२९ हप्तामै चार शिशुको जन्म : प्युठान अस्पतालमा आमा बचिन्, नवजात चारै शिशुको मृत्यु

यो फोटो समाजीक संञ्जालबाट तानिएको हो ।

स्वास्थ्यसमाचार/ गुल्मीको मदाने गाउँपालिका–५ निवासी विष्णा विकले २९ हप्तामै चार शिशुलाई जन्म दिएकी छन्।

अत्यन्तै दुर्लभ मानिने यो घटनामा समयअघि जन्मिएका चारै नवजात शिशुको ज्यान जोगाउन नसकिए पनि आमाको भने सफल उपचार गरिएको छ।

सुत्केरी व्यथा लागेपछि विष्णा विकलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो। प्रारम्भिक परीक्षणका क्रममा स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउन सम्भव नभएपछि उनलाई तत्काल जिल्ला अस्पताल प्युठान रिफर गरिएको थियो।

अस्पताल पुग्ने क्रममा उनले पहिलो शिशुलाई स्वास्थ्य चौकीमै जन्म दिइन् भने दोस्रो शिशुको जन्म अस्पताल ल्याउने क्रममा बाटोमै भयो। त्यसपछि जिल्ला अस्पताल प्युठान पुगेपछि चिकित्सकले शल्यक्रिया (सिजेरियन) गरेर बाँकी दुई शिशुलाई निकालेका थिए।

जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शुभाष पौडेलका अनुसार विष्णाको गर्भावस्था केवल २९ हप्ताको मात्र थियो। जन्मिएका चारै शिशुको तौल करिब ८००–८०० ग्राम मात्र रहेको उनले बताए।

डा. पौडेलले भने, “समयअघि जन्मिएका र अत्यन्त कम तौल भएका कारण शिशुहरूलाई उच्चस्तरीय नवजात सघन उपचार (एनआईसीयू) आवश्यक थियो। हामीले थप उपचारका लागि रिफर गरेका थियौं, तर परिवारले बाहिर लैजान नसक्नुभएको कारण चारै शिशुलाई बचाउन सम्भव भएन। हामीले आमाको भने सफल उपचार गरी सुरक्षित राख्न सफल भयौं।”

उनका अनुसार जिल्ला अस्पताल प्युठानमा नवजात शिशुको सघन उपचारका लागि आवश्यक एनआईसीयू (NICU) वा पीआईसीयू (PICU) सेवा उपलब्ध छैन। यस्ता जटिल र समयअघि जन्मिएका शिशुको उपचारका लागि सुविधासम्पन्न अस्पताल आवश्यक पर्ने उनले बताए।

हाल विष्णा विकको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमै उपचारपछि स्वास्थ्य लाभ गरिरहेकी छन्।

चिकित्सकहरूका अनुसार एकैपटक चार शिशुको जन्म (Quadruplet Pregnancy) अत्यन्त दुर्लभ घटना हो। यस्तो अवस्थामा समयअघि प्रसूति हुने, कम तौलका शिशु जन्मिने तथा आमा र शिशु दुवैमा उच्च जोखिम रहने भएकाले विशेषज्ञ सेवा र सघन उपचार अनिवार्य हुने गर्दछ।

यो घटनाले दुर्गम जिल्लाका अस्पतालहरूमा नवजात सघन उपचार सेवा विस्तार तथा उच्च जोखिमयुक्त गर्भवतीको समयमै पहिचान र सुविधासम्पन्न अस्पतालमा व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।

सम्बन्धित शिर्षक :