बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने, उपमहानगर र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, तामनगरबीच ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। “प्रदेश जनस्वास्थ्य प्रयोगशाला निदानात्मक परीक्षण सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८०” अनुसार सेवा सञ्चालन हुने गरी दुवै पक्षबीच सहमति भएको हो।

सम्झौताअनुसार बुटवल उपमहानगरपालिकाले प्रत्येक वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नेछ। त्यसका लागि आवश्यक सामग्री पनि उपमहानगरपालिकाले नै उपलब्ध गराउनेछ। अर्कोतर्फ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दक्ष जनशक्ति खटाई नमूना संकलन, ढुवानी तथा परीक्षणको सम्पूर्ण जिम्मेवारी लिनेछ।

प्रयोगशालाले संकलित नमूनाहरू समयमै परीक्षण गरी नतिजा विद्युतीय प्रणालीमार्फत सम्बन्धित ज्येष्ठ नागरिकलाई उपलब्ध गराउनेछ। साथै परीक्षणको मुद्रित प्रतिवेदनसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सम्झौताअन्तर्गत ज्येष्ठ नागरिकका लागि रगतमा चिनी (अनियमित), पिसाब सामान्य परीक्षण, क्रियाटिनिन, पूर्ण रक्त गणना (CBC), युरिक एसिड, एसजिपिटी (SGPT) तथा कुल र प्रत्यक्ष बिलिरुबिन परीक्षण समावेश गरिएको छ। यसले ज्येष्ठ नागरिकमा देखिने सामान्यदेखि जटिल स्वास्थ्य समस्याको समयमै पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नमूना संकलनका क्रममा विवरण स्पष्ट र सही रूपमा उपलब्ध गराउनुपर्ने, अयोग्य नमूना भए पुनः संकलन गर्न सकिने तथा बिरामीको गोपनीयता पूर्ण रूपमा कायम राखिने व्यवस्था पनि सम्झौतामा उल्लेख छ। साथै सेवा अवरुद्ध भएमा प्रयोगशालाले तत्काल उपमहानगरपालिकालाई जानकारी गराउनुपर्नेछ।

सेवा लिनका लागि ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भएको प्रमाणित कागजात अनिवार्य गरिएको छ। नमूना संकलन वडास्तरमै पुगेर गरिने र मासिक रूपमा परीक्षणको आधारमा निर्धारित रकम राजस्व खातामा दाखिला गर्ने व्यवस्था गरिएको छ।

बुटवल उपमहानगरपालिकाका  जनस्वास्थ्य अधिकृत युवराज पाण्डेयले यस वर्षका लागि उक्त कार्यका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र सोही बजेटबाट कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

सम्झौतामा बुटवल उपमहानगरपालिकाका तर्फबाट जनस्वास्थ्य अधिकृत युवराज पाण्डेय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरका तर्फबाट नि. निर्देशक राजेशकुमार गुप्ताले हस्ताक्षर गरेका छन्। यो सेवा सम्झौता एक हप्ता भित्र लागु गरिने बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :