स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रको विकास, सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरणका लागि ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य सेवा पहुँच विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य सुधार, जटिल रोगको उपचारमा सहुलियत तथा स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।
१० बुँदागत रूपमा स्वास्थ्य क्षेत्रका प्रमुख कार्यक्रम तथा बजेटः
-दुर्गम क्षेत्रमा मोबाइल मेडिकल भ्यानमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन।
-लुम्बिनी प्रादेशिक अस्पतालबाट टेलिमेडिसिन सेवा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था।
-मातृ मृत्युदर बढी भएका स्थानीय तहका गर्भवती महिलाका लागि निःशुल्क प्रयोगशाला परीक्षण गर्न ५ करोड ३० लाख रुपैयाँ विनियोजन।
-मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण तथा क्यान्सर उपचारमा प्रति व्यक्ति २ लाख रुपैयाँसम्मको सहुलियत तथा निःशुल्क रक्तसञ्चार सेवालाई निरन्तरता।
-राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गर्न ४ करोड रुपैयाँ विनियोजन।
-सबै अस्पतालमा Anti-rabies Vaccine तथा सर्पदंश उपचार केन्द्रमा Anti-snake Venom को नियमित आपूर्तिका लागि बजेट व्यवस्था।
-सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया रोगको उपचार, औषधि, उपकरण, स्क्रिनिङ, बीमा तथा सचेतना कार्यक्रमलाई निरन्तरता।
अस्पतालहरूमा डायलाइसिस, बाँझोपन व्यवस्थापन, नवजात शिशु सघन उपचार (NICU), जलन उपचार कक्ष र स्तनपान व्यवस्थापन इकाइ सञ्चालनका लागि बजेट व्यवस्था।
-गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालहरूमा आवश्यक मेडिकल औजार तथा उपकरण उपलब्ध गराइने।
-लुम्बिनी प्रादेशिक अस्पतालसहित प्रदेशका महत्त्वपूर्ण स्वास्थ्य संस्थाको भवन निर्माण तथा स्तरोन्नति गर्न २ अर्ब १२ करोड रुपैयाँ विनियोजन।



प्रतिकया दिनुहोस्