काठमान्डौ/ नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ ।
नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि (पीएचडी) उपाधि अनिवार्य गरिने व्यवस्था प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडीएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिइँदै आएको उल्लेख गरिएको छ ।
नेपालमा पीएचडी अध्ययन–अध्यापन गर्ने संस्था न्यून रहेको अवस्थामा विद्यावारिधिलाई मात्रै न्यूनतम शैक्षिक योग्यताका रूपमा तोकिँदा लामो समयदेखि उच्च शिक्षा हासिल गरेका वरिष्ठ प्राध्यापक अवसरबाट वञ्चित हुनसक्ने सङ्घको भनाइ छ ।
सङ्घका अनुसार मेडिकल तथा डेन्टल विषयमा एमडी, एमएस र एमडीएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकले डीएम, एमसीएच तथा पीएचडी तहसम्म अध्ययन, अध्यापन र सुपरिवेक्षण गर्दै आएका छन् ।
त्यसैले चिकित्सा क्षेत्रको हकमा एमडी, एमएस र एमडीएसलाई नै उच्च शैक्षिक योग्यताको मान्यता दिन आवश्यक रहेको सङ्घले जनाएको छ ।
सङ्घका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा क्षेत्रको विशिष्टतालाई ध्यानमा राखी आवश्यक निर्णय गर्न सरकारसँग यस्तो माग गरेको जानकारी दिनुभयो ।

प्रतिकया दिनुहोस्