स्वास्थ्यसमाचार-रुपन्देहीको देवदह नगरपालिका-२ स्थित केरवानी स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८२-८३ मा १० हजार ८८९ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ।
स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्डमा ९८.५ प्रतिशत अंक हासिल गर्दै अधिकांश स्वास्थ्य कार्यक्रमको लक्ष्य शतप्रतिशतभन्दा बढी पूरा गरेको जनाएको पाईएको छ ।
स्वास्थ्य चौकीको आर्थिक वर्ष २०८२-८३ को वार्षिक समीक्षा कार्यक्रममा जनस्वास्थ्य निरीक्षक एवं स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तारसँगै संस्थागत सेवा प्रवाहमा सुधार भएको बताउनु भयो।

उहाले खोप कार्यक्रम अन्तर्गत बीसीजी खोपको प्रगति ८७.५ प्रतिशत रहेको छ भने अन्य सबै खोपमा शतप्रतिशत प्रगति हासिल भएको छ। स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट एक वर्षमा ४६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।
यस अवधिमा ११४ जना गर्भवती महिलाले विशेषज्ञ चिकित्सकबाट निःशुल्क भिडियो एक्सरे सेवा पाएका छन्। त्यस्तै, १२६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
स्वास्थ्य चौकीले विशेषज्ञ चिकित्सकसहित बृहत् नसर्ने रोग परीक्षण तथा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। आँखा शिविरमार्फत २२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले स्वास्थ्य चौकीले सीमित स्रोत–साधनका बाबजुद समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भयो।
“स्वास्थ्य चौकीले उपचारमा मात्र सीमित नभई खोप, सुरक्षित मातृत्व, नसर्ने रोगको पहिचान, मानसिक स्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको छ,” बन्जाडेले भन्नु भयोे, “सेवाको गुणस्तर थप सुधार गर्न नगरपालिकाले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिनेछ।”
समिक्षामा समितिका अध्यक्ष तथा देवदह नगरपालिका–२ का वडाध्यक्ष दलबहादुर राकसकोटीले स्वास्थ्य चौकीलाई समुदायको विश्वासिलो र प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनु भयो।
उहाले स्वास्थ्य चौकीले हासिल गरेको प्रगति स्वास्थ्यकर्मीको मेहनत, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा समुदायको सहकार्यको परिणाम भएको उल्लेख गर्नु भयोे। “स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो,” उहाले भन्नु भयोे, “वडावासीले सहज र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन वडा तथा स्वास्थ्य संस्था व्यवस्थापन समिति प्रतिबद्ध छ।”
कार्यक्रममा महिला वडा सदस्य एवं स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति उपाध्यक्ष बेलुमाया बमरेलले स्वागत मन्तव्य राख्दै स्वास्थ्य सेवाको पहुँच विस्तारमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो।
वार्षिक समीक्षाका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।

कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य अधिकृत (नर्सिङ) माया पुन, वडा सदस्य, टोल सुधार समितिका पदाधिकारी, देवदह नगरपालिका–२ अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको स्वास्थ्य संस्थाका प्रमुख रेग्मीले बताउनु भयो ।
कार्यक्रमको सञ्चालन सिनियर अनमी भगवती भण्डारीले गरेकी गर्नु भएको थियो ।



प्रतिकया दिनुहोस्