अस्पताल लाइन लगायत फुटपाथ खाली, बिरामीको आवतजावत सहज

एम्बुलेन्स रोक्ने फुटपाथ अतिक्रमण हटाइयो, अस्पताल लाइन–भुड्की चोकमा तत्काल सफाइ

स्वास्थ्यसमाचार/ सडक र बजार क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसायमा डोजर चलाएको छ।

उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै विगत तीन दिनसम्म माइकिङ गरेको थियो। तर, पटक पटक आग्रह गर्दा पनि सडकको फुटपाथमा सञ्चालन गरिएका पसल तथा व्यवसाय नहटाएपछि बुधबार अपराह्नदेखि डोजर चलाएर फुटपाथ खाली गरेको उपमहानगरपालिकाले जनाएको छ।

बुटवलको राजमार्ग चौराहादेखि गोल पार्कसम्म नै सडकको फुटपाथ कब्जा गरी पछिल्लो समय सयौँ व्यवसायीहरूले पसल थाप्दै आएका थिए। जसले गर्दा सडकमा यात्रा गर्ने यात्रुहरूले सास्ती पाएका थिए।

फुटपाथ र सडक किनार कब्जा गरी थापिएका पसलका कारण अस्पताल लाइन, भुड्की चोक, पुष्पलाल पार्क सबैभन्दा बढी अस्तव्यस्त बनेको थियो।

डोको र ठेलामा राखिएका तरकारी, फलफूल र कपडा पसलका कारण बिरामी लिएर आउने एम्बुलेन्सलाई समेत अस्पताल भित्र छिर्न अवरोध भएपछि सबैभन्दा पहिले अस्पताल लाइन र भुड्की चोकको सडक र फुटपाथ खाली गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यसअघि हरेक दिन बिहानैदेखि सडक किनारमा पसल थाप्ने फुटपाथ व्यापारीहरूले बुधवार पसल सञ्चालन नगरे पनि वर्षौँदेखि सडक किनारका घरमा पसल तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले भने अटेर गर्दै फुटपाथमा समेत पसल सञ्चालन गरेपछि डोजर लगाएर हटाइएको हो। भुड्की चोकमा वर्षौंदेखि सडक कब्जा गरी भुड्की पसल सञ्चालन गरिएका थिए भने अस्पताललाईनको आकाशे पुल अगाडि फुटपाथमै समेत कपडा पसल सञ्चालन गरिएको थियो।

नेपाल प्रहरी र नगर प्रहरीको साथमा डोजर लिएर गएको उपमहानगरपालिकाले त्यस्ता पसलहरू हटाएको हो। त्यस्तै लामो समयदेखि फुटपाथ समेत कब्जा गरी सञ्चालन गरिएका मोटरसाइकल शोरूम र रिकन्डीसन शोरूमबाट पनि मोटरसाइकलहरू हटाइदिएको छ।

उपमहानगरपालिकाले सडक किनार कब्जा गरेर राखिएका मोटरसाइकलहरू क्रेनले उठाएर त्यहाँबाट हटाएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यसअघि पटक पटक सडक किनार खाली गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर डोजर लगाउनुपरेको बताएका छन्।

सडक किनारमा जथाभाबी सञ्चालन गरिएका पसल व्यवसायका कारण सडक र बजार अस्तव्यस्त बनेपछि उपमहानगरपालिकाले वैशाख २ गतेदेखि फुटपाथ खाली गर्ने अभियानलाई औपचारिक रूपमा अघि बढाएको हो।

निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधवार बिहान जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले खाली गर्ने भनेपछि मुख्य बजारका सडक किनारमा व्यापार गर्ने फुटपाथ व्यापारीहरू भने आफै हटेका थिए।

यसअघि लुम्बिनी प्रादेशिक अस्पताल, भुड्की चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, बसपार्क लगायतका बजारका मुख्य क्षेत्रको सडक पेटीमा बिहानैदेखि सयौँको सङ्ख्यामा पसल थाप्ने व्यापारीहरूले बुधवार भने पसल राखेनन्।

मङ्गलवारसम्म उपमहानगरपालिकाको आग्रहलाई बेवास्ता गरे बुधवारदेखि डोजर लगेर पसल हटाउने चेतावनी दिएको थियो। नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो।

नगरप्रमुख पाण्डेले तरकारी र फलफूलको व्यापार गर्न चाहनेहरूलाई हाटबजारमा स्थान उपलब्ध गराइने तर, सडक किनारमा अतिक्रमण गरेर पसल सञ्चालन गर्नेहरूलाई भने कडा कारबाही गरिने बताए।

राजमार्ग चौराहादेखि गोल पार्कसम्म नै सडक किनार अतिक्रमण गरेर विभिन्न व्यवसाय सञ्चालन गरिएको भन्दै त्यस्ता व्यवसाय गर्नेलाई मात्र नभई घर भाडामा लगाउने घरधनीलाई पनि कारबाही गर्ने नगरप्रमुख पाण्डेले चेतावनी दिएका छन्।

न्यून आय भएका व्यक्तिहरूको नाममा सडक अतिक्रमण गर्ने क्रम बढेको भन्दै उनले उखु र विभिन्न फलफूलको जुस विक्री गर्नेहरूसँगै विद्युत् उपलब्ध गराउने घरधनीहरूलाई समेत कारबाही गरिने बताए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :