यसैले दिनमा करिब ५ वटा सम्म प्याड प्रयोग गर्नुपरेको अनुभव साटिन् । उनले विद्यालयमा पाइने प्याड गुणस्तरिय नभएकाले स्कुल ड्रेसमा रगत लाग्ने डरले पटक पटक शौचालय जान बाध्य भएको बताउछिन ।
किशोरी अधिकारी मन्च,रुपन्देही अध्यक्ष सुनिता हरिजनले मधेशी भेगका छात्राहरुले अझै पनि महिनावारी (रजश्वला) का बारेमा खुलेर कुरा गर्न नसक्ने बताउनुहुन्छ । उहाँका अनुसार अन्य किशोरी सरह सुविधा भएपनि लाजकै कारण यस समुदायका छात्राहरु विद्यालयमा प्याड माग्न सक्दैनन् । सेनेटरी प्याड वितरणमा कक्षाबाट छात्रा लिडर, महिला फोकल पर्सन वा आफै निकाल्न मिल्ने व्यवस्था गरेको खण्डमा केही हदसम्म प्याड प्रयोग गर्नेको सङ्ख्या बढ्न सक्ने उहाँको भनाई छ । मन्चले जिल्लाका पालिकाहरुसँग सहकार्य गर्दै महिनावारी सचेतनाका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
विद्यालयका लागि गैडहवा गाउँपालिकाले वार्षिक ११ कार्टुन मात्र प्याड उपलब्ध गराउँदै आएको हसनापुर माविका प्रधानाध्यापक रमेश कुमार नाउँले जानकारी दिनुभयो । उहाँले छात्राहरुको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा स्थानीय सरकारले विशेष परीक्षण गरेर मात्र सेनेटरी प्याड खरिद गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुले उपयोगमा ल्याइसकेका प्याड व्यवस्थापन वा विसर्जनका बारेमा तालिम समेत दिनुपर्ने आवश्यकता उहाँले औल्यानुभयो ।
गजेडी माविकी प्रधानाध्यापक रेश्मा भुसालले सेनेटरी प्याड उपलब्ध गराउन थालेपछि छात्राहरु महिनावारी (रजश्वला) हुँदा पनि नियमित विद्यालय आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो— ‘जसले गर्दा घर बस्ने, टिफिन समयमा घर जाने छात्राको सङ्ख्या घटेको छ ।’ पालिकाले यस आर्थिक वर्षमा ९ कार्टुन प्याड उपलब्ध गराएको र विद्यालयमा दैनिक करिब २० जनाले प्याड प्रयोग गर्दै आएका छन् ।
सामुदायिक विद्यालयको छात्राहरुका लागि सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को दफा ९ अनुसार नै प्याड खरिद गरिएको कन्चन गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालको भनाइ छ । उहाँले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि सेनेटरी प्याड वितरण र व्यवस्थापनका लागि संघीय ससर्त अनुदानबाट रु.२७ लाख ४ हजार बजेट विनियोजन भएको जानकारी दिनुभयो ।सेनेटरी प्याडलाई सहजता बनाउन पालिकाले १९ सामुदायिक विद्यालयहरुमा भेन्डिङ्ग मेसिन जडान गर्ने योजना बनाएको बताइएको छ ।
गैडहवा गाउँपालिकामा पनि सेनेटरी प्याडका लागि यस आर्थिक वर्षमा करिब रु.२४ लाख बराबरको संघीय बजेट विनीयोजन भएको शिक्षा शाखा प्रमुख माधव पौडेलले बताउनुभयो । यस पालिकाले सेनेटरी प्याडसँगै प्रयोग गरिसकेका प्याडलाई व्यवस्थापन गर्न ११ विद्यालयलाई डिस्पोजल मेशिन समेत प्रदान गरिसकेको जानकारी दिनुभयो । साथै अबको केही दिनमा दक्ष प्राविधिक मार्फत डिस्पोज गर्न समेत सिकाइने भएको छ ।
पर्रोहा स्वास्थ्य चौकी सैनामैनाकी सिनियर अ.न.मी मन्ती चौधरीले हाल सेनेटरी प्याड प्रयोग गर्ने महिलाहरुको संख्या बढ्दै गएको बताएकी छन् । उहाँले महिनावारीको समयमा गाउँका महिलाले पराम्परागत तारिकाले कपडाको टालो (सुतिको कपडा) प्रयोग गर्छन् भने केही महिलाले प्याडको प्रयोग गरेपनि सहरमा सबै महिलाको भरपर्दो साधन नै गुणस्तरीय प्याड रहेको उल्लेख गर्नुभयो ।
कम गुणस्तरको प्याड प्रयोग गर्नाले एलर्जी, संक्रमक रोग र पाठेघरको मुखको क्यान्सर हुनुका साथै किशोरीहरुलाई मानसिक तनाव सँगसँगै किटाणु संक्रमण हुन झन् सहज हुन्छ । साथै महिनावारीमा सफा सुतीको कपडा पनि प्रयोग गर्न सकिन्छ, कपडा राम्ररी धोएर घाममा सुकाए पछि पुनः प्रयोग गर्न मिल्छ भने सरसफाइमा समेत विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मी चौधरीको जोड छ ।
एजी हेल्थ इण्डिस्ट्रिज प्राली, तिलोत्तमा, रुपन्देहीले सेनेटरी प्याड कच्चा पर्दाथका कारण गुणस्तरिय नभएको हुन सक्ने अनुमान गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा सामुदायिक विद्यालयका छात्रा लाभान्वित हुने गरी निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको थियो । सुरुवातको समयमा पालिकाले वितरण गरेका प्याड सरकारले तोकेको मापदण्डअनुसारका नभएको गुणस्तरहीन, रगत थेग्न नसक्ने समस्या आएको भन्दै छात्राहरूले प्रयोग गर्न छाडेपछि शिक्षा मन्त्रालयमाथि नै प्रश्न उठेको थियो ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ मा सेनेटरी प्याड व्यवस्थापनका लागि १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारले विनियोजित बजेट सबै स्थानिय तहमा पठाउँछ भने पालिकाले विद्यालयलाई हस्तान्तरण गर्दछ । यसबाट करिब १० लाख छात्रा लाभान्वित हुनेछन् ।
प्रतिकया दिनुहोस्