स्वास्थ्यसमाचार/स्थानीय सरकारको सफलताको मापन केबाट हुन्छ ? सडकको लम्बाइले, भवनको उचाइले, बजेट खर्चको प्रतिशतले वा नागरिकले प्रत्यक्ष पाएको सेवाले ?
नेपालमा अधिकांश स्थानीय तहको विकासको बहस अझै भौतिक पूर्वाधारमै केन्द्रित छ। तर पछिल्ला वर्षहरूमा केही स्थानीय तहले सेवा प्रवाहको गुणस्तरलाई प्राथमिकतामा राख्दै शासनको नयाँ अभ्यास सुरु गरेका छन्। त्यसमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अघि सारेको एउटा महत्त्वपूर्ण निर्णयले स्थानीय सरकारको भूमिकालाई नयाँ ढंगले परिभाषित गरेको छ।
नगरपालिकाले ‘सुलभ फार्मेसी सञ्चालन सम्बन्धी निर्देशिका, २०८२’ जारी गरी नागरिकलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गरेको छ। रुपन्देहीको तिलोत्तमा-५, मणिग्राम चोकदेखि करिब १०० मिटर उत्तरमा स्थापना गरिएको ‘तिलोत्तमा सुलभ फार्मेसी’ को नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरिसक्नुभएको छ।
यस कानुनी दस्तावेज र अभियानको मूल उद्देश्य स्वास्थ्य सेवा वितरणलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र लक्षित वर्गमैत्री बनाउनु रहेको छ।
घोषणाबाट होइन, प्रणालीबाट सेवा सुधार :नगरप्रमुख खाण
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। तिलोत्तमा नगरपालिकाले यही पक्षलाई केन्द्रमा राख्दै स्वास्थ्य क्षेत्रमा बलियो कानुनी संरचना निर्माण गरेको हो।
सुलभ फार्मेसी सञ्चालन सम्बन्धी निर्देशिकाले नगरपालिकाले आफ्नै व्यवस्थापनमा प्रतिस्पर्धाबाट छनोट गरिएको योग्य संस्थामार्फत फार्मेसी सञ्चालन गर्ने व्यवस्था गरेको छ। सार्वजनिक सूचनामार्फत खुला प्रतिस्पर्धा गराई यस फार्मेसीको व्यवस्थापन ५ वर्षका लागि ‘बुड्स मेडिको कन्सर्न’ सँग सम्झौता गरी सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा अगाडि बढाइएको हो।
नगरप्रमुख रामकृष्ण खाणका अनुसार नगरपालिकाले यो कार्यक्रम लोकप्रियताका लागि होइन, नागरिकको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्न सुरु गरेको हो। नगरप्रमुख खाण भन्नुहुन्छ, “सुलभ फार्मेसी हामीले पीपीपी मोडलमा सञ्चालन गरेका छौँ। यसको उद्देश्य तिलोत्तमावासीको स्वास्थ्य सेवामा सुधार ल्याउनु हो।
नागरिकले एमआरपी (MRP) मा पाइने औषधि २५.१० प्रतिशत छुटमा पाउने व्यवस्था गरेका छौँ। यही हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। तिलोत्तमावासी मात्र होइन, जोसुकैले पनि यहाँबाट औषधि खरिद गर्दा एमआरपीभन्दा २५.१० प्रतिशत छुट पाउनुहुन्छ। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि यो प्रत्यक्ष आर्थिक राहत हो।”
भौतिक विकाससँगै मानवीय विकास र नागरिकको जीवनस्तर सुधारमा स्थानीय सरकार लाग्नुपर्छ भन्ने मान्यताका साथ यो काम गरिएको र आगामी वर्षदेखि सहुलियत दरमा प्याथोलोजी (ल्याब) सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख खाणले थप जानकारी दिनुभयो। उपप्रमुख जगेश्वर देवी चौधरीले पनि नगरपालिकाको यो पहलले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सहजता ल्याउने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
डिजिटल अभिलेख र औषधिको उच्च गुणस्तर
नगरपालिकाले औषधिको सहुलियत मूल्यसँगै यसको गुणस्तरलाई पनि समान महत्व दिएको छ। निर्देशिका तथा कार्यविधिअनुसार फार्मेसीमा निम्न व्यवस्थाहरू अनिवार्य गरिएको छ:
गुणस्तरको ग्यारेन्टी: औषधि व्यवस्था विभागले तोकेको मापदण्ड र मान्यताप्राप्त औषधिहरू मात्र डाक्टरको प्रिस्क्रिप्सनका आधारमा बिक्री गर्न पाइनेछ।
जेनेरिक खरिद: सार्वजनिक खरिद प्रक्रिया पारदर्शी बनाउन सम्भव भएसम्म जेनेरिक (फार्माकोलोजिकल) नामका आधारमा औषधि खरिद गरिनेछ।
डिजिटल ट्र्याकिङ: प्रत्येक कारोबारको पारदर्शी विवरण राख्न औषधि व्यवस्था विभागबाट स्वीकृत सफ्टवेयरमा अनिवार्य रूपमा डिजिटल अभिलेख राखिने व्यवस्था गरिएको छ।
‘कानुन बनाएर दराजमा राखेनौँ’:प्रमुख प्रशासकीय अधिकृत भुसाल
कुनै पनि नीति सफल हुन त्यसको कार्यान्वयन निर्णायक हुन्छ। तिलोत्तमा नगरपालिकाले यो कार्यक्रम लागू गर्ने क्रममा विभिन्न चुनौती पनि सामना गरेको छ। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार सुरुदेखि नै नगरपालिकाको उद्देश्य कानुन बनाएर औपचारिकता पूरा गर्नु मात्र थिएन, बरु नीति, कार्यक्रम र बजेटमै समावेश गरेर यसलाई संस्थागत गर्नु थियो।
प्रशासकीय अधिकृत भुसाल भन्नुहुन्छ, “कानुन निर्माणकै चरणमा विभिन्न सरोकारवालाले आफूहरू मर्कामा पर्छौँ कि भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो। सुलभ फार्मेसी सञ्चालनपछि केही औषधि व्यवसायी र आपूर्तिकर्ताबाट प्रतिस्पर्धाबाट छनोट भएको संस्थालाई औषधि आपूर्तिमा कठिनाइ सिर्जना गर्ने प्रयास भएको अनुभव पनि हामीले गर्यौँ। तर हामी सम्बन्धित निकायसँग समन्वय गरेर समाधानतर्फ अघि बढिरहेका छौँ र नागरिकले यसको खुलेर प्रशंसा गर्नुभएको छ।”
भुसालका अनुसार स्थानीय सरकारको दायित्व केवल सेवा सञ्चालन गर्नु होइन, त्यसलाई संस्थागत बनाउनु पनि हो। यस निर्देशिकाले सुलभ फार्मेसी सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने, नियमित अनुगमन गर्ने, त्रैमासिक समीक्षा गर्ने र गुणस्तरको मूल्याङ्कन गर्ने स्पष्ट व्यवस्था गरेको छ।
वडा तहले देखेको परिवर्तन
कुनै पनि सार्वजनिक नीति सफल भयो कि भएन भन्ने अन्तिम परीक्षण वडा तहमा हुन्छ। नागरिकसँग दैनिक सम्पर्कमा रहने जनप्रतिनिधिले नै त्यसको वास्तविक प्रभाव देख्छन्।
औषधि सेवन गर्ने नागरिकलाई प्रत्यक्ष राहत :वडा अध्यक्ष पाठक
वडा नं. ६ का अध्यक्ष गणेश पाठकका अनुसार सुलभ फार्मेसीले विशेषगरी नियमित औषधि सेवन गर्ने नागरिकलाई प्रत्यक्ष राहत दिएको छ। वडा अध्यक्ष पाठक भन्नुहुन्छ, “आर्थिक रूपमा सम्पन्न नागरिक निजी अस्पताल र क्लिनिकमा जानुहुन्छ। तर विपन्न नागरिक सरकारी स्वास्थ्य संस्थामा आउनुहुन्छ। अहिले सुलभ फार्मेसीबाट एमआरपीमा २५.१० प्रतिशत छुटमा औषधि पाउने व्यवस्था भएपछि धेरै परिवारको नियमित स्वास्थ्य खर्च घटेको छ।”
त्यस्तै, कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूले पनि घरघरमै औषधि सेवा सहज बनाउने दिशामा यो पहल महत्त्वपूर्ण भएको उल्लेख गर्दै सेवाको प्रभावकारिताका लागि नियमित अनुगमन आवश्यक रहेको धारणा राखेका थिए। सो फार्मेसीका लागि नगरपालिकाले सटर भाडा मात्र व्यवस्थापन गर्नेछ भने औषधि खरिद बिक्रीको प्राविधिक व्यवस्थापन बुड्स मेडिकोले नै गर्नेछ।
सार्वजनिक प्रशासनमा एउटा नयाँ सन्देश
नेपालका अधिकांश स्थानीय तहमा सेवा सुधारको बहस अझै भौतिक पूर्वाधारको वरिपरि घुमिरहेको छ। तर विश्वभरको सार्वजनिक प्रशासनले सर्भिस डेलिभरी गभर्नेन्स अर्थात् सेवा-केन्द्रित सुशासनलाई प्राथमिकता दिन थालेको छ।
तिलोत्तमा नगरपालिकाको यो अभ्यासले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ- सुशासन ठूलो बजेटबाट मात्र सम्भव हुँदैन; स्पष्ट नीति, कानुनी आधार, पारदर्शी प्रक्रिया र प्रतिबद्ध कार्यान्वयनबाट पनि सम्भव हुन्छ।
एउटा दीर्घरोगीले औषधि किन्दा मासिक खर्च कति बचायो, त्यसले नै शासनको वास्तविक गुणस्तर निर्धारण गर्छ। स्वास्थ्यमा सुलभ फार्मेसी र एमआरपीमा २५.१० प्रतिशतको ठूलो छुटमार्फत तिलोत्तमा नगरपालिकाले यही उत्तर खोज्ने प्रयास गरेको छ।
यो अभ्यास प्रभावकारी रूपमा निरन्तर अघि बढ्न सक्यो भने तिलोत्तमाले केवल आफ्ना नागरिकको जीवन सहज बनाउने छैन, बरु स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको र उत्तरदायी अभिभावक हो भन्ने उदाहरणका रूपमा देशभरका स्थानीय तहलाई नयाँ मार्गदर्शन दिनेछ।


प्रतिकया दिनुहोस्