भोटेकोशी बाढीपीडितलाई सैनामैना नगरपालिकाको साढे ४० लाख सहयोग

स्वास्थ्यसमाचार/ भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सैनामैना नगरपालिकाले ४० लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। सहयोग रकममध्ये नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको तलब–सुविधाबाट जुटाइने नगरपालिकाले जनाएको छ।

निर्णयअनुसार जनप्रतिनिधिबाट १० दिन बराबरको सेवा सुविधा तथा माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकबाट १० दिन बराबरको तलब सहयोग गरिनेछ। अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका द्वितीय र तृतीय श्रेणीका शिक्षकबाट ७ दिन, सहायकस्तरका कर्मचारी तथा निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकबाट ५ दिन बराबरको तलब सहयोग गरिनेछ।

त्यस्तै, निजी स्रोतका शिक्षक, श्रेणीविहीन कर्मचारी, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताबाट दुई दिन बराबरको तलब सहयोग गरिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा विपद्बाट प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न नगरवासी, संघसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ।

नगरपालिकाले विपद्को अवस्थालाई ध्यानमा राख्दै भदौ महिनाभर नगर क्षेत्रमा सार्वजनिक मेला, महोत्सव, जात्रा तथा अन्य मनोरञ्जनात्मक र भड्किला कार्यक्रम नगर्नसमेत अनुरोध गरेको छ।

 

सम्बन्धित शिर्षक :