आयुर्वेद उपचारप्रति बढ्दो आकर्षण, पूर्वाधार, जनशक्ति र बजेट अभाव

लुम्बिनी आयुर्वेद चिकित्सालयमा एक वर्षमा ७६ हजारभन्दा बढी नागरिकले लिए उपचार सेवा

स्वास्थ्यसमाचार/ रुपन्देहीमा आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्षमा बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयबाट मात्रै ७६ हजार ३ सय १२ जनाले विभिन्न सेवा लिएका छन्। तर, बढ्दो सेवाग्राहीको चापअनुसार पूर्वाधार, विशेषज्ञ जनशक्ति, औषधि र बजेटको पर्याप्त व्यवस्था हुन नसक्दा आयुर्वेद सेवा विस्तारमा चुनौती देखिएको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालयमा आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा कार्यशालामा सहभागीहरूले आयुर्वेद सेवा विस्तारका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल गरेका हुन्।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रवक्ता नेत्रलाल अर्यालले आयुर्वेद सेवामा देखिएका समस्या पहिचान गरी सेवा थप प्रभावकारी र जनमुखी बनाउन निर्देशनालय प्रतिबद्ध रहेको बताए। उनका अनुसार आयुर्वेद उपचारप्रति नागरिकको रुचि बढ्दै गएकाले सोहीअनुसार सेवा र पूर्वाधार विस्तारमा ध्यान दिन आवश्यक छ।

रुपन्देहीमा हाल एक आयुर्वेद अस्पताल, आठ आयुर्वेद शाखा तथा औषधालय र सात नागरिक आरोग्य सेवा केन्द्र गरी १६ वटा आयुर्वेद स्वास्थ्य संस्था सञ्चालनमा छन्। लुम्बिनी आयुर्वेद चिकित्सालयले गत आर्थिक वर्षमा बहिरंग सेवा, पञ्चकर्म तथा पूर्वपञ्चकर्म, प्रयोगशाला र ज्येष्ठ नागरिक सेवामार्फत ठूलो संख्यामा नागरिकलाई सेवा दिएको हो।

चिकित्सालयका अनुसार गत वर्ष बहिरंग सेवातर्फ ३१ हजार ८ सय ९४, पञ्चकर्म तथा पूर्वपञ्चकर्मतर्फ १२ हजार २ सय ८५, प्रयोगशालाबाट ८ हजार ९ सय ८७ र ज्येष्ठ नागरिक सेवाबाट ८ हजार २ सय ४४ जनाले सेवा लिएका छन्।

सेवा लिन आउनेमध्ये अम्लपित्तका बिरामी १३ दशमलव ३५ प्रतिशत, सन्धिवातका ७ दशमलव ६३ प्रतिशत, कम्मरसम्बन्धी समस्याका ५ दशमलव ७९ प्रतिशत र मधुमेहका ५ दशमलव ५६ प्रतिशत रहेको चिकित्सालयले जनाएको छ।चिकित्सालयले उत्तरबस्ति, लघु शंखप्रक्षालन, कुञ्जल क्रिया, नेति, धौति तथा रोगअनुसारका योग विधि जस्ता उपचार पद्धति पनि सञ्चालनमा ल्याएको छ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको स्वर्णबिन्दु प्राशन सेवाबाट गत वर्ष १२ हजार ९ सय ४५ बालबालिका लाभान्वित भएका छन्। तीमध्ये ७ हजार ३ सय २३ बालक र ५ हजार ६ सय २२ बालिका छन्। पुष्य नक्षत्रका निश्चित दिनमा मात्र सेवा दिइने भएकाले ती दिनमा सेवाग्राहीको भीड बढ्ने गरेको चिकित्सालयले जनाएको छ।

कार्यशालामा स्वर्णबिन्दु प्राशन सेवा स्थानीय तहका खोप केन्द्रसँग समन्वय गरी सबै स्थानीय तहमा विस्तार गर्नुपर्ने सुझावसमेत दिइएको छ।नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद शाखाहरूबाट बहिरंग सेवा, घरदैलो सेवा, ज्येष्ठ नागरिक सेवा, सुत्केरी तथा स्तनपान गराइरहेका आमालाई शतावरी चूर्ण वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षा र भान्साघर सुधारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

तर, अधिकांश आयुर्वेद औषधालयको आफ्नै जग्गा तथा भवन छैन। कतिपय पुराना तथा जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको कार्यशालामा सहभागीहरूले बताएका छन्। यसले पञ्चकर्म र योग सेवासमेत पूर्ण रूपमा विस्तार गर्न कठिनाइ भएको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालयको नयाँ भवन निर्माण सम्पन्न भए पनि हालसम्म औपचारिक रूपमा हस्तान्तरण हुन नसक्दा सेवा विस्तारमा समस्या भएको जनाइएको छ। १५ शय्याको विशिष्टीकृत सेवा सञ्चालन गर्ने योजना पनि विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको दरबन्दी अभावका कारण अघि बढ्न सकेको छैन।

आवश्यक आयुर्वेद औषधि तथा पञ्चकर्म सामग्रीको अभाव, स्थानीय तहबाट हुने बजेट विनियोजन न्यून हुनु र नागरिक आरोग्य सेवा केन्द्रमा घरदैलो तथा सचेतनामूलक कार्यक्रमका लागि छुट्टै बजेट नहुनु पनि प्रमुख समस्याका रूपमा औंल्याइएको छ। सेवा सञ्चालनमा करार तथा अस्थायी जनशक्तिमाथिको निर्भरता पनि कायमै रहेको सहभागीहरूले बताएका छन्।

कार्यशालाले तीन तहका सरकारबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ। नयाँ भवन तत्काल हस्तान्तरण गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्थायी प्राविधिक दरबन्दी सिर्जना गर्ने, औषधि खरिदका लागि पर्याप्त बजेट व्यवस्था गर्ने तथा आयुर्वेद र पञ्चकर्म सेवामा स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ।

कार्यशालामा चिकित्सालयका डा. योगेश ढकालले आर्थिक वर्ष २०८२/८३ को प्रगति तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रमको अध्यक्षता लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. कलावती विश्वकर्माले गरेकी थिइन्। चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष शालिक भुसाललगायतको सहभागिता थियो।

सम्बन्धित शिर्षक :