लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा बिहान ९ बजेदेखि नै बालबालिकाको चहलपहल सुरु हुन्छ। बच्चाको रोदन सुनिन्छ। कोही आमाको काखमा छटपटाइरहेका हुन्छन्, कोही बुवाको हात समातेर आफ्नो पालो कुरिरहेका। कोही बच्चालाई फकाउँदै हुन्छन्, कोही हातमा बोकेको Vaccine Card हेर्दै खोपको मात्रा मिलाउँदै।
त्यही भीडमा बच्चा समातेका एक अभिभावक भने अलि हतारमा देखिए। ‘मलाई हतार छ,’ उनले भने।‘के हतार छ ?’ भन्ने प्रश्नको जवाफमा उनले केही बताएनन्। उनको जवाफ थियो-‘हतार छ।’अस्पतालको मातृ तथा बाल स्वास्थ्य (MCH) सेवामा कार्यरत नर्सले उनलाई सम्झाइन्, ‘एकछिन पालो पर्खनुहोस् न ! बच्चाको भविष्यसँग जोडिएको खोप हो।’
त्यो आग्रह केवल पालो कुर्नका लागि थिएन। त्यसमा खोपको महत्व बुझाउने एउटा सन्देश पनि थियो।ती अभिभावकले अन्ततः बच्चालाई खोप लगाए। नर्सले केहीबेर बाहिर बस्न भनिन्। उनी बाहिर गएर बसे। केहीबेरपछि फेरि ‘हतार छ’ भन्दै उठे।
अस्पतालको क्यान्टिनमा गए, खाजा खाए। त्यहाँ पनि उनको हतार उस्तै थियो। अन्ततः अस्पतालको गेटबाट बाहिरिँदासम्म उनी हतारमै थिए।
तर बच्चाले भने आफ्नो पालो पर्खियो। खोप लगायो। केही क्षण रोयो र फेरि आमाबुवाको काखमा शान्त भयो।त्यो दृश्य सामान्यजस्तो लाग्न सक्छ। तर यही सामान्य दृश्यभित्र खोपको ठूलो अर्थ लुकेको छ।
बच्चालाई सुई लगाउँदा केही क्षण दुख्छ। बच्चा रुन्छ। अभिभावकको मन पनि अमिलो हुन्छ। तर त्यो केही क्षणको पीडाले बालबालिकालाई भविष्यमा हुन सक्ने गम्भीर रोगबाट जोगाउन सहयोग गर्छ।खोपका लागि पर्खिएको केही मिनेटभन्दा बच्चाको सुरक्षित भविष्य ठूलो हुन्छ।
जन्मेदेखि सुरु हुन्छ सुरक्षाको यात्रा
बालबालिकाको खोप यात्रा जन्मिएसँगै सुरु हुन्छ। नेपालमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हाल १३ प्रकारका एन्टिजेनविरुद्ध १० प्रकारका खोप निःशुल्क उपलब्ध छन्।
जन्मनेबित्तिकै दिइने बीसीजी (BCG) बाट खोपको यात्रा सुरु हुन्छ। त्यसपछि ६, १० र १४ हप्तामा उमेरअनुसार रोटाभाइरस, पोलियो, डीपीटी–हेप बी–हिबलगायतका खोपका मात्रा दिइन्छन्।
९ महिनामा दादुरा–रुबेला (MR) को पहिलो मात्रा र एफआईपीभी दिइन्छ। १२ महिनामा जापानिज इन्सेफलाइटिस (JE) विरुद्धको खोप दिइन्छ भने १५ महिनामा दादुरा–रुबेलाको दोस्रो मात्रा र टाइफाइड (TCV) खोप दिइन्छ।
यसरी जन्मदेखि १५ महिनासम्मको अवधि बालबालिकाको खोप यात्राका लागि महत्वपूर्ण हुन्छ। यही अवधिमा नियमित खोपका अधिकांश आधारभूत मात्रा पूरा हुन्छन्।
खोपले क्षयरोग, पोलियो, डिफ्थेरिया, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, रोटाभाइरस, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडलगायतका रोगबाट बालबालिकालाई जोगाउन सहयोग गर्छ।
अर्थात् खोपको उद्देश्य बच्चालाई आज सुई लगाउनु मात्र होइन, रोग लाग्नुअघि नै शरीरलाई त्यसविरुद्ध लड्न तयार पार्नु हो।यही प्रक्रियालाई Immunization भनिन्छ।
खोपको तालिका छुट्यो भने ?
बच्चाको खोप निर्धारित समयमा छुट्न सक्छ। बच्चा बिरामी भयो, अभिभावकलाई समय मिलेन, परिवार बाहिर गयो वा अन्य कारणले तोकिएको दिन स्वास्थ्य संस्थामा पुग्न नसकिएला।तर एउटा मात्रा छुट्यो भन्दैमा खोपको यात्रा समाप्त हुँदैन।
‘निर्धारित मिति छुटेपछि अब खोप लगाउन मिल्दैन भन्ने भ्रम धेरै अभिभावकमा हुन्छ,’ नर्स भन्छिन्, ‘त्यस्तो होइन। बच्चाको Vaccine Card लिएर स्वास्थ्य संस्थामा आउनुपर्छ। बाँकी खोपबारे Health Worker ले आवश्यक सल्लाह दिन्छन्।’
त्यसैले खोप कार्ड सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ। कार्डमा कुन खोप लगाइयो, कुन मात्रा बाँकी छ र अर्को पटक कहिले स्वास्थ्य संस्थामा पुग्ने भन्ने विवरण हुन्छ।निर्धारित मिति छुटेमा आत्तिनुभन्दा स्वास्थ्यकर्मीसँग सम्पर्क गरेर Follow-up गर्नु आवश्यक हुन्छ।
विदेशबाट फर्किएका बालबालिकामा अर्को चुनौती
विदेशमा बसेर नेपाल फर्किएका परिवारका बालबालिका पनि खोप केन्द्रमा पुग्ने गरेका छन्। तर विभिन्न देशमा खोप दिने उमेर र तालिका फरक हुन सक्छ।
त्यसैले अभिभावकको प्रश्न हुन्छ—‘विदेशमा लगाइसकेको खोप नेपालमा फेरि लगाउनुपर्छ कि पर्दैन ?’यसको उत्तर बच्चाको उमेर, यसअघि लगाइएका खोप र उपलब्ध अभिलेख हेरेर मात्र दिन सकिन्छ।
कतिपय बालबालिकासँग विदेशमा लगाएको खोपको विवरण हुन्छ। कतिपयसँग स्पष्ट अभिलेख हुँदैन। यस्तो अवस्थामा अनुमानका भरमा खोप दोहोर्याउने वा आवश्यक खोप छुटाउनेभन्दा पहिले उपलब्ध Vaccine Card वा स्वास्थ्य अभिलेख लिएर स्वास्थ्य संस्थामा पुग्नु उपयुक्त हुन्छ।
नेपालको Routine Immunization तालिका र बालबालिकाको विगतको खोप विवरण हेरेर स्वास्थ्यकर्मीले आवश्यक सुझाव दिन सक्छन्।
खोप बालबालिकामा मात्र सीमित छैन
खोप कार्यक्रम उमेर र आवश्यकताअनुसार विस्तार हुँदै गएको छ। नेपालले २०२५ देखि HPV (Human Papillomavirus) खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गरेको छ।
राष्ट्रिय अभियानपछि कक्षा ६ का छात्रा वा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई नियमित रूपमा HPV खोप दिने व्यवस्था गरिएको छ।
यसले खोपलाई बाल्यकालमा दिइने सुईका रूपमा मात्र नभई जीवनका विभिन्न चरणमा रोगबाट जोगाउने महत्वपूर्ण सार्वजनिक स्वास्थ्य उपायका रूपमा बुझ्नुपर्ने देखाउँछ।
खोप केन्द्रमा नर्सको भूमिका
खोप केन्द्रमा बच्चालाई सुई लगाउनु नर्सको कामको एउटा पाटो मात्र हो।खोपबाट छुटेका बालबालिकाको खोजी गर्नु, अभिभावकलाई सम्झाउनु, खोपसम्बन्धी भ्रम हटाउनु र आवश्यकता परे घरदैलोमै पुगेर सेवा दिनु स्वास्थ्यकर्मीको जिम्मेवारी हो।
कहिलेकाहीँ बाटो सहज हुँदैन। वर्षायाममा खोलानाला बढ्छन्। कतिपय बस्ती स्वास्थ्य संस्थाबाट टाढा हुन्छन्। तर खोपको पहुँचबाट कुनै बच्चा बाहिर नहोस् भनेर स्वास्थ्यकर्मीहरू त्यस्ता ठाउँसम्म पुग्छन्। उनीहरूका लागि एउटा बच्चा केवल तथ्यांक होइन।त्यो एउटा परिवारको आशा हो। एउटा घरको भविष्य हो।
खोपले बदलिदिएको संसार
आज बच्चालाई खोप लगाउनु सामान्य स्वास्थ्य सेवाजस्तो लाग्न सक्छ। तर केही शताब्दीअघिको संसार सम्झिने हो भने यसको महत्व अझ प्रस्ट हुन्छ।संक्रामक रोगका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाउने समयमा वैज्ञानिकहरूले रोगबाट जोगाउने उपाय खोज्दै गए।
त्यसै क्रममा खोपको विकास भयो र विस्तारै संसारभर खोप कार्यक्रम विस्तार हुँदै गयो।नेपालमा पनि समयअनुसार नयाँ खोपहरू राष्ट्रिय कार्यक्रममा थपिँदै गए। यसले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको छ।
२०२६ मा गरिएको नेपालको राष्ट्रिय खोप कार्यक्रमसम्बन्धी संयुक्त बाह्य समीक्षाले नेपालले पोलियोमुक्त अवस्था कायम राखेको, रुबेला उन्मूलन हासिल गरेको र नयाँ खोपहरू थप्दै गएको उल्लेख गरेको छ।
तर खोप उपलब्ध हुनु मात्र पर्याप्त छैन।खोप लगाउनुपर्ने उमेरका सबै बालबालिकासम्म सेवा पुग्नुपर्छ। अभिभावकले सही जानकारी पाउनुपर्छ। खोपबाट छुटेका बालबालिकाको खोजी हुनुपर्छ। अनि खोपबारे फैलिने भ्रम र गलत सूचनालाई समयमै चिर्नुपर्छ।
त्यो केही सेकेन्डको सुई
लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा फेरि बच्चा रोइरहेको छ।नर्सले सुई लगाइसकेकी छन्। आमाले बच्चालाई काखमा लिएर फकाउँदै छिन्। बुवाको हातमा भने त्यही Vaccine Card छ।
‘अब अर्को खोप कहिले हो ?’ उनी सोध्छन्।नर्स कार्डमा मिति देखाउँदै भन्छिन्, ‘यो मिति नबिर्सिनुहोला।’ केहीबेरअघि हतारमा देखिएका अभिभावकको त्यो प्रश्नमा अब हतार थिएन। बच्चाको अर्को खोपको मिति सम्झिने चिन्ता थियो।
बच्चा केही क्षण रुन्छ। त्यसपछि फेरि हाँस्छ, खेल्छ र आमाको काखबाट तल झर्छ।सुईको पीडा केही क्षणमै हराउँछ। तर त्यसले दिने सुरक्षा लामो समयसम्म रहन सक्छ।त्यसैले खोप केन्द्रमा पालो पर्खनु केवल केही समय कुर्नु होइन। त्यो आफ्नै बच्चाको स्वास्थ्यका लागि गरिएको सानो धैर्य हो।
खोपको नाम, मात्रा र मिति सम्झन गाह्रो हुन सक्छ। त्यसैले Vaccine Card सुरक्षित राखौँ। कुनै कारणले निर्धारित मिति छुटेमा स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। विदेशबाट आएको बच्चा भए पहिले लगाएका खोपको विवरण स्वास्थ्यकर्मीलाई देखाऔँ।
किनकि खोपको विषयमा सबैभन्दा महत्वपूर्ण कुरा हो-सही खोप, सही समयमा र सही मात्रामा।खोप केन्द्रमा केही मिनेट पर्खनुपर्ला। बच्चालाई फकाउन केही समय लाग्ला। सुई देखेर बच्चा फेरि रुन्ला।
तर त्यो केही मिनेटको प्रतीक्षाभन्दा बच्चाको भविष्य ठूलो छ।एकछिनको धैर्यले बालबालिकाको भोलि सुरक्षित बनाउन सक्छ। खोप केवल एउटा सुई होइन, स्वस्थ बाल्यकालको पहिलो सुरक्षा घेरा हो। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मातृ तथा बाल स्वास्थ्य (एमसीएच) शाखा।


प्रतिकया दिनुहोस्