स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्वास्थ्य मन्त्री खेम सारुलाई फिर्ता बोलाउँदै अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ।
दलको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा घिमिरेलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व सुम्पिएको हो। घिमिरे एमालेका तर्फबाट अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका खेम सारुले मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य सुधारका कार्यक्रम अघि बढाएका थिए। एमालेले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व पठाएको जनाएको छ।
नवनियुक्त स्वास्थ्य मन्त्री घिमिरेले भने २५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन । यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। एमालेबाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपाबाट नियुक्त मन्त्रीलाई समेत मन्त्रालयगत जिम्मेवारी तोकिएको प्रदेश सरकार स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा विकास र सेवा प्रवाहलाई तीव्रता दिने अपेक्षा गरिएको छ।


प्रतिकया दिनुहोस्