बिमित दीर्घ रोगीलाई स्वास्थ्य बीमा बोर्डको सहुलियत : ‘सेन्टर’मा उपचार गर्न प्रत्येक पटक ‘रिफरल कार्ड’ नचाहिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा गराएका दीर्घ रोगीले एक पटक प्रेषण (रिफरल) भई उपचारका लागि गएको अस्पतालमा सोही समस्याको फलोअप तथा उपचारका लागि पुन: जानु परेमा पुन: प्रेषण पुर्जी (रिफरल कार्ड) आवश्यक नपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले गत ६ भदौमा व्यवस्थापकीय निर्णय गर्दै दीर्घ रोगहरुका लागि सुविधा मिलाएको हो ।यसअघि हरेक पटक उपचार सुविधा लिनका लागि दीर्घ रोगीहरुले प्रेषण केन्द्रबाट प्रेषण पुर्जी बनाउनुपर्ने अनिवार्य थियो ।

बोर्डले स्वास्थ्य बीमामा आवद्ध बिमित दीर्घरोगीहरुको उपचारका लागि पटक पटक प्रेषण पुर्जी बनाउने प्रावधानले सेवाग्राहीमा असुविधा भएको जनगुनासो आएको हुनाले पुरानो व्यवस्थालाई परिवर्तन गरिएको बताएको छ ।

कस्ता बिरामीलाई पटके रिफरल कार्ड चाहिदैन् ?

बोर्डले आठ प्रकारका दीर्घरोगीहरुले रिफरल सेन्टरमा उही समस्याको उपचार तथा फलोअपमा आउनु परेका पटक पटक रिफरल कार्ड (प्रेषण पूर्जी) आवश्यक नहुने बताएको छ । ती रोगहरु यसप्रकार छन् :

१. सबै प्रकारका क्यान्सर रोगीको उपचार ।

२. मिर्गौला प्रत्यारोपाण्का लागि प्रेषण भई प्रत्यारोपण गरेका बिरामीहरुको हकममा प्रत्यारोपण गरेको संस्थामा फलोअप गर्नु परेमा वा डायलासिस गर्ने बिरामीको हकमा समेत यो व्यवस्था लागु गर्ने ।

३. हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल इनिमिया, अल्जाइमर, पार्किन्सोनिजमका बिरामी
४. मुटु रोगको उपचार तथा फलो अपका लागि

५. स्वास्थ्य बीमा गराएका ७० बर्ष माथिका जेष्ठ नागरिक

६. स्वास्थ्य बीमा गराएका अति अपांग, एचआईभी, एमडीआर टीबी (बिरामी व्यक्ति मात्र)

७. गर्भवती तथा सुत्केरी (कप्लिकेटेड डेलिभरी सीएस) वा अन्य जटिल अवस्था मात्र) प्रेषण भई सुत्केरी भएका महिला तथा नवजात शिशुहरुको लागि सोही अस्पतालमा २८ दिनसम्म उपचार गर्नु परेमा ।

८. कडा किसिमको मानसिक रोगी (सिजोप्रेनिया र विपोलार डिसअर्डर)

बोर्डले प्रथम पटक प्रेषण भई आएका बिरामीको प्रेषण पुर्जी वा क्लेम नम्बर प्रत्येक पटक क्लेम गर्दा अनिवार्य समावेश गर्न पर्ने बताएको छ । उसले बिरामीहरुको प्रमाणिकरण गर्न आवश्यक पर्ने भएकोले ती पूर्जीहरु अनिवार्य चाहिने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक :