स्वास्थ्य जोखिम बढाउने मासु पसलमाथि सैनामैना नगरको कडाई

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका ले वडा नं. १ देखि ४ सम्म सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरेको छ। बनकट्टादेखि मुर्गियासम्म गरिएको अनुगमनका क्रममा केही मासु पसलहरू फोहर तथा स्वास्थ्य मापदण्डअनुसार सञ्चालन नभएको पाइएको भन्दै नगरपालिकाले सुधारका लागि निर्देशन दिएको छ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक विना राना को नेतृत्वमा गरिएको अनुगमनमा नगरपालिकाका कर्मचारी, उपभोक्ता हित संरक्षण मञ्च, व्यापार तथा उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका मासु पसलहरूलाई तत्काल दर्ता तथा नियमित नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। केही पसलले सरसफाइ तथा खाद्य स्वच्छताका मापदण्ड पालना गरेको देखिए पनि केही पसलमा सुधार आवश्यक रहेको अनुगमन टोलीले जनाएको छ।

यसअघि नगरपालिकाले वडा नं. ८ बाँसगढी क्षेत्रमा समेत बजार अनुगमन गरेको थियो। उक्त अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अखाद्य तथा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको थियो।

उपप्रमुख रानाले उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमन अभियानलाई पालिकाभर निरन्तर सञ्चालन गरिने बताउनुभयो। उहाँले खाद्य व्यवसायीहरूलाई स्वास्थ्य तथा सरसफाइका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह समेत गर्नुभयो।

सम्बन्धित शिर्षक :