बाढी प्रभावित गल्छीलाई ६ लाख ५० हजारको आयुर्वेदिक औषधि सहयोग

स्वास्थ्यसमाचार/ बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिकालाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको आयुर्वेदिक औषधि सहयोग गरिएको छ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ र नेपाल आयुर्वेद चिकित्सक संघको संयुक्त प्रयासमा उक्त औषधि सहयोग गरिएको हो।

भदौ १९ गते गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइ काजी तिवारी र आयुर्वेद चिकित्सा शाखा प्रमुख कविराज निरीक्षक नारायण पौडेललाई औषधि हस्तान्तरण गरिएको जनाइएको छ। औषधि बैरेनी आयुर्वेद औषधालय, गल्छी–६, बैरेनीमार्फत प्रभावित नागरिकलाई उपलब्ध गराइनेछ।

औषधि हस्तान्तरण कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रीय महासचिव लेखनाथ भुसाल र नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष बुद्धिमान शाक्यको उपस्थिति थियो।

बाढी प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आयुर्वेदिक औषधि उपलब्ध गराइएको नेपाल आयुर्वेद औषधि व्यवसायी संघले जनाएको छ।

सम्बन्धित शिर्षक :