स्वास्थ्यसमाचार/ रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले २४ लाख १७ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको हो।
गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै, जनप्रतिनिधितर्फबाट अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सभाका सदस्यबाट गरी २ लाख १८ हजार ९ सय रुपैयाँ संकलन भएको छ।
कर्मचारीतर्फ स्वास्थ्य सेवासहितका अधिकृत, सहायक र सहयोगी स्तरका कर्मचारीको तलबबाट ५ लाख २५ हजार रुपैयाँ सहयोग गरिएको छ। त्यसैगरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ८ लाख ७४ हजार रुपैयाँ संकलन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादवले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
गाउँपालिकाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा टेवा पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराएको हो।


प्रतिकया दिनुहोस्